+
+

उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो, किसान असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १८:०९

४ माघ, काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय भएको जानकारी दिए ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो ।
अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलकाअनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । उनकाअनुसार ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।

किसान असन्तुष्ट

सरकारले तोकेको उखुको मूल्यमा किसानहरु भने असन्तुष्ट छन् । किसान प्रतिनिधिहरुले पछिल्लो केही वर्षमा बढेको चिनीको मूल्यका आधारमा उखुको मूल्य तोक्नु पर्ने माग गरिरहेका थिए ।

उखुको मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ तोक्न माग गरिए पनि कृषि मन्त्रालय ५३५ रुपैयाँबाट माथि नगए पछि थप वार्ता नै नगरिएको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

‘चिनीको मूल्यको आधारमा उखुको मूल्य तोक्न भनेका थियौं,’ मैनलीलले अनलाइनखबरसँग भने, ‘हाम्रो कुरा सुनुवाइ गरेजस्तो गरेर ५ रुपैयाँ थपिदिएछन् ।’ उद्योगपतिको कुरा सुनेर सरकारले निर्णय गरेको भन्दै उनले किसान सरकारकै कारण मारमा परेको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार आव २०७७/७८ मा नेपालमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?