+
+

मधेशका सबै निकायलाई ३ महिनाभित्र भ्रष्टाचार मुक्त बनाउँछु : मुख्यमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १८:५०

४ माघ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् ।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शून्यमा पुर्‍उने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो ।
उनले भ्रष्टाचार छानवीनका लागि आफूले ५ सदस्यीय छानवीन समिति गठन गरेको पनि स्मरण गराए ।

मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।

उनले भने, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अव मैले तीन महिना भित्र प्रदेश सरकारका जति कार्यालयहरु छन । त्यसमा भ्रष्टाचार शुन्य गरिदिन्छु । र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु । पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरुको छानवीन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानवीन समिति गठन गरिदिएको छु । सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु । आवश्यक पर्‍यो भने पुरक बजेट पनि ल्याउन सकिन्छ ।’

त्यस अवसरमा उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए । बधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित थिए । यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीले पनि पक्षमा मतदान गरेको छ ।

अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?