+
+

खर्च जुटाउन भन्दै ट्वीटरले बेच्दैछ कार्यालयका सामान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १६:१०

माइक्रो ब्लगिङ साइट ट्वीटर पछिल्लो समय थप चर्चाको विषय बनिरहेको छ । एलन मस्कले ट्वीटर खरिद गरेर नेतृत्व लिएसँगै उनले गर्ने विभिन्न कडा तथा अनौठा निर्णयले सबैलाई आश्चर्यमा पारिदिने गरेको छ ।

तर ट्वीटरको बारेमा पछिल्लोपटक जुन खबर सार्वजनिक भएको छ, त्यो अनौठो मात्र होइन अप्रत्यासित छ । यसले ट्वीटरको सुखद भविष्यको संकेत गरेको छैन । समाचारअनुसार ट्वीटरले आफ्नो खर्च चलाउन भन्दै कार्यालयमा प्रयोग भइरहेका विभिन्न सामान बिक्री गरिरहेको छ ।

कार्यालयमा महंगा मेसिनरी सामानदेखि फर्निचर लगायतका धेरै सामान ट्वीटरले सेलमा राखेको छ । त्यस्ता सामानको बिक्रीबाट प्राप्त रकमलाई उसले कम्पनीको आम्दानीको रुपमा राख्नेछ ।

जनवरी १७ र १८ मा क्यालिफोर्नियास्थित ट्वीटरको मुख्यालयमा भएको लिलामीका क्रममा कम्पनीले कार्यालयमा प्रयोग भएका ६०० भन्दा बढी पुराना सामान बेचेको छ । अनौठो त के भने ती सामान निकै महंगो मूल्यमा खरिद गरिएको थियो तर लिलामीका क्रममा भने ती सामानको मूल्य २५ देखि ५० डलरसम्म राखिएको थियो ।

यो निकै कम मूल्य हो र लिलामी राखिएका सामानको वास्तविक मूल्यको तुलनामा केही पनि होइन । त्यसैले सस्तो मूल्यमा आफ्ना महंगा सामान बेच्ने ट्वीटरको कदमप्रति मानिसले आश्चर्य प्रकट गरिरहेका छन् ।

समाचारअनुसार ट्वीटर मुख्यालयमा भएको लिलामीका क्रममा किचेनमा प्रयोग हुने मेसिनरीदेखि लिएर फर्निचर र कम्पनीको लोगो गरी ६३४ प्रकारका सामान बिक्रीमा राखिएको थियो । निकै सस्तो मूल्यमा गुणस्तरीय सामान पाएसँगै मानिसहरुले तत्कालै ती सामान खरीद गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?