+
+

चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी भ्रमणको योजना बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १३:१४

८ माघ, बुटवल । झण्डै डेढ अर्ब जनसंख्या भएको छिमेकी मित्र राष्ट्र चीनका बौद्धमार्गीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आकर्षित गर्न प्रभावकारी पहल गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् ।

चिनियां नयां वर्षको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा चीनमा झण्डै डेढ अर्ब जनसंख्यामध्ये ५५ करोड बढी बौद्धमार्गी रहेकाले उनीहरुलाई लुम्बिनीमा आकर्षित गर्नसके पर्यटनमार्फत नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने उनीहरुले औंल्याएका हुन् ।

लुम्बिनी वौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले चीनले आफ्नो नयां वर्ष साताव्यापी राष्ट्रिय विदा सहित दुई हप्तासम्म मनाउने भएकाले उक्त विदामा बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्न सरकार र निजी क्षेत्रले प्रभावकारी पहल गर्नुपर्ने बताए ।

चिनिया बौद्धमार्गीलाई लुम्बिनीमा बौद्ध दर्शन र बौद्ध शिक्षाको जानकारी एवं नेपाली संस्कृति आदान प्रदान मार्फत चिनियालाई लुम्बिनीमा आकर्षित गर्न सकिने प्रचूर सम्भावना भएपनि सरकार र पर्यटन व्यवसायीको प्रभावकारी पहल नपुगेको बज्राचार्यले औंल्याए ।

‘चीनमा ५५ देखि ६० करोड बौद्धमार्गीहरु रहेको अनुमान छ,ती मध्ये हरेक वर्ष २ प्रतिशत चिनियांलाई नयां वर्षको विदा मनाउन लुम्बिनीमा आकर्षित गर्न सकियो भने प्रदेशलाई मात्र हैन देशकै अर्थतन्त्रलाई नै लाभ हुन्छ’–उपकुलपति बज्राचार्यले भने–‘सरकार र पर्यटन व्यवसायीले चिनियां नयां वर्षलाई लक्षित गरेर लुम्बिनी टुर प्याकेज बनाई मार्केटिङ गर्न चुकेका छन् ।’

प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले विशेषगरी चिनिया नयां वर्षको लामो विदाको अवसरमा चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सरकारले पहल गर्नुपर्ने सुझाए । उनले केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग छिटो कार्यान्वयनमा ल्याउन पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने आग्रह गरे ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले राजनीतिक स्थायित्व, नेतृत्वको कुशलता र जनताको मिहिनेत एवं अनुशासनले चीनले आर्थिक समृद्धि र विकासमा छलाङ मार्दै विश्वकै पहिलो अर्थतन्त्र बन्ने होडमा रहेको भन्दै चीनको आर्थिक प्रगतिबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।

उनले चीनले अघि सारेको बीआरआई परियोजनामा नेपाल सहभागी भएर भौतिक पुर्वाधारको विकासमार्फत लाभ लिनुपर्ने सुझाए । अन्तरक्रियामा साहित्यकारहरु विजयसागर श्रेष्ठ,डिल्लीराज भट्टराई,लुम्बिनी प्रेस क्लबकी उपाध्यक्ष सम्झना शर्मा,समाजका वरिष्ठ उपाध्यक्ष गोबिन्दप्रसाद रेग्मी, महासचिव मनिष जोशी लगायतले चीनले उत्तरी नाकाहरु खेलिदिनुपर्ने,नेपालसंग जनस्तरमा सम्बन्ध अझ विस्तार गर्नुपर्ने खांचो औंल्याए ।

चिनियाँ नयाँ वर्ष जनवरी २१ देखि फेब्रुअरी २१ को बीचमा पर्दछ । चिनियांहरु नयां वर्षलाई स्प्रीङ फेस्टिवलका रुपमा मनाउँछन् । चिनियाँ नयाँ नेपालका गुरुङ, तामाङ, शेर्पा जातिको जस्तै १२ वटा जनावरसंग सम्बन्धित हुन्छ । यो वर्ष खरायो वर्ष परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?