+
+
विचार :

भारतले किन नेपाली बिजुलीको लागि बंगलादेशको बाटो खोल्दैछ ?

नेपालको जलविद्युतमा चिनियाँहरू हावी हुनुभन्दा आफ्नो नियन्त्रणमा रहने गरी बंगलादेशीहरू हावी होस् भन्ने चाहना भारतको हुनेछ ।

वागमान कुलुङ वागमान कुलुङ
२०७९ माघ ८ गते १५:४८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतले चाँडै नेपालको बिजुली बंगलादेशसम्म पुर्‍याउन आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ ।

भारतको बहरामपुरदेखि बंगलादेशको भेरामारासम्म यसभन्दा अगाडि निर्माण गरिएको एक मात्र भारत–बंगलादेश अन्तरदेशीय प्रसारण लाइनमार्फत अहिले भारतले ११६० मेगावाट बिजुली बंगलादेशमा बिक्री गरिरहेको छ । यो प्रसारण लाइनको क्षमता करिब १२०० मेगावाटसम्मको रहेकोले अब थप ५० मेगावाट नेपाली बिजुली उक्त प्रसारणलाइनमार्फत बंगलादेश पुग्नेछ ।

नेपालको बिजुली किन्न आनाकानी गर्दै आएको भारतले पूर्वाधारको अभावका बीच पनि बंगलादेशलाई एकाएक नेपालको बिजुलीको लागि सम्भव भएसम्मको सबै बाटो किन खोल्न लागेको होला ? सुरुमा भारतकै सहयोगमा बनेका त्रिशूली र देवीघाटको ३९ मेगावाट मात्र किन्ने निर्णय गरेको भारतले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला ‘ऊर्जा क्षेत्रमा नेपाल भारत सहकार्यको लागि संयुक्त भिजन पत्र’ मा हस्ताक्षर गरेपछि बल्ल थप ३६४ मेगावाट बिजुली किन्ने निर्णय गरेको थियो ।

यद्यपि भारतले ऊर्जा व्यापार सम्झौता नभएका दुई छिमेकी देशहरू चीन र पाकिस्तानको लगानीमा बनेका कुनै पनि आयोजनाको बिजुली नकिन्ने नीति लिएको छ । नेपालको लगानीमा बनेकै भए पनि चिनियाँ ठेकेदार संलग्न भएको भन्दै अपर तामाकोशीको बिजुली किन्न आनाकानी गरेबाट पनि भारत यो नीतिमा कति कट्टर छ भन्ने देखिन्छ ।

भारतले चिनियाँ लगानीको बिजुली नकिन्ने स्पष्ट भएपछि त्यसैलाई आधार बनाएर चिनियाँ कम्पनी थ्री गर्जेजले निर्माण गर्ने भनिएको पश्चिम सेती र सेती रिभर जलाशययुक्त १२०० मेगावाट लगायत आयोजना चिनियाँ कम्पनीबाट फिर्ता गरेर भारतीय कम्पनीलाई दिने निर्णय गरियो ।

हाल नेपालबाट चीनतर्फ जाने कुनै पनि विद्युत् प्रसारण लाइन बनिसकेको छैन । यद्यपि भारततर्फ भने धनुषा–मुजफ्फरपुर ४०० केभी बनेर पनि संचालनमा रहेको छ । त्यस्तै रूपन्देहीबाट भारतको उत्तरप्रदेशको सम्पत्तिया जोड्ने १३२ केभी र एमसीसी परियोजनाअन्तर्गत परासीबाट भारतको गोरखपुर जोड्ने ४०० केभी लगायत विद्युत् प्रसारण लाइन बन्ने क्रममा छन् ।

तर हालै नयाँ सरकार बनेसँगै केरुङ काठमाडौं रेलमार्ग लगायत आयोजना तत्कालै अगाडि बढाउन चाहना राखेका चिनियाँहरूले रसुवागढी केरुङ ४०० केभीको विद्युत् प्रसारण लाइनलाई पनि उत्तिकै प्राथमिकता दिएको देखिन्छ । भारतीय मिडियाहरूमा कम चर्चा भए पनि केरुङ–काठमाडौं रेलमार्ग र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा चलेकै बेला नुवाकोटको रातमाटेदेखि रसुवागढी हुँदै तिब्बत जोड्ने यो अन्तरदेशीय प्रसारण लाइन निर्माणको लागि पनि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको लागि राय–सुझाव माग्ने काम भएको छ । चीनतर्फको यो अन्तरदेशीय प्रसारण लाइनले करिब ५००० मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता राख्नेछ ।

चीनतर्फको यही रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण भएर नेपाल–चीन विद्युत् व्यापार अगाडि बढ्न सकेमा नेपालको बिजुली किन्नको लागि भारतको आनाकानी कम्ती हुँदै जाने वा बंगलादेशको बाटो पनि थप खुलाउँदै जाने अनुमान गर्न सकिन्छ ।

हाल एमसीसी परियोजना अन्तर्गत निर्माण गरिने ४०० केभीको प्रसारण लाइन काठमाडौंबाट नुवाकोट, धादिङ, मकवानपुर, तनहुँ, पाल्पा र परासी हुँदै भारतको गोरखपुर जोडिंदैछ । यो अन्तरदेशीय प्रसारण लाइन बनाउदै गर्दा नेपालको ३५०० मेगावाट बिजुली भारतमा बेच्नको लागि भनियो तर डबल सर्किटको यो प्रसारण लाइनमार्फत परासीको बिजुली पाल्पा, तनहुँ, धादिङ हुँदै नुवाकोटको रातमाटे पनि आउँछ ।

यही कुरालाई बुझेका चिनियाँहरूले त्यही एमसीसी परियोजनाको नुवाकोट रातमाटे सबस्टेसनबाट रसुवागढी हुँदै चीनको केरुङ जोड्ने अर्को शक्तिशाली अन्तरदेशीय प्रसारण लाइन बनाउन थालेपछि भारतीय पक्षलाई दबाव महसुस भएको अनुमान गर्न सकिन्छ । चीनतर्फको यही रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण भएर नेपाल चीन विद्युत् व्यापार अगाडि बढ्न सकेमा नेपालको बिजुली किन्नको लागि भारतको आनाकानी कम्ती हुँदै जाने वा बंगलादेशको बाटो पनि थप खुलाउँदै जाने अनुमान गर्न सकिन्छ ।

बंगलादेशले सन् २०४० सम्ममा नेपालको ९००० मेगावाट बिजुली किन्ने प्रतिबद्धता जनाइसकेको भए पनि भारतले प्रसारण लाइनको लागि आफ्नो भूमि दिने कि नदिने भन्ने शंका गरिंदै आइएको छ । यद्यपि नेपालको जलविद्युत्मा चिनियाँहरू हावी हुनुभन्दा आफ्नो नियन्त्रणमा रहने गरी बंगलादेशीहरू हावी होस् भन्ने चाहना भारतको हुनेछ ।

गत सेप्टेम्बर २०२२ मा बंगलादेशी प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दुई देशबीच बिहारको कटिहारबाट बंगलादेशको पार्वतीपुर हुँदै भारतकै आसामसम्मको ७६५ केभी अन्तरदेशीय प्रसारण लाइन बनाउने सहमति भइसकेको छ ।

भारतको हिमाञ्चलको बिजुली बिहार ल्याउन वा आवश्यक परेको खण्डमा बिहारको बिजुली हिमाञ्चलको आसाम क्षेत्रलाई दिने मिल्ने र त्यसको लागि बंगलादेशको भूमि प्रयोग गरेर जान सकिने भएकोले भारत यो शक्तिशाली अन्तरदेशीय प्रसारण लाइन बनाउन आतुर छ ।

भारतको आसाम क्षेत्रमा जोडिएको प्रसारण लाइनबाट भुटानको बिजुली र बिहार क्षेत्रबाट भारतको भूमि हुँदै नेपालको बिजुली बंगलादेश ल्याउन सकिने भएकोले बंगलादेश यो प्रसारण लाइन छिटो बनाउन चाहन्छ ।

सन्दर्भ पोखरा विमानस्थलको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा बनेको परियोजना हो । श्रीलंकाको हम्बनटोटा बन्दरगाहबाट गतिलै पाठ सिकेको भारतले यो परियोजना सफल भएर नेपालले समयमै चिनियाँ ऋण तिरेकैमा आफ्नो भलो देख्ने निश्चित छ ।

श्रीलंकाको दक्षिणी भेगमा अवस्थित हम्बनटोटा बन्दरगाह निर्माणको लागि श्रीलंकाले २००८ मा चीनबाट करिब १ अर्ब डलर बराबरको ऋण लिएको थियो । उक्त ऋण समयमा तिर्न नसकेपछि श्रीलंकाले आफ्नो बन्दरगाह नै ९९ वर्षको लागि भाडामा लिने गरी अर्को सम्झौता गर्न बाध्य भएको छ ।

हाल उक्त बन्दरगाहमा चिनियाँ क्याम्प बसेको छ । ऋण तिर्न नसकेर चिनियाँ कब्जामा रहेको उक्त बन्दरगाहमा गत अगष्ट २०२२ मा ‘युआन वाङ ५’ नामक एउटा चिनियाँ पानीजहाज आएको थियो । वैज्ञानिक अनुसन्धानको लागि आएको भनिएको उक्त पानीजहाजलाई अनुमति नदिनको लागि भारतले श्रीलंकालाई ठूलै दबाब दिए पनि श्रीलंकाले उक्त जहाज रोक्न सकेन ।

उक्त चिनियाँ पानीजहाज वास्तवमा उपग्रह र अन्तरदेशीय ब्यालिष्टिक मिसाइलको निरीक्षण गर्ने चिनियाँ जहाज रहेको थाहा पाएपछि भारत एकाएक सशंकित भनेको छ । अहिले भारतले हम्बनटोटा बाहिरबाट हेर्दा बन्दरगाह भए पनि भित्री रूपमा चीनको ‘ब्यालिष्टिक मिसाइल ट्रयाकिङ स्टेसन’ रहेको आरोप लगाउँदै आएको छ ।

हम्बनटोटाले नराम्रोसँग टाउको दुखाएको भारतले नेपालको कुनै पनि परियोजनाहरू चिनियाँ ऋणमा नबनोस् भन्ने चाहन्छ भने कुनै कारणले बनिहालेमा उक्त परियोजना सफल भएर नेपालले समयमै ऋण तिरोस् भन्ने चाहन्छ । चाहे त्यो पोखरा अन्तर्राष्ट्रिय हवाई मैदान होस् वा केरुङ काठमाडौं रेलमार्ग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?