+
+
नेपाल टी-२० लिग विवाद :

क्यान र सेभेन थ्रीबीचको सम्झौता त्रुटिपूर्ण : राखेप छानबिन समिति

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ माघ ८ गते १६:३९

८ माघ, काठमाडौं । नेपाल टी–२० लिगको व्यापारिक र रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) र विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता त्रुटिपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले निष्कर्ष निकालेको छ ।

९–२७ पुसमा आयोजित नेपाल टी–२० लिग अत्यधिक विवादमा तानिएपछि २० पुसमा राखेपले कार्यकारी समिति सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा बोर्ड सदस्य प्रकाश कुसारी, खेलकुद विकास विभागका अधिकृत सरोजकुमार पोखरेल, खेल विज्ञ सुवास बिसी र प्रशासकीय अधिकृत भोजानन्द राई थिए ।

समितिले १५ दिनको समय पाएको थियो । तर, बीचमा सार्वजनिक विदा परेका कारण निर्धारित समयमा प्रतिवेदन तयार नभएको एक सदस्यले जानकारी दिए ।

क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गत भएको नपाइएको समितिका एक सदस्यले बताए । तर, कुन प्रक्रियामा ऐनको उल्लंघन भएकोबारे उनले केहि खुलाएनन् ।

क्यानले सेभेन थ्री स्पोर्टससँग व्यापारिक र रणनीतिक साझेदार सम्झौता गरे पनि प्रतियोगिता सम्पूर्ण सञ्चालन अधिकारसमेत प्रदान गरेको थियो । प्रतियोगिताका दौरान खेलाडीले पारिश्रमिक नपाएको, फिक्सिङ र बेटिङबाट बदनाम भएको तथा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाएको लगायतका विवाद उत्कर्षमा पुगेको थियो ।

प्रतियोगिता जारी रहँदा पुस १८ गते क्यानको मुख्य साझेदार सेभेन थ्रीका मालिक भारतीय नागरिक जतिन अहुवालिया ‘भागेको’ दुई दिनपछि राखेपले छानबिन समिति गठन गरेको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताको मुख्य साझेदार जिम्मेवारीबिहीन भएपछि सेभेन थ्री सँगको सम्झौता रद्ध गर्ने प्रक्रिया सुरु गर्ने बताएका थिए ।

क्यानले गत फागुन १४ र १५ गते धनगढीमा भएको साधारणसभाबाट पारित गरी सेभेन थ्रीसँग व्यापारिक र रणनीतिक साझेदारी सम्झौता गरेको बताएको छ । ८ वर्षका लागि भएको सम्झौतामा क्यानले पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ पाउने उल्लेख छ । तर, प्रतियोगिता सकिएको दुई साता हुन लाग्दा क्यानले अहिलेसम्म २ करोड २० लाख रुपैयाँमात्र पाएको छ ।

म्याच फिक्सिङ/स्पट फिक्सिङ प्रकरणमाथि नेपाल पुलिसको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेका कारण राखेपको छानबिन समितिले त्यसमा खास प्राथमिकता दिएको छैन । त्यसबाहेक श्रम स्वीकृति, पारिश्रमिक र क्यानले प्रतियोगिताका लागि तेस्रो पक्षसँग गरेका सम्झौताबारे गहन अनुसन्धान गरिएको दाबी ती सदस्यले गरेका छन् ।

छानबिन समितिले १/२ दिनमै राखेप सदस्य सचिवलाई बुझाउने तयारी गरेको प्रतिवेदनमा नेपालमा व्यावसायिक टी–२० क्रिकेट आयोजनाको प्रयास सही भए पनि आयोजनाका क्रममा गरिएका अधिकांश निर्णय र प्रक्रियामा क्यानमाथि प्रश्न उठाइएको छ । ‘हामीले सबै सरोकारपक्षसँग कुराकानी गरेका छौं । ५० भन्दा बढी सुझावहरु एकत्रीत गरेका छौं । यसको कार्यान्वयनको काम राखेपको हो,’ ती सदस्यले अनलाइनखबरसँग भनेका छन् ।

समितिले प्रतियोगितासँग सरोकार राख्ने ८ जना खेलाडी, ४ जना विज्ञ र क्यानका ५ जनासँग बयान लिएको थियो । पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल, कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, प्रदीप ऐरीलगायतसँग समितिले बयान लिएको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द, निवर्तमान सचिव अशोक प्याकुरेल, कार्यवाहक सचिव प्रशातविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र पूर्व कप्तान एलबी क्षेत्रीसँग पनि बयान लिएको थियो ।

त्यस्तै पूर्व प्रशिक्षक जगत टमाटा, क्यानका क्रिकेट म्यानेजर विनोद दास, महाप्रबन्धक वृतान्त खनाललगायतसँग पनि समितिले बयान लिएको थियो ।

समितिले छानबिनका क्रममा सबै फ्रेञ्चाइज टिमले खेलाडीको पारिश्रमिक ६० प्रतिशतभन्दा बढी भुक्तानी गरिसकेको पाइएको जनाएको छ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?