+
+

काठमाडौंका वडाहरूबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १६:४३

८ माघ, काठमाडौ । माघ १० गतेदेखि काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने भएको छ । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो । राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक तीर्थराज भट्टराइले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पुर्‍याउने लक्ष्यसहित योजना तयार पारेको बताए ।

वडाबाटै परिचयपत्र विवरण सकलन गर्नको लागि महानगरले अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले वडाबाट परिचयपत्र वितरण गर्न महानगर तयार रहेको बताए । उनले अर्को सातामा सबै वडाबाट पुर्ण रूपमा परिचयपत्र दिनको सक्षम हुने बताए ।

राष्ट्रिय परिचपत्रमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ । जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिंग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना हुन्छन् ।

यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ, अनुहारको फोटोलगायत विवरण पर्छन् । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ ।

नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइसराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक पर्दैन ।

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाणपत्रको सक्कल प्रति आवश्यक पर्छ । यस अघि ललितपुर महानगरपालिकाको केही वडासहितकीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिकाको वडाबाट राष्ट्रिय परिचयपत्र विवरण सकलन हुन थालिसकेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?