+
+

साम्राज्ञी भन्छिन्- हिरो हिरोइन राखेर मात्र फिल्म हिट हुने होइन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १८:०८

काठमाडौं । ‘हिरो हिरोइन राखेर फिल्म हिट हुने होइन । फिल्म राम्रो बनाए मात्र दर्शक हेर्न जानुहुन्छ ।’

अभिनेत्री साम्राज्ञी शाहले आइतबार आयोजित फिल्म ‘ह्यारीकी प्यारी’को पत्रकार सम्मेलनमा बताएका अभिव्यक्ति हुन् यी । उनले घुमाउरो ढंगले फिल्म नचल्नुमा निर्माता र निर्देशक जिम्मेवार रहेको बताउन खोजेकी हुन् । लाखौं पारिश्रमिक लिएर पनि फिल्म हिट गराउन नसकेको भन्ने आलोचनाको पृष्ठभूमिमा उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

महंगी अभिनेत्री समेत रहेकी साम्राज्ञीले फिल्म नचल्नुमा कलाकारको भूमिका नभएको प्रष्टीकरण दिइन् । ‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञीको जोडीलाई लिएर सामाजिक सञ्जालमा चलेको चर्चाबारे उनको यस्तो टिप्पणी आएको हो । कलाकारलाई हेर्न भन्दा फिल्म राम्रो भए मात्र दर्शक हलमा पुग्ने उनको भनाइ छ ।

आफूले पहिलोपटक कमेडी फिल्म गरेको र मनपर्ने जनरा समेत कमेडी भएको साम्राज्ञीले बताइन् । पहिलोपटक गाउँले परिवेश र कथावस्तुमा बनेको फिल्ममा समेत साम्राज्ञीको यो पहिलो फिल्म हुनेछ । ‘म बच्चैदेखि रोमकम र कमेडी हेरेर हुर्किएकी हुँ । मेरो मनपर्ने जनरा पनि कमेडी हो,’ उनले भनिन्, ‘अबको मेरो फिल्मको प्राथमिकता र छनोट पनि कमेडी र यस्तै कथावस्तु हुनेछ ।’

फिल्म छायांकनको बेलाको अनुभव बाँड्दै उनले ह्यारीकी प्यारीमा काम गर्दा चुनौतीपूर्ण भएको समेत बताइन् । ‘जब म उहाँहरु (अन्य कलाकार)लाई भेट्छु नि बडी ल्यांग्वेज र बानी बिस्तारै चेन्ज हुन्छ । गाउँमा सुट हुँदा कठिन भएको थियो । गाउँका कतिपय शब्द बोल्न आउने थिएन । यो फिल्म कुनै एउटा उमेरलाई लक्षित गरेका छैनौं । जनतालाई नै टार्गेट गरेका छौं । नेपालीपन त भइहाल्यो । स्टोरीमा कति कुरा मन छुने छन् ।’

उनले अब आफू संख्याभन्दा गुणमा आधारित फिल्ममा काम गर्ने बताइन् । ‘अब क्वान्टिटीभन्दा क्वालिटी फिल्ममा काम गर्छु र त्यस्तै फिल्म मेरो रोजाइमा पर्छन् । फिल्मको प्रस्ताव धेरै आए पनि छनोट गरेर मात्र निधो गर्छु,’ साम्राज्ञीले भनिन् ।

डा. कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?