+
+

जब अख्तियारका कर्मचारीकै अगाडि विमानस्थलबाट डेढ लाख गायब भयो…

विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाल घुस लिएको आरोपमा पक्राउ परेका छन् । तर, अख्तियारले पहिल्यै नोट गरेको नम्बरसहितको घुस रकम उनको कार्यकक्षबाटै गायब छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते ९:१७
पूर्णप्रसाद चुडाल

१० माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केही दिन अघि सूचना पुगेको थियो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा घुस लिएर प्रवेश पास बनाइने गरेको छ ।’ यसमा विमानस्थल नागरिक उड्डयन कार्यालयका आन्तरिक टर्मिनल व्यवस्थापना शाखा प्रमुख पूर्णप्रसाद चुडाल नै संलग्न भएको अख्तियारको आशंका थियो ।

आयोगका एक जना अनुसन्धान अधिकृतका अनुसार त्यही अनुसार सोमबार अपराह्न एक जना सेवाग्राही चुडाल कहाँ प्रवेश पास बनाइदिन भन्दै पुगेका थिए ।

आयोगका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न सहजीकरण गर्ने गरी पास बनाइदिन उनले प्रतिमहिना १० हजार रुपैयाँका दरले २०७८ कात्तिकदेखि १५ महिनाको एकमुष्ठ रकम उक लाख ५० हजार रुपैयाँ मागेका थिए ।

अधिकृतहरुसँग पहिल्यै सम्पर्क गरेका सेवाग्राही डेढ लाख रुपैयाँ बोकेर उनको कार्यकक्षमा छिरेका थिए । आयोगका एक जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा गएको टोलीले ती रकमको नम्बर पहिल्यै नोट गरेको थियो ।

तर, जब आयोगको टोली चुडालको कार्यकक्षमा प्रवेश गर्‍यो, त्यसबेला त्यहाँ घुसवापत लिएको डेढ लाख रुपैयाँ भेटिएन । चुडालले पनि घुस लिएकोबारे अनविज्ञता प्रकट गरे ।

पूर्वतयारीसहित पुगेको आयोगको टोली रकमको खोजीमा जुट्यो । कार्यकक्षमा कतै रकम भेटिएन । अधिकृतहरुका अनुसार घुस दिएका व्यक्ति प्रवेश पास लिएर निस्किसकेका थिए ।

कार्यकक्ष अगाडि रहेको एउटा दराजमा चाबी लगाइएको थियो । अपरेशनमा खटिएका एक अधिकृतका अनुसार टोलीले दराजको चाबी माग्दा चुडालले आफूसँग नभएको बताए । त्यसपछि कर्मचारीहरुले आफैं ताला फुटाउने निधो गरे । त्यसक्रममा दराजभित्र ८ लाख रुपैयाँ नगद, ९ बोतल ब्राण्डेड रक्सी र चार वटा मोबाइल फोन बरामद भयो ।

अधिकृतहरुले त्यहाँबाट बरामद रकमलाई पहिले टिपिएका नोटका नम्बरसँग भिडाउने प्रयास गरे, तर कुनै नोटको अंक मिलेन । राति अवेरसम्म खोजी गर्दा पनि घुसवापतको डेढ लाख रुपैयाँ फेला नपरेपछि टोली चुडाललाई नियन्त्रणमा लिएर आयोगतिर गए ।

आयोगका एक अधिकृतका अनुसार बरामद ८ लाख रुपैयाँको स्रोत चुडालले खुलाउन सकेका छैनन् । घुसवापतको रकम कसरी गायब भयो भन्ने विषयमा मंगलबारबाट विस्तृत अनुसन्धान हुने अधिकृतहरु बताउँछन् । ‘क्यान्टिनतिरबाट कर्मचारीले नै गायब बनाएको जस्तो छ’, एक अधिकृतले भने, ‘अनुसन्धानका क्रममा त्यो पनि खुलिहाल्छ ।’

झापाको बाह्रदशी गाँपालिका-६, रुप्चनबाडी घर भएका चुडाल नवौंका कर्मचारी हुन् । उनी यसअघि झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख थिए । आयोगका कर्मचारीहरुका अनुसार उनले झापामा विभिन्न व्यवसायमा पनि लगानी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?