+
+

अष्ट्रेलियामा भेटियो संसारकै ठूलो भ्यागुता, तौल झण्डै ३ किलो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १४:४४

काठमाडौं। अष्ट्रेलियाको एक पार्कमा संसारकै सबैभन्दा ठूलो भ्यागुता फेला परेको छ । Toadzilla नाम दिइएको उक्त भ्यागुताको वजन एक नवजात बच्चा बराबर छ । तर दुखको कुरा, पर्यावरणमा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उक्त भ्यागुतालाई मारिएको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा फेला परेको सो केन टोड भ्यागुताको वैज्ञानिक नाम राइनेला म्यारिना हो । उक्त भ्यागुताको तौल २ किलो ७ सय ग्राम थियो । भ्यागुतो यति ठूलो थियो कि त्यसको नाम नै टोडजिल्ला राखियो । सो भ्यागुता (टोड) उक्त प्रजातिको सबैभन्दा ठूलो भ्यागुता भएको बताइएको छ ।

कोनवे राष्ट्रिय निकुञ्जमा जनवरी १९ मा एकजना वन कर्मचारीले सो विशालकाय भ्यागुता देखिन् । उनले एक ट्वीट मार्फत् आफुले वयस्क कुखुरा वा मानिसको नवजात शिशुको जत्तिकै वजन भएको भ्यागुतो फेला पारेको बताएकी हुन् ।

क्विन्सल्याण्डको वातावरण तथा विज्ञान विभागकी रेन्जर काइली ग्रे भन्छिन्, ‘इमान्दारीपूर्वक भन्नुपर्दा मलाई त्यो भ्यागुता देख्दा विश्वास नै लागेन । मैले त्यतिठूलो भ्यागुता अहिलेसम्म देखेकै थिइन । जब म त्यो भ्यागुताको नजिक गएँ भ्यागुता फडफडाउन लाग्यो । मैले सुपरीवेक्षकलाई त्यो भ्यागुता देखाएँ । त्यो भ्यागुता देख्दा लाग्थ्यो यो खुट्टा भएको कुनै फुटबल हो ।’

उनका अनुसार त्यो पोथी भ्यागुता हो । पोथी केन टोड भ्यागुता भालेको तुलनामा ठूलो आकारको हुन्छ । यो प्रजातिको भ्यागुताको आयू १५ वर्षसम्म हुन्छ । तरपनि दुनियाकै ठूलो त्यस भ्यागुताको आयू कति थियो भन्ने चाहीँ खुलेन ।

गिनिज वल्र्ड रेकर्डस्का अनुसार हालसम्मको सबैभन्दा ठूलो भ्यागुता केन टोड सन् १९९१ मा अष्ट्रेलियामा फेला परेको थियो । उक्त भ्यागुताको तौल २ केजी ६५० ग्राम थियो । अष्ट्रेलियामै फेला परेको टोडजिल्लाले उक्त भ्यागुताको रेकर्ड तोडेको छ ।

पोथी केन टोड भ्यागुताले एक सिजनमा करिब ३० हजार अण्डा पार्दछ । यो भ्यागुता निकै विषालु हुन्छ । यसको विषाक्तपनले अन्य जीवहरुमाथि खतरा पैदा गर्ने र लोप हुने खतरा भएकाले त्यसलाई मारिएको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?