+
+

‘मिम’मा जवाफ फर्काउने बालेन नगर सभामा बोल्दैनन्

अमृत चिमरिया अमृत चिमरिया
२०७९ माघ ११ गते २०:३७

११ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को फोटो राखेर शनिबार ‘मिम नेपहप’ले फेसबुक पेजमा लेख्यो, ‘बालेन दाइ, के छ हालचाल ?’ बालेनले २० मिनेटमै कमेन्टमा जवाफ फर्काए, ‘हाहा ठीक छ हौ, के छ खबर ?’

त्यसको एक दिनअघि गत शुक्रबार राति बालेन सामाजिक सञ्जालमा प्रश्न सोध्ने आफ्नै साथीविरुद्ध खनिएका थिए । चलचित्र निर्देशक तथा हास्यव्यंग्य कार्यक्रमका प्रस्तोता विशाल भण्डारीले ‘भत्काउनबाहेक बनाएको देखिएन’ भन्दै गरेको प्रश्नमा बालेनले ‘तिम्रो शो पैसाको भोटले जितिन्छ, तिमी पैसा कमाउन आएका हौ, तिम्रो अस्तित्व पैसाबाहेक केही छैन, तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन’, भन्ने जवाफ दिएका थिए ।

त्यसपछि निर्देशक भण्डारीले श्री ८ को संज्ञा दिंदै ‘मिम’ (व्यंग्य बिम्ब) शैलीमा अर्को स्टाटस लेखेर सोधे, ‘मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?’ मेयर बालेनले थप आक्रामक हुँदै जवाफ लेखे, ‘प्रश्न सोध्न पाइन्छ भाइ, काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दुःख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

६ माघको दिउँसो काठमाडौं महानगरपालिकाको नगरसभामा मेयरले मनपरी डोजर लगाएको भन्दै प्रश्न उठेको थियो । मेयर साहलाई २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले सोधेका थिए, ‘मैले मेयर सा’बलाई दुईपटक फोन गरेर शंखमूलमा डोजर नचलाउन आग्रह गर्दा पनि किन बेवास्ता गर्नुभयो ?’

महानगरले २८ पुसमा शंखमूलस्थित साहिल महर्जनको निजी जग्गामा डोजर लगाएको विषयमा सार्वजनिक रुपमा पनि विरोध भइरहेको छ । ६ माघमा महानगरले निजी सम्पत्तिमा डोजर चलाएको भन्दै स्थानीयवासी र अभियन्ताले नगरसभा बैठक बसिरहेको राष्ट्रिय सभागृहअगाडि प्रदर्शन नै गरिरहेका थिए । आन्दोलनकारीले निजी जग्गामा डोजर लगाएको विषयमा आफूहरुलाई ज्ञापनपत्र बुझाएको भन्दै अरु नगरसभा सदस्यहरुले पनि मेयरसँग जवाफ मागेका थिए ।

यसैपनि सार्वजनिक सरोकारका विषयमा बालेन  प्रश्ननबाट भाग्दै जवाफ नै नदिएको आरोप खेपिरहेका छन् । मेयर सबैभन्दा बढी जवाफदेही हुनुपर्ने नगरसभामै प्रश्न उठेपछि बालेन आफैंले प्रष्ट्याउने जनप्रतिनिधिको अपेक्षा थियो । तर, मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई निर्देशन दिए, र आफ्नो माइक ‘अफ’ गरे । त्यसपछि अधिकारीले प्रक्रिया पूरा गरेरै डोजर चलाएको दाबी गरे । तर, कुनै त्रुटि भए वडासँग छलफल गरेर समाधान निकाल्नुपर्ने बताए । 

काठमाडौं महानगरको नगरसभामा मेयर बालेन र उनको कार्यशैलीमाथि केन्द्रित भएर नगरसभा सदस्यहरुले कैयौं प्रश्न उठाउने गरेका छन् । महानगरपालिकाको नगरसभा र नगर कार्यपालिकाको बैठकमा बालेनले बैठक सञ्चालन गर्ने औपचारिकता पूरा गर्न केही त बोल्छन् । तर, ती बैठकमा जनप्रतिनिधिले उठाएका सार्वजनिक चासोका मुद्दामा कि त उनी प्रमुख प्रशासकीय अधिकृतलाई बोल्न दिएर पन्छिन्छन् कि त विभागीय अधिकारीलाई नै प्रष्ट्याउन निर्देशन दिन्छन् ।

मेयर बालेन निर्वाचित भएर आएपछि काठमाडौं महानगरमा पहिलो नगरसभा ६ असारमा भएको थियो । उक्त नगरसभामा महानगरको चालु आर्थिक वर्षको नीति कार्यक्रम घोषणा गर्ने तयारी थियो ।

तर, कार्यपालिका सदस्यलाई समेत नीति तथा कार्यक्रमबारे जानकारी नदिएको भन्दै मेयर बालेनमाथि प्रश्न उठाएका थिए । तर, बालेनले जवाफ नदिएपछि वडाध्यक्षहरुले लगातार प्रश्न गरिरहे । ५ मिनेट मौन बसेपछि बालेन टेबुल ठोक्दै जंगिए, ‘नीति तथा कार्यक्रम नगरभामा प्रस्तुत नभई म तपाईंहरुलाई दिन्नँ ।’

गत २६ साउनको कार्यपालिका बैठकमा व्यवस्थापन हुन नसकेको काठमाडौंको फोहोरको विषयमा प्रश्न उठेका थिए । फोहोर व्यवस्थापन नगरी ‘विजयको माला’ समेत नलगाउने घोषणा गरेका बालेनले आफूले गरेका प्रयासबारे बताउन समेत चाहेनन् । उनले कृषि तथा वातावरण समिति विभागकी प्रमुख सरिता राईलाई प्रश्नको जवाफ दिन लगाए ।

२९ पुसमा भएको नगरसभाले नगर प्रहरी विधेयक २०७९ र सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पारित गर्‍यो । विधेयकका विषयमा भएको छलफलमा नगरसभा सदस्यहरुले राखेको प्रश्नको पनि मेयर बालेनले जवाफ दिएनन्, विधायन समितिका सभापति वडाध्यक्ष रहेका मचाराजा महर्जनलाई जवाफ दिन लगाए ।

मेयर बालेनले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा कार्यक्रममाथि उठेका प्रश्नको भने आफैं जवाफ दिएका थिए । त्यसबाहेक जनप्रतिनिधिले अधिकांश सार्वजनिक चासोका मुद्दामा उठाएका प्रश्नको नगरसभामा जवाफ दिएका छैनन् ।

बालेन निर्वाचित भएपछि नगरसभाका २ वटा अधिवेशन र १२ वटा कार्यपालिका बैठक बसेका छन् । नगरसभाको बैठकमा मेयर बालेनले बैठकको एजेन्डाहरु पढ्छन् र बैठकमा सुनाउँछन् । त्यसपछि एजेण्डामा छलफल हुँदा उनी त्यसबारे खासै बोल्दैनन् । कसैगरी बालेनले कुनै विषयमा जवाफ दिए भने साझा वाक्य बोल्छन्, ‘तपाईंले उठाएको विषयमा ध्यानाकर्षण भएको छ ।’

छलफल नरुचाउने बालेन

महानगरका अधिकारीहरुका अनुसार नगरसभा बैठकअघि उठ्नसक्ने सम्भावित प्रश्नहरुबारे बालेनले तयारी गर्दैनन् । विभागीय अधिकारीहरुबाट ब्रिफिङ लिन समेत उनलाई खासै चासो छैन । कुनै विषयमा बि्रफिङ दिन गएका अधिकारीहरुलाई उनले ‘मलाई थाहा छ’ भन्दै फर्काइदिन्छन् ।

सुरुको नगरसभादेखि नै मेयर बालेन नबोल्ने र अन्यलाई देखाएर टारिदिने स्वभाव देखाएको एक वडाध्यक्ष बताउँछन् । सुरु-सुरुमा प्रक्रिया नबुझेर होला भन्ने लागेपनि अहिले त्यो मेयरको प्रवृत्तिकै रुपमा देखा परेको उनको गुनासो छ ।

‘कर्मचारीले त सधैं प्रशासनिक कानुनी भाषा बोल्छन्, कर्मचारी प्रशासनले सुल्झाउन नसकेका मुद्दा नै हामी जनप्रतिनिधिले नगरसभामा उठाउने हो’, ती वडाध्यक्ष भन्छन्, ‘मेयरसा’बले त त्यो विषयमाथि महानगरको नेतृत्वले के दृष्टिकोण राखेको छ भन्ने प्रष्ट्याउनुपर्ने हो, कर्मचारीकै कुरा सुन्न नगरसभा गर्ने भए प्रशासन सभा बनाए भइहाल्यो ।’ नगरसभालाई मेयरले ‘स्टाफ मिटिङ’का रुपमा चलाएको उनको आरोप छ ।

महानगरपालिकामा कार्यरत एक कर्मचारीका अनुसार बैठकमा महत्वपूर्ण विषयमा छलफल हुँदा पनि बालेनले डायरीमा टिप्दैनन् । र, सचिवालयलाई दस्तावेज बनाउन लगाउँदैनन् । ‘उहाँ सिभिल इन्जिनियरिङ जोडिएका विषयमा भने आफ्नो विज्ञताअनुसार बोल्ने प्रष्टीकरण दिने काम गर्नुहुन्छ । अरु प्रशासनिक र राजनीतिक मामिला जोडिएका विषयमा हामीलाई अघि सारिदिनुहुन्छ’, ती अधिकारीले भने ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी नगरसभामा उठेका विषयमा मेयरले नै प्रष्टीकरण दिने गरेको बताउँछन् । कतिपय विषयमा नगरसभाका  सचिवका रुपमा आफू वा अन्य विभागीय प्रमुखलाई मेयरले जवाफका लागि निर्देशन दिनु स्वभाविक नै भएको उनको भनाइ छ । ‘हामीले नगरसभामा मेयरको निर्देशनअनुसार जवाफ दिनु सामान्य हो’, उनले भने, ‘सबै विषय मेयरसा’बले नै प्रष्ट्याउनुपर्छ भन्ने छैन ।’

काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत, पूर्वसचिव केदार अधिकारी सार्वजनिक विषयमा जनप्रतिनिधिहरुले जवाफ दिएकै राम्रो हुने बताउँछन् । ‘मेयरको निर्देशनमा कर्मचारी, प्रवक्ताले जवाफ दिनु पनि गलत होइन, यो मेयरको आफ्नो शैली हुनसक्छ’ उनी भन्छन्, ‘तर जनता र जनप्रतिनिधिले मेयरबाट नै जवाफको अपेक्षा गर्नु चाहिं स्वाभाविक हो ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?