 
																			१० माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुअघिसम्म पनि कास्की–१ कै अर्को क्षेत्रमा चुनाव जितेका वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री बन्ने कुनै गुञ्जायस थिएन ।
कास्की–१ (१) बाट निर्वाचित खगराजले प्रदेश सभा २ का श्यामलाई मन्त्रीमा रोज्लान् भन्ने अनुमान एमालेकै सांसदले गरेका थिएनन् ।
मन्त्री र मन्त्रालयको टुंगो लगाएर प्रदेश प्रमुखको कार्यालयमा शपथका लागि पत्र पठाइसकेपछि मात्र वेदबहादुरको नाम टुंगो लागेको सार्वजनिक भयो । मंगलबारै काठमाडौंबाट फर्केलगत्तै मन्त्रीको नाम टुंगो लगाउन लाग्दासम्म अन्तिममा जनता समाजवादी पार्टीबाट एमालेमै फर्किएका गणेशमान गुरुङ र वेदबहादुरको नाममा खगराजलाई निर्णय लिनुपर्ने थियो ।
खगराजले आफूले संरक्षण र राजनीतिमा साथ दिइरहेका वेदबहादुरलाई नै रोजे । मादी गाउँपालिकाको अध्यक्ष हुँदै प्रदेश सांसद बनेका वेदबहादुरलाई नै मन्त्री बनाउँदा आफूलाई पनि सहज हुने भएकाले खगराजले निर्णय गरे ।
‘अरु माननीयहरु मन्त्री बन्न दौडधुपमा हनुहुन्थ्यो तर कसरत नै नगरेको ‘राइट ह्याण्ड’ वेदबहादुरलाई खगराजले रोज्दा धेरै माननीयले नै आश्चर्य माने’, एमालेकै एक सांसदले भने, ‘रोचक के रह्यो भने काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्केपछि खगराजले वेदबहादुर रोजे ।’ वेदबहादुरले कृषि तथा ऊर्जा मन्त्रालय पाएका छन् ।
एमाले पोलिटब्युरो सदस्यसमेत रहेका बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्की, नवलपुरकी केन्द्रीय नेतृ पद्मा जिसी, पर्वतका भक्त कुँवर, मित्रलाल बस्यालले मन्त्री हुन कसरत गरे पनि वेदबहादुरले उछिनेका छन् ।
मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा अर्को रोचक दृश्य पनि देखियो । एमालेबाट प्रदेशमा दोस्रो पटक सांसद जितेर खगराजले विश्वासको मत लिनु अघिल्लो दिन पुस २८ गते प्रमुख सचेतक बनाएका नवलपुरका रोशन गाहामगर अर्थमन्त्री हुन दौरा÷सुरुवालमा ठाँटिएर प्रदेश प्रमुखको निवास पुगेका थिए ।
५ बजे मन्त्रीको शपथ लिने भनिए ढिला हुन पुग्यो । त्यही बेला अर्को सूचना बाहिरियो, ‘बाटोमै मन्त्री साटासाट भयो । अर्थमन्त्रीको शपथ खान गएका रोशन आन्तरिक तथा कानुन मन्त्रालय र अर्थमन्त्री सीता सुन्दास हुने ।’
मुख्यमन्त्री नियुक्त भएकै दिन बिना विभागीय मन्त्री बनाएका सीतालाई खगराजलाई अर्थको साँचो सुम्पिँदा रोशन गाहा भने फेरि पनि आफूलाई अर्थ मन्त्रालय नै आउने बताइरहेका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा नै अर्थमन्त्री हुन ठिक्क परेर अवसर नपाएका रोशनलाई भन्दा सीतालाई अर्थ मन्त्री बनाउँदा खगराजलाई सजिलो हुने भएकाले बाटोमै मन्त्रालय साटिएको एमालेकै नेताहरु बताउँछन् ।
१२ बाट मन्त्रालयको संख्या ७ मा झारेका खगराजलाई भागबण्डा मिलाउन र एमालेभित्रै मन्त्री छान्न सकसपूर्ण थियो । सबै मन्त्रालयलाई बजेट र भूमिका दिने गरी टुंग्याएका खगराजले आफूलाई सहज हुने गरी नै रोचक मन्त्रिमण्डल बनाएका छन् ।
यसअघि जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुँदै यसको राष्ट्रिय महासंघकै अध्यक्ष बनेकी सीता बरियतामा तेस्रो स्थानमा रहने छिन् । विद्यार्थी राजनीति हुँदै राजनीतिमा आएकी सुन्दासले स्याङ्जा १ (१) बाट चुनाव जितेकी हुन् ।
उनले टिकट पाउनुमा पनि अर्को रोचक प्रसंग छ । यसअघि नै प्रदेश सभा सदस्य रहेका मीनप्रसाद गुरुङले टिकट नलिएपछि मात्र सीताको पोल्टामा आएको एमालेका नेताहरु बताउँछन् । अर्काले टिकट छोडेपछि मात्र पाएकी सुन्दास सांसदमात्रै बनिनन्, खगराजले महत्वपूर्ण मन्त्रालय नै सुम्पिएका छन् । खगराजले सुरुमै सरकारको प्रवक्तासमेत बनाएका सीतालाई परिस्थिति आफ्नो पक्षमा पर्दा राजनीतिमा छलाङ नै मारेकी छन् ।
खगराजले रोशन पृथ्वी सुब्बानिकट रोशनलाई प्रमुख सचेतकमै रोक्न चाहन्थे तर मन्त्री नै बनाउनुपर्ने अवस्था आएपछि उनले सहज बाटो रोजेका छन् । संविधान सभा सदस्यसमेत रहेका गाहाले आफूले अर्थ नपाएर गृहमन्त्री पाएको शपथका बेलामात्र थाहा पाएको बताए ।
मुख्यमन्त्रीकै दाबी गरिरहेका हरिबहादुर चुमानलाई मुख्यमन्त्री खगराजले २५ गते नै मन्त्री बनाएका थिए । पृथ्वीसुब्बा नेतृत्व सरकारमै आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका चुमानलाई खगराजले भौतिक पूर्वाधार मन्त्रालय दिएका छन् । फरक पार्टीलाई अर्थ मन्त्रालय दिँदा आउन सक्ने जोखिम टार्न पनि चुमानलाई नबनाएर सीतालाई रोजेका हुन् ।
खगराजपछि वरियतामा चुमान रहने छन् । अर्थ वा भौतिक पूर्वाधारमध्ये एकको दाबी गरेका माओवादीका केन्द्रीय सदस्यसमेत रहेका चुमानले विकासे मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीबाट अर्का सांसद रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हात पारे । ५ दलीय गठबन्धनमा माओवादीलाई परेको प्रतिनिधि सभा कांग्रेससँग साटेर प्रदेश माओवादीलाइ पार्न नेतृत्व लिएका जुग्जालीले पाका आकांक्षीलाई पछि पार्दै पर्यटनको बागडोरसम्म सम्हाल्न आइपुगेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा पराजित जुग्जालीले प्रदेशकै मन्त्री हुँदै इतिहास रचेका छन् ।
भागबण्डामा एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २ र राप्रपाले १ सिट पायो । यो निर्वाचनमा राम्रो नतिजा ल्याएको राप्रपाबाट गण्डकीमा २ जनाले समानुपातिक सांसद पाए । व्यवसायीसमेत रहेका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुलाई पुस २५ गते नै खगराजले मन्त्री बनाएका थिए ।
पञ्चरामले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय हात पारेका छन् । संघीयता नै खारेज गनुपर्ने बताएको राप्रपाबाट मन्त्री बनेका पञ्चराम यही व्यवस्थामा प्रदेशको महत्वपूर्ण सामाजिक विकास तथा स्वस्थ्यमन्त्री हात पारेका छन् ।
खगराज नेतृत्वको सरकारले सुरुमै मन्त्रालय घटाएर सहानुभूति बटुलेका छन् । आफूले रोजेका ७ सारथीलाई लिएर प्रदेशको औचित्य पुष्टी गर्नुपर्ने चुनौतिबीच खगराज सरकार बनेको छ । मन्त्रिमण्डलले पूर्णता पाएसँगै संघमा स्वास्थ्य र गृहमन्त्रीसमेत भइसकेका खगराजको असली परीक्षा अब सुरु भएको छ ।
खगराजले एक जना दलित तथा महिला सांसद बनाए भने आफूसहित २ जना खसआर्य समुदायका छन् । गण्डकीको मन्त्रिपरिषदमा आदिवासी जनजाति समुदायका ४ जना मन्त्री बनाएका छन् । एमाले उपमहासचिवसमेत रहेका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकारमा एउटा पनि मन्त्री नपाएको कास्कीले राप्रपा र एमालेबाटसमेत गरी मुख्यमन्त्रीसहित २ मन्त्रालय पाएको छ ।
आफ्नै क्षेत्रका सांसदलाई मन्त्री बनाएको आरोपलाई अपवाद मान्दा खगराजले समावेशी र भूगोल पनि मिलाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ जिल्ला रहेको स्याङ्जा, तनहुँ, नवलपुर, म्याग्दीले एक/एक मन्त्रालय पाएको छ ।
२२ सांसद जितेको एमालेले गण्डकीमा मुख्यमन्त्री र उपसभामुख पाउँदा ८ सांसद जितेको माओवादीले सभामुख र २ मन्त्री पाएको छ । केन्द्रमा सत्ता समीकरण फेरिँदा २७ सदस्य जितेर सरकार बनाउने सपना बुनेको नेपाली कांग्रेस अब प्रतिपक्षबाट प्रश्न गर्ने ठाउँमा पुगेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4