+
+

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपाल भ्रमणमा आउँदै

दिपेश शाही दिपेश शाही
२०७९ माघ ११ गते १२:००

११ माघ, काठमाडौं । अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड नेपाल भ्रमणमा आएने भएककी छन् ।

नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो उच्च तहको पहिलो भ्रमण हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको तयारी चलिरहे पनि घोषणा भइनसकेकाले सार्वजनिक गर्नेस्तरमा कुनै प्रगति भइसकेको छैन । ‘अमेरिकालगायत दुईतीन वटा मुलुकबाट पनि उच्च तहमा नेपाल भ्रमणको तयारी चलिरहेको छ । यद्यपि, अहिलेसम्म सार्वजनिक गर्नेस्तरमा कुनै प्रगति भइसकेको छैन,’ परराष्ट्र उच्च स्रोतले अनलाइनखबरसाग भन्यो ।

निकट भविष्यमा हुन लागेका ती भ्रणहरूमध्ये अमेरिकी उप विदेशमन्त्री नुल्यान्डको भ्रमणका विषयमा मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग समेत अमेरिकी राजदूत डीन.आर. थम्पसनको छलफल भएको गपरराष्ट्र स्रोतको भनाइ छ ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा नवनियुक्त परराष्ट्रमन्त्री पौड्यालसँग भेट्न राजदूत थम्पसन मंगलबार सिंहदरबार पुगेका थिए । भेटको विषयमा राजदूत थम्पसनले ट्वीटरमा जानकारी गराएका थिए । ‘म परराष्ट्रमन्त्री पौड्यालसँग काम गर्न तत्पर छु । उहाँलाई बधाई दिन पाउँदा र अमेरिका-नेपाल सम्बन्ध र हाम्रा लक्ष्यहरूका विषयमा छलफल गर्न पाउँदा खुसी लाग्यो,’ राजदूत थम्पसनले उल्लेख गरेका छन्, ‘हाम्रो सम्बन्ध नागरिकस्तरको बलियो सम्बन्ध र दुई सार्वभौमसत्ता सम्पन्न प्रजातन्त्रिक राष्ट्रका लागि महत्वपूर्ण छ ।’

काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतले पनि उपमन्त्री नुल्यान्डको भ्रमण तयारी चलिरहेको कुरा पुष्टि गरेको छ । ‘उहाँको भ्रमणका विषयमा छलफल चलिरहेको छ । दुवै पक्षले अहिलेसम्म त्यसको घोषणा गरिसकेको अवस्था छैन । सम्भवतः आगामी शुक्रबारसम्म मिति तय भएर त्यसको घोषणा हुन्छ होला,’ दूतावास स्रोतको भनाइ छ ।

यसअघि स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गत ६ जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणमा काठमाडौं आएकी थिइन् ।

नेपाल भ्रमणको क्रममा काठमाडौंस्थित तिब्बती शरणार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेपछि राजनीतिक र कूटनीतिक वृत्तमा त्यसको विरोध भएको थियो । दिल्ली हुँदै नेपाल भ्रमणमा आएकी उनले भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेका सरणार्थी र निर्वासित तिब्बती धर्म गुरु दलाइ लामासँग भेट गरेकी थिइन् ।

जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।

को हुन् नेपाल आउन लागेका उपमन्त्री नुल्यान्ड ?

उपमन्त्री नुल्यान्ड सन् २०२१ को अप्रिलदेखि अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामला हेर्ने उपमन्त्रीका रूपमा कार्यरत छन् । त्यसअघि उनी वाशिंटन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीति फर्म अबल्राइट स्टोनब्रिज समूहकी वरिष्ठ सल्लाहकार थिइन् ।

अमेरिकी विदेशमन्त्रालयका अनुसार उनी ब्रुकिङ्स इन्स्टिच्युटमा गैरआवासीय वरिष्ठ फेलो र येल युनिभर्सिटीमा ग्रान्ड स्ट्राटेजी अन्तर्गत कार्यरत थिइन् । साथै, ‘बोर्ड अफ द नेशनल इन्ड्वोमेन्ट फर डेमोक्रेसी’ अर्थात, लोकतन्त्रका लागि राष्ट्रि अनुदान बोर्डकी सदस्य समेत रहिसकेकी छन् ।

उपमन्त्री नुल्यान्डले अमेरिकी कूटनीतिज्ञका रूपमा बिताएका ३३ वर्षमा तत्कालीन राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री केरीको नेतृत्वमा रहेर सन् २०१३ को सेप्टेम्बरदेखि सन् २०१७ को जनवरीसम्म युरोपेली र युरेशियन मामिलाका लागि सहयाक मन्त्रीको रूपमा काम गरेकी थिइन् । त्यसअघि हिलारी क्लिन्टन विदेशमन्त्री हुँदा स्टेट डिमार्टमेन्टमा प्रवक्ता रहेकी उनी राष्ट्रपति जर्ज डब्लु बुशको दोस्रो कार्यकालमा सन् सन् २००५ देखि २००८ सम्म सैन्य संगठन नाटोका लागि अमेरिकी राजदूतको भूमिका निर्वाह गरेकी थिइन् ।

उनले सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डीक चेनीको उप राष्ट्रिय सुरक्षा सल्लाहकार र सन् २०१० देखि २०११ सम्म युरोपमा परम्परातग हतियार नियन्त्रण सन्धिमा विशेष दूत र मुख्य वार्ताकारका रूपमा काम गरेकी थिइन् ।

साथै, वाशिंटनस्थित अमेरिकी विदेशमन्त्रालय अन्तर्गत रहेर रुस, चीन र मंगालियामा समेत विभिन्न भूमिका काम गरेकी थिइन् । अमेरिकी विदेशमन्त्रालयका अनुसार उनले ब्राउन युनिभर्सिटीबाट इतिहास विषयमा स्नातकसम्मको अध्ययन गरेकी छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?