+
+

राखेप छानबिन समितिको प्रतिवेदन : क्यान कार्यसमिति निलम्बन गर्न सुझाव

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ माघ ११ गते २०:१०

११ माघ, काठमाडौं । नेपाल टी–२० लिगबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको छानबिन समितिले नेपाल क्रिकेट संघ क्यान कार्यसमिति विघटनसम्मको कारबाही गर्न सुझाव दिएको छ ।

पुस ९ देखि २७ सम्म त्रिवि मैदानमा आयोजित नेपाल टी–२० लिग नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा सट्टेबाजी, सम्भावित फिक्सिङ, श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाइएको तथा खेलाडीले पारिश्रमिक नपाएका विषयमा धेरै प्रश्न उठ्न थालेपछि राखेपले पुस २१ गते कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

समितिले क्रिकेट र नेपाल टी–२० लिगसँग सम्बन्धित २० जनाभन्दा बढी व्यक्तिसँग बयान लिएपछि प्रतिवेदन तयार पारेको हो ।

बुधबार समितिले राखेप सदस्यसचिव टंकलाल घिसिङसामू प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा नेपाल क्रिकेट संघले विदेशी कम्पनी वा संस्थालाई आफ्नो साझेदार बनाउनुअघि नियामक निकायसँग सहमति लिएको नदेखिएका कारण कारबाहीको सिफारिस गरेको छ ।

खेलकुद ऐनको दफा २८ (ट)मा कुनै विदेशी संघ संस्थासँग खेलकुदसम्बन्धी विषयमा समझदारी गर्दा मन्त्रालयको सहमति लिनुपर्ने उल्लेख छ । सोही आधारमा क्यानमाथि खेलकुद विकास ऐनको दफा २९ आकर्षित हुने छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सो दफा २८ अनुसारको व्यवस्था पालना नगर्ने खेल संघले निश्चित अवधिका लागि निलम्वन, कार्यसमिति भंग गर्नेदेखि राखेपबाट संघको दर्ता खारेजीसम्मको कारबाही ब्यहोर्नुपर्नेछ ।

‘हामीले छानबिन गर्दा क्यानको कमजोरी यसैमा पायौं । हामीले दफा २९ अनुसार क्यान कार्यसमिति निलम्बन गर्न सकिने सुझाव दिएका छौं,’ समितिका संयोजक कुँवरले अनलाइनखबरसँग भने, ‘के गर्ने भनेर त राखेप कार्यकारी समितिले निर्णय गर्ला ।’

क्यानले नेपाल टी–२० लिगका लागि विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग प्रतियोगिता सञ्चालन अधिकारसहित व्यावसायिक र रणनीतिक साझेदारका रुपमा सम्झौता गरेको थियो ।

यो सम्झौताका लागि गत वर्ष धनगढीमा भएको क्यान साधारणसभाबाट अनुमति लिइएको थियो । प्रतियोगिताको सञ्चालन अधिकार पाएको कम्पनी सेभेन थ्रीका मालिक जतिन अहुवालिया र सीईओ अभिशेक सक्लानी प्रतियोगिताका क्रममा भएको स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको प्रहरीले सार्वजनिक गरिसकेको छ ।

क्यानको साझेदार विदेशी संस्था नै बेटिङ र फिक्सिङमा संग्लग्न भएको प्रमाणित भएको भोलिपल्ट राखेपको छानबिन समितिले त्यो संस्थासँग सम्झौता गर्ने नेपाल क्रिकेट संघलाई कारबाही गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको हो ।

राखेपको छानबिन समितिले सेभेन थ्री स्पोर्टससँगको सम्झौता तत्काल खारेज गर्न क्यानलाई निर्देशन दिन समेत सुझाव दिएको छ ।

प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भइरहेको भन्दै खेलकुद कानूनअनुसार प्रहरी अनुसन्धानमा सहयोग गर्न समितिले सुझाव दिएको छ ।

प्रतिवेदनमाथि सरोकारवाला निकाय एवं आईसीसीसँग आवश्यक छलफल र समन्वय गर्न सकिनेसमेत प्रतिवेदनमा उल्लेख छ ।

नेपालको नियामक निकाय राखेपको छानबिन समितिले हस्तक्षेप गर्न सुझाव दिए पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को आफ्नै विधान र कानूनअनुसार चल्नुपर्ने नेपाल क्रिकेट संघमाथि कारबाही प्रक्रिया सुरु गर्न राखेपलाई चुनौति हुनेछ ।

यसअघि सन् २०१५ मा क्यान कार्यसमितिलाई भ्रष्टाचार अभियोग लागेपछि राखेपले रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ समिति गठन गरेको थियो ।  त्यतिबेला आईसीसीले सरकारी हस्तक्षेप भन्दै क्यानलाई निलम्बन गरेको थियो ।

झण्डै ६ वर्षपछि गत जेठमा क्यानमाथिको निलम्वन पूर्ण फुकुवा भएको हो ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले समितिको प्रतिवेदनबारे राखेपको कार्यकारी समिति वैठकमा छलफलपछि उचित निर्णय लिइने जानकारी दिए ।

‘समितिले ऐनको दफा २९ आकर्षित हुनेमात्र भनेको छैन । आईसीसीसँग आवश्यक समन्वय पनि गर्नु भनेको छ । सरोकार सबैसँगको छलफलपछि कार्यकारी समितिले उचित निर्णय गर्नेछ,’ सदस्यसचिव घिसिङले भने, ‘कारबाही गर्ने निर्णय गर्नुअघि त्यसले पार्नसक्ने असरबारे पनि पूर्वानुमान गर्नेछौं ।’

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?