+
+
ब्लग :

‘प्रचण्डको फुर्सद छैन, बाँकीको कामै छैन’

आठ लाख पार्टी सदस्य परिचालित हुनुपर्दछ तर विडम्बना ‘अध्यक्षको फुर्सदै छैन, बाँकीको कामै छैन’ भने जस्तो भएको छ । अवसर पाएका व्यक्ति आफ्नै झुण्डमा रमाएको छ भने नपाउने व्यक्ति झुण्ड बनाएर पार्टी र नेतृत्वलाई सराप्दै हिंडेको छ ।

विश्वराज आचार्य विश्वराज आचार्य
२०७९ माघ १२ गते १४:३३

भ्लादिमिर लेनिनले अगाडि सारेको संगठनको सिद्धान्त मानव शोषण विरुद्ध कम्युनिस्ट आन्दोलनको मुख्य तागत बन्दै आएको छ । माओवादी युद्धको सफलतापूर्वक विस्तारमा यसको महत्वपूर्ण भूमिका रहेको थियो । सत्ता प्राप्तिको कठिन संघर्षमा सफल भएको सिद्धान्त सत्ता प्राप्तिपछि अपेक्षाकृत सफलता पाउन नसकेको कुरा पनि सत्य हो । सिद्धान्तमा समस्या भएर हो या प्रयोगकर्तामा, त्यो भने अनुसन्धानको विषय बनेको छ ।

मार्क्सवादी दर्शनले भौतिक परिवेशले चेतनामा पार्ने प्रभावको कुरा गर्छ । पार्टी युद्धमा हुँदा र सरकारमा हुँदा नेता–कार्यकर्तामा देखिएको भिन्नताले उक्त अवधारणाको व्यावहारिक पुष्टि भएको छ । यहाँनेर चेतना विकसित वस्तु भएकाले भौतिक परिवेशलाई सचेततापूर्वक परिचालन गर्नु कम्युनिस्टहरूको दायित्व हो ।

हरेक वस्तु समयसापेक्ष परिमार्जन र विकास हुँदै जान्छ । १९औं शताब्दीमा आविष्कारित सिद्धान्तको विकास आवश्यक छ । सर्वहारा वर्गीय सचेत पहलले मात्र वैज्ञानिक र वस्तुवादी विकास र परिमार्जन सम्भव छ ।

वर्ग–संघर्षको स्वरूप र त्यसको परिचालन, संघर्षका साधनको पहिचान र परिचालन, उत्पादनका साधनको पहिचान र परिचालन, पार्टी र सरकार बीचको अन्तरसम्बन्ध र अन्तरविरोधको पहिचान र व्यवस्थापनमा नयाँ खोज र विकास अनिवार्य बनेको छ । माओवादी आन्दोलन विलय हुने या विकास हुने भन्ने विषय पनि यसैसँग सम्बन्धित छ ।

विश्वराज आचार्य

हामीले अंगीकार गरेको सिद्धान्त र व्यवहारमा प्रयोग गर्दै आएको विषयमा हाम्रो आदत र बानी परिसकेको हुन्छ । अझ नेपाली युद्धमा माओवादी पार्टीका कार्यकर्ताको बानी मात्र हैन, जीवनशैली नै नयाँ बनेको थियो । सामन्तवादी समाजबाट विद्रोह गरेर ‘जनयुद्ध’मा युवाहरूको सहभागिता जति सहज थियो त्यति सहज सामन्तवादको अन्त्यपश्चात् युद्धलाई समाजवादी आन्दोलनमा सिफ्ट गर्नेमा हुन सकेन ।

कल्पना गरिए जसरी माओवादीले जीवन व्यवहारमा रूपान्तरणकारी प्रतिबद्धता लागू गर्न सकेन । आन्दोलनमा बनेका संरचनाहरूलाई समाजवादी आन्दोलनमा स्थानान्तरण गर्न सकेन । बरु अन्त्य (मात्र विघटन) हुन पुग्यो । पुराना संघर्षका साधनको अन्त्य गरियो भने नयाँ निर्माण गर्न सकिएन ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा माओवादी कार्यकर्तालाई सबैभन्दा पीडादायक क्षण पार्टी विभाजन बन्न पुग्यो भने त्यो कुराको अलिकति पनि महसुस नेतृत्वलाई हुन सकेन । नेता र कार्यकर्ता बीचको महसुस र बुझाइमा देखिएको यही अन्तर नै आजको समाजवादी आन्दोलनको मुख्य बाधक हो ।

वर्ग संघर्षको मुख्य साधन सरकार बनेको वर्तमान परिवेशमा सरकार र पार्टीको सम्बन्धबारे बहस हुन अनिवार्य छ । सरकार साधन नभई अन्तिम लक्ष्य पो हो कि जस्तो बुझाइ स्थापित हुँदै गयो । सरकारमा गएर के गर्ने भन्ने विषय गौण र कसरी सरकारमा पुग्ने भन्ने विषय प्रधान बन्न थाल्यो ।

हरेक नेता–कार्यकर्तामा शक्ति र सत्तामा जसरी पनि पुग्ने भन्ने गलत सोचको विकास भयो । फलस्वरूप सरकारमा माओवादी सहभागिता झन् पछि झन् कमजोर हुँदै गएको छ भने पार्टी पद्धति अस्तव्यस्त भएको छ ।

यो परिवेशमा पार्टीले सरकारको नेतृत्व गर्न पाउनु निकै ठूलो अवसर हो । अवसरलाई भरपूर प्रयोग गर्न सिङ्गो पार्टीपंक्ति लाग्नुपर्दछ । आठ लाख पार्टी सदस्य परिचालित हुनुपर्दछ तर विडम्बना ‘अध्यक्षको फुर्सदै छैन, बाँकीको कामै छैन’ भने जस्तो भएको छ । अवसर पाएका व्यक्ति आफ्नै झुण्डमा रमाएको छ भने नपाउने व्यक्ति झुण्ड बनाएर पार्टी र नेतृत्वलाई सराप्दै हिंडेको छ । पार्टीको नीति, सिद्धान्त, कार्यक्रममा बहस नभएको त वर्षौं भयो भने पार्टीको उद्देश्य परिवर्तन भएर व्यक्तिले लाभ प्राप्त गर्नेमा सीमित भएको छ ।
सरकारलाई पार्टी र पार्टीलाई जनतासँग जोड्ने उद्देश्य अनुरूप कार्ययोजना बनाउनु आजको पहिलो आवश्यकता हो । तीनै तहका सरकारले गरेका हरेक निर्णयहरूको पार्टीले प्रचार गर्ने वातावरण बनाउनुपर्दछ । सरकारका मन्त्री र पार्टीका नेताले गर्ने बहस एउटै हुनुपर्दछ । उही विषयमा एउटै पार्टीका नेताहरूमध्ये कसैले सुल्टो र कसैले उल्टो तर्कसहित सार्वजनिक बहस गरेको सुनिन थालेको धेरै भइसक्यो ।

टीभीको च्यानल फेर्दै जाँदा एउटै विषयमा नेताहरूका फरक–फरक विश्लेषण सुन्नुपर्दा कार्यकर्ता र जनतामा नैराश्यता, अराजकता र स्वच्छन्दता बढ्दै गएको छ । गलत निर्णय नगर्ने र गरेको निर्णयमा सिङ्गो पार्टीको बुझाइ एक हुनु अनिवार्य छ ।

सरकारमा सहभागी नेताहरूले मिहिनेतका साथ सरकारको काम गर्ने र त्यस कामको स्वामित्व सिङ्गो पार्टीले लिन सक्नुपर्दछ । सरकारमा सहभागी नभएका नेताहरूलाई पार्टी कामको जिम्मेवारी दिनुपर्दछ । माथि भनिए झैं पार्टी अध्यक्षको फुर्सद नै नहुने बाँकी नेताको कामै नहुने, काम गर्नै नपर्ने, मन लागे गर्ने नत्र नगर्ने, जवाफदेही नै नहुने अवस्थाको तत्काल अन्त्य गरिनुपर्छ ।

माओवादी सफल हुने भनेको सामूहिक सहकार्यबाट हो । बदलिएको परिवेशमा प्रभावकारी सहकार्यको नयाँ मोडालिटी बनाउन नेतृत्वले जोड दिनै पर्दछ । जनता, पार्टी सदस्य, कर्यकर्ता, नेता सँगसँगै एउटै योजनामा हिंड्दासम्म माओवादी पार्टी सशक्त, प्रभावकारी र विशाल थियो ।

जहिलेबाट त्यसो गर्न छोड्यौं, त्यही दिनबाट हामी कमजोर हुँदै गयौं । समाजवादी आन्दोलनमा पार्टी मात्र हैन सिङ्गो समाजलाई सँगसँगै जोडेर लैजाने योजना बनाएर मात्र माओवादी पार्टी सफल हुनेछ । म/मेरो छोडेर, हामी/हाम्रो सोचको विकासले मात्र समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्दछ ।

(आचार्य माओवादी केन्द्रका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?