१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठिक ढंगले अगाडि बढेको बताएका छन् ।
नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत भएर अगाडि बढ्ने उनको विश्वास छ ।
शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् ।
बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’
प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’
आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए ।
‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।
जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’
प्रतिक्रिया 4