+
+

सीमा क्षेत्रमा भारतीय रुपैयाँ कमजोर, भारूको ‘बट्टा’ नेरूमा

हिजोआज सीमावर्ती नेपाली बजारमा भारतीय रुपैयाँ लिन व्यापारीहरुले मानिरहेका छैनन् । भिस्वा, जानकीटोल, बलुवा, सेढवा, सुवर्णपुरका व्यापारीहरुले भारतीय नोट लिएका छैनन् । लघुवित्त, पेट्रोल पम्प, सहकारी संस्थाहरुले समेत भारतीय रुपैयाँ लिन बन्द गरेका छन् ।

सुरेश बिडारी सुरेश बिडारी
२०७९ माघ १२ गते १९:०३

१२ माघ, वीरगञ्ज । गत पुसको मध्यसम्म सीमापारिका भारतीय बजारमा १००० भारतीय रुपैयाँ साट्न १६५० देखि १७०० सम्म नेपाली रुपैयाँ तिर्नुपर्थ्यो। वैध सटहीमा १६०० रुपैयाँ हुने भए पनि भारतीय रुपैयाँ पाउन मुस्किल भएकाले सटही दरभन्दा बढीमा लिनुपर्ने बाध्यता थियो ।

अहिले परिस्थिति बदलिएको छ, १०० भारु किन्न वैध रुपमा १६० रुपैयाँ तिर्नुपर्नेमा अहिले १५५ रुपैयाँ तिरे पुग्छ । अझ रोचक के छ भने पछिल्लो दिनमा भारु दिएर नेरु लिनेहरुले उल्टै बट्टा (कमिसन) दिनुपरिरहेको छ ।

हिजोआज सीमावर्ती क्षेत्रमा हुने मुद्रा सटहीमा भारुको अवमूल्यन भइरहेको छ । २०४१ देखि भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा हुने स्थिर विनिमय दर कायम छ । तर, वैध रुपमा कायम भएको यो सटही दर अहिले सीमावर्ती क्षेत्रमा कायम छैन ।

नेपाली रुपैयाँ दिएर भारतीय रुपैयाँ लिँदा कमिसन नतिरी उल्टै सटही दरभन्दा बढी पैसा पाइरहँदा नेपालीहरु अच्चम्ममा परेका छन् ।

भारतीय सहर रक्सौलमा सामान किन्दा ‘बट्टा’ तिर्नेहरु अहिले भारुको भाउ घटेको देखेर दंग छन् । देशकै प्रमुख नाका वीरगञ्जसँग सीमा जोडिएको रक्सौलमा भारु सटहीका लागि पसल नै थापेजसरी पैसा बोकेर लस्करै भारतीयहरु बस्ने गरेका छन् । उनीहरुले नेपाली रुपैयाँलाई भारुमा बदलिदिए वापत ‘बट्टा’ लिने गर्छन् । नोटबन्दीका बेला ‘बट्टा’ १० रुपैयाँसम्म पुगेको थियो ।

तर, पुस तेस्रो सातादेखि रक्सौलका व्यापारीले उपभोक्तासँग लिने ‘बट्टा’ दर घटाउँदै लगे । पुस अन्तिम साता नेपाली १ सय ६० रुपैयाँ बराबर भारु १ सयमै कारोबार भयो । माघ लागेसँगै भारुभन्दा नेपाली रुपैयाँ बलियो हुँदै गएर १०० भारु बराबर १५५ नेरुमा कारोबार हुन थालेको हो । भारतीय बजार इर्नवामा भारु साट्न जाँदा १०० भारु लिँदा १५५ रुपैयाँ मात्र तिरेको पर्साको जगरनाथपुर गाउँपालिका–४ का अजित साहले बताए ।

हिजोआज सीमावर्ती नेपाली बजारमा भारतीय रुपैयाँ लिन व्यापारीहरुले मानिरहेका छैनन् । भिस्वा, जानकीटोल, बलुवा, सेढवा, सुवर्णपुरका व्यापारीहरुले भारतीय नोट लिएका छैनन् । लघुवित्त, पेट्रोल पम्प, सहकारी संस्थाहरुले समेत भारतीय रुपैयाँ लिन बन्द गरेका छन् ।

भारतीय बजारमा नेपाली रुपैयाँको धेरै माग भएको जिराभवानी गाँउपालिका वडा नं १ बलुवाका व्यापारी नेसार समानीले बताए । सिमावर्ती भारतीय बजार सिक्टा, मैनाटाड, इनरवा, भंगहा क्षेत्रमा कमिसन नलिई नेपाली रुपैयाँ लिने गरेको उनले सुनाए ।

एक हजार नेपाली रुपैयाँको ६३५ भारतीय रुपैयाँ पाएको जिराभवानी गाँउपालिका वडा नं २ सेढवाका प्रदीप चौधरीले बताए । ‘भारतीय बजार भंगहामा सामान खरिद गर्दा नेपाली एक हजारमा भारु ६ सय ३५ रुपियाँ बराबरको सामान दिए’, उनले भने ‘जबकी चलनचल्तीको विनिमयदर अनुसार नेपाली १ हजारको भारु ६ सय २५ मात्रै हुन्छ ।’

नेपाली रुपैयाँको मूल्य बढेपछि भारतीय बजारमा सरसामान खरिद गर्दा फाइदा भइरहेको नेपाली उपभोक्ताको भनाइ छ ।

वीरगञ्जमा स–सानो परिमाणको कारोबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा नै हुने गरेको छ । तर, २५ हजारभन्दा बढी भारुलाई नेरुमा सटही गर्दा भने विनिमय दर भन्दा कममै कारोबार भइरहेको छ ।

पर्सा, बाराबाट मात्र नभई चितवन, मकवानपुर लगायत देशका विभिन्न स्थानबाट सर्वसाधरण रक्सौलमा किनमेल गर्न पुग्छन् ।

०७२ सालको भूकम्पपछि, मधेश आन्दोलनका बेला भएको नाकाबन्दीमा र कोरोना महामारीको समयमा रक्सौलको व्यापारमा निकै गिरावट आएको थियो । व्यापारमा मन्दी छाएपछि रक्सौलका व्यापारीले नेपाली रुपैयाँलाई भारुभन्दा बढी मूल्य दिने गरेका थिए । अहिले ७ वर्षपछि फेरि रक्सौलमा नेपाली रुपैयाँको भाउ बढेको हो ।

नेपाली र भारतीय नागरिकलाई एक अर्काको देशमा आउन–जान मात्रै हैन । रोजगारी र व्यापार व्यवसाय गर्न समेत छुट छ । नेपाल आउँदा एक जना भारतीय नागरिकले २५ हजार भारतीय रुपैयाँसम्म बोकेर आउन सक्ने कानुनी प्रावधान छ ।

नेपालतर्फ भारु एक सय भन्दा ठूला दरका नोट चलाउन बन्देज छ । तर, नेपालको सीमावर्ती बजारमा परम्परादेखि नै भारतीय नोटलाई स्वीकार गरिँदै आएको छ ।

किन घट्यो भारु ?

नेपालका सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा (भारु) को आपूर्ति बढेकाले अनौपचारिक कारोबारमा भारुको भाउ घटेको कतिपयको अनुमान छ । एकदेखि डेढ महिना भित्र भारुको सटही मूल्यमा धेरै कमी आउनुले सीमावर्ती क्षेत्रमा नेरुभन्दा भारुको आपूर्ति धेरै रहेको पुष्टि हुने उनीहरुको तर्क छ ।

अर्कोतिर सुन, गाँजा लगायत सामग्रीको चोरी निकासी बढेकाले नेपाली बजारमा भारु आपूर्ति बढेको हुन सक्ने कतिपयको अनुमान छ । बैंकमा धेरै पैसा एकैपटक सटही गर्दा स्रोत खुलाउनुपर्ने हुन्छ । तसर्थ चोरी तस्करीबाट कमाएको रकम कम मूल्यमै भएपनि अनौपचारिक माध्यमबाटै सटही भइरहेको तर्क उनीहरु गर्छन् ।

ठूला कारोबारमा ५ सय र २ हजार दरका भारु नोट प्रयोग हुने, तर ती दरका नोट बैंकले सटही नगरिदिने भएकोले पनि व्यवसायी अनौपचारिक माध्यमबाट रकम साट्न रुचाउँछन् ।

भारतबाट जुवातास खेल्न आउने, विवाह जस्ता सामाजिक कार्य नेपालमै आएर भोजभतेर सहित गर्ने प्रचलन पनि बढेको छ । बिहारमा मदिरा निषेध गरिएका कारण सिमावर्ती गाउँ तथा सहर मात्रै नभएर सौराहा, पोखरा, काठमाडौं लगायतका पर्यटकीय गन्तव्यमा गएर भारतीय नागरिक आउने गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष गणेश लाठ महँगा वस्तुको तस्करी बढ्दा सीमावर्ती क्षेत्रमा भारुको अवमूल्यन हुने गरेको बताउँछन् ।

‘जब नेपालबाट गाजा, चरेश जस्ता लागु औषध तथा सुन जस्ता बहुमूल्य धातु लगायत सामानको स्मग्लिङ बढ्छ, त्यसपछि सिमावर्ती बजारमा भारुको अवमूल्यन हुने गरेको छ,’ उनले भने ‘गैर कानुनी ढंगबाट आर्जन गरिएको रकमको भुक्तानी लिने र दिने दुवै कार्य बैंकिङ च्यानलबाट गर्न असम्भव छ । त्यसरी आर्जन गरिएको धन अनौपचारिक च्यानलबाट सटही गर्नुपर्ने हुँदा बट्टा तिरेर साट्ने गरिन्छ ।’

भारततर्फका बजारमा नेपाली मुद्राको माग बढी भएको तर, आपूर्ति कम भएकोले नेपाली रुपैयाँ महंगो भएको हुनसक्ने अनुमान उनको छ । रक्सौलका व्यापारी महेश कुमार अग्रवाल रक्सौलमा हिजोआज नेपाली रुपैयाँको माग बढेको बताए ।

‘डिमान्ड एण्ड सप्लाइको कुरा हो, भारु एक सय बराबर नेरु १ सय ६५, ६४, ६३ हुँदै कारोबार भइरहेको थियो । १ सय ५५, ५६ मा पुगेको छ,’ उनले भने, ‘नेपाल भारतको साढे १७ सय किलोमिटर सीमा क्षेत्रमा हजारौं बजार छ, नेपालबाट ग्राहक आएर नेपाली पैसा दिएर जान्छन् । सन् १९९०÷९१ मा जुनसुकै बैंकमा १५ पैसा बट्टा तिरेर साट्न सकिन्थ्यो, तर अहिले त्यसो गर्न सकिंदैन ।’

व्यापारी अग्रवालका अनुसार अवैध कारोबारले मुद्राको माग र आपूर्तिमा असर पार्ने बताए । ‘अवैध कारोबारले सबैभन्दा बढी मुद्राको माग र सप्लाईको चेनलाई असर पार्छ । सुन नेपालबाट ल्याउँदा अहिले फाइदा छैन । मटर, सुपारी, मरिच, छोकडा पनि आइरहेको छैन’, उनले भने, ‘लागूऔषध, गाँजा, चरेस तस्करी बढेको हुन सक्छ ।’

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ सीमावर्ती क्षेत्रको यो मौद्रिक परिदृश्य मुद्राको माग र आपूर्तिको असन्तुलनका कारण भएको बताउँछन् । नेपाली अनौपचारिक बजारमा भारतीय रुपैयाँको आपूर्ति बढ्दा भारु कमजोर भएको हुन सक्ने उनको तर्क छ ।

‘क्यासिनो खेल्ने, सीमा क्षेत्रका भारतीयहरुले विवाहको पार्टी नेपालमा गरिहरेका छन्,’ डा. श्रेष्ठले भने, ‘नेपालमा ब्याज बढी भएर नेपाल र भारत दुबैतिर कारोबर गर्ने व्यापारीले नेपालतिर पैसा ल्याएको पनि हुनसक्छ । तर, त्यो निष्कर्षमा पुग्न सर्वेक्षण नै गर्नुपर्ने हुन्छ ।’

सुन तस्करी हुँदा पनि भारतीय मुद्राको आपुर्ति नेपाली अनौपचारिक बजारमा बढेको हुनेसक्ने उनले बताए । सुनको आयात पनि बढेको र सीमा क्षेत्रमा तस्करी भइरहेको अनौपचारिक सूचना आइरहेको भन्दै उनले त्यस्ता कारण पनि भारुको कमजोर भएको हुन सक्ने उनको अनुमान छ ।

बिहारमा प्रतिबन्ध भएका नेपाली बजारबाट खरिद हुने मदिरा, गाँजा तस्करी जस्ता माध्यमबाट विनियम दरमा नै प्रभाव पर्नेगरी भारतीय रुपैयाँ नेपालमा आउने सम्भावना नरहेको डा. श्रेष्ठले बताए । ‘तर, नेपालमा भारतबाट क्यासिनो खेल्न आउनेका कारण केही भारतीय मुद्राको आपूर्ति बढेको हुनसक्छ’, उनी भन्छन् ।

वीरगञ्ज मात्रै नभएर विराटनगर, नेपागञ्ज लगायका सीमावर्ती सबैजसो बजारमा भारतीय रुपैयाँ कमजोर रहेको उनले बताए । यस्तो घटनाले अनौपचारिक बजार बलियो भएको देखाउने श्रेष्ठको भनाइ छ ।

नेपाली रुपैयाँ बलियो हुनु भनेको भारतबाट आउने वस्तु सस्तो हुनु पनि भएको डा. श्रेष्ठको भनाइ छ । चुनावका बेला नेपालमा धेरै भारतीय रकम भित्रिएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हुन सक्ने उनी अनुमान गर्छन् ।

‘नेपालका कतिपय चुनावी उम्मेदवारको भारतीयसँग नाता रहेको र चुनावमा भारतीय सहयोग आउँदा भारतीय रुपैयाँको सर्कुलेसन बढेको हो कि’ डा. श्रेष्ठ भन्छन्, ‘शंका गर्न सक्ने ठाउँ छन् ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?