+
+

गृह मन्त्रालय फर्किने रविको रुचि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते २२:१७

१५ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बन्ने रुची देखाएका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार सांसद पद खारेज गरेपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद समेत गुमाएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता लिएका उनी अपरान्ह पार्टी सभापति चुनिए

साँझ उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । स्रोतका अनुसार उनले गैरसांसदलाई मन्त्री बनाउनेसक्ने संविधानको धारा ७८ को व्यवस्थालाई टेकेर फेरि उपप्रधान तथा गृहमन्त्री हुन चाहेको संकेत गरेका छन् । ‘पार्टीको नेतृत्वमा छु, केही समस्या हुने हो कि भन्नुभएको छ,’ बालुवाटार उच्च स्रोतले भन्यो, ‘उहाँले सोझै मन्त्री बनाउनुपर्‍यो त भन्नु भएन, तर सरकारमा आउने रुची देखाउनु भएको छ ।’

रास्वपा स्रोतले भने पनि रविको उपप्रधान तथा गृह बन्ने चाहना रहेको पुष्टि गरेको छ ।

एक पदाधिकारीका अनुसार आइतबार सभापति चयन गर्न बसेको केन्द्रीय समिति बैठकमा यसबारे कुनै छलफल त भएको छैन । तर, अनौपचारिक छलफलहरुमा निकटवर्ती नेताहरुले प्राविधिक कारण मात्र सांसद र मन्त्री पद गएको भन्दै फर्किनुपर्ने बताउने गरेका छन् । चितवन २ मा हुने उपचुनाव जितेर आउने भन्दै उनीहरु अहिले मन्त्री बनाउँदा कुनै समस्या नहुने तर्क गर्छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपा महामन्त्री मुकुल ढाकालले पनि गृहमन्त्रालय आफ्नो दलको भएकाले अरुले लिने निर्णय गर्न नपाउने बताएका छन् । रास्वपामा समस्या आएको र त्यसलाई आफूहरुले समाधान पनि गरिसकेको भन्दै उनले सञ्चारकर्मीहरुसँग भने, ‘गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीमा जिम्मेवारी हो, निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’

सांसद नहुँदै उपप्रधान तथा गृहमन्त्री बन्ने रविको चाहनामा सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको साथ देखिएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने सहमत भइसकेका छैनन् । आइतबार साँझ रविसँग भएको भेटमा पनि उनले सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुसँग परामर्श गर्ने आश्वासन मात्र दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?