+
+

कहिले बन्ला भरतपुरको क्रिकेट रंगशाला ?

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन अभियान नै चलाएका धुर्मुस सुन्तलीले रकम जुटाउन नसकेर स्वामित्व लिइदिन भरतपुर महानगरलाई गुहारेको वर्षदिन भइसक्यो । तर झण्डै १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने टुंगो नलाग्दा २२ साउन २०७८ मा रोकिएको रंगशाला निर्माण कार्य पुनः सुरु हुनसकेको छैन ।

सुवास पण्डित सुवास पण्डित
२०७९ माघ १६ गते १९:५२
चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला ।

१६ माघ, चितवन । पर्वत, पैयु गाउँपालिकाका ६१ वर्षीय देव न्यौपाने चितवन आएको मौका पारेर भरतपुर महानगरपालिका वडा नं. १५ मा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला पुगे । कलाकार धुर्मुस र सुन्तलीले बनाएको रंगशालाबारे सुन्दै आएका उनलाई के–कति काम भएको रहेछ भनेर हेर्ने रहर थियो । कामको सिलसिलामा चितवन आउँदा भरतपुर–१५ स्थित निर्माणस्थलमा पुगे, क्रिकेट मैदानमा बनाइएको भ्यूटावरमा उक्लिए । हातले आँखाको माथिल्लो भाग छेक्दै परसम्म हेरे । सबैतिर नजर लगाएपछि प्रश्न गरे, ‘अब कहिले बन्ला ?’

रंगशालाको काम रोकिएको झण्डै डेढ वर्ष भयो । रंगशालाभित्र झाडी पलाएको छ । ठड्याइएका पिलरका रडमा खिया लाग्न थालेको छ । स्याहारको अभावमा दूबो मर्न थालेको छ । कामदार बस्न बनेका संरचना थोत्रिंदै गएका छन् ।

जबकि १६ माघ २०७५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गर्दा छुट्टै उत्साह थियो । दिन–रात नभनेर काम भइरहेको हुन्थ्यो । रंगशालामा आउनेहरूले स्वतस्फूर्त रूपमा सहयोग दिन्थे । विदेशमा रहेका नेपालीले पनि सहयोग रकम पठाइरहे । तर कोरोनाभाइरसको महामारी सुरु भएपछि रकम आउने क्रम विस्तारै कम हुन थाल्यो । रकम जुटाउन (२०७७ माघ १९–२७) रंगशाला परिसरमा नै महायज्ञ लगाइयो । महायज्ञबाट पनि सोचे अनुसार रकम उठ्न सकेन । रकम अभावसँगै तिर्नुपर्ने बक्यौता बढेपछि धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशालाको निर्माण रोक्यो ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अनुसार रंगशालाको काम ३९ प्रतिशत मात्र भएको छ । कूल ३० हजार दर्शक क्षमताको रंगशालामा प्याराफिटका लागि २८६ पिलर ठड्याइएको छ । कुनै पिलर माथिसम्म पुगेका छन् भने कुनैमा सामग्री भर्न बाँकी नै छ । प्याराफिटहरू थप बढ्ने आशामै छन् । तर निर्माण कहिले सुरु हुन्छ भन्ने कुनै टुंगो छैन । न्यौपाने भन्छन्, ‘धुर्मुसले त आँटेकै हुन्, परिस्थिति राम्रो भएन होला, तर यति भन्दैमा यसलाई अलपत्र छाड्नुहुँदैन, जसरी पनि बनाउनुपर्छ । सरकारले जिम्मा लिएर भए पनि बनाउनुपर्छ ।’

चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको ताजा अवस्था ।

सीताराम कट्टेल (धुर्मुस) पनि सरकारले जिम्मा लिएर रंगशाला बनाओस् भन्ने चाहेका छन् । तर १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने टुंगो नलाग्दा २२ साउन २०७८ मा रोकिएको रंगशाला निर्माण कार्य पुनः सुरु हुनसकेको छैन ।

कसले तिर्ने साढे १८ करोड ?

भरतपुर महानगरपालिकाले गरेको अडिट अनुसार उधारो र ऋण १८ करोड ४३ लाख तिर्नुपर्ने देखिएको छ । यसमध्ये १ करोड ८४ लाख ९७ विभिन्न संघ–संस्था तथा व्यक्तिसँग लिएको ऋण छ । बाँकी भने निर्माण सामग्री ल्याएबापत तिर्नुपर्ने रकम हो, जसमा चितवन रेडिमिक्सको ३ करोड ४७ लाख २६ हजार, जगदम्बा इन्टरप्राइजेजको २ करोड ३५ लाख, विशेष एण्ड को–प्राइभेट लिमिटेडको २ करोड १५ लाख र हामा स्टिलको २ करोड २ लाख रुपैयाँ छ ।

फाउण्डेशनका अध्यक्ष कट्टेलका अनुसार महायज्ञमा बोलेको रकमको एक चौथाइ मात्र उठ्ने हो भने पनि ऋण तथा बक्यौता तिर्न समस्या हुने थिएन । १९ देखि २७ माघ २०७६ मा भएको महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम बोल–कबोल भएको थियो । तर ९ करोड ४१ लाख ५८ हजार ३६७ मात्र संकलन भएको फाउण्डेशनले जनाएको छ ।

महायज्ञबाट कबोल गरेको रकम नदिनेहरू नाम चलेका ठेकेदार, समाजसेवी, विभिन्न संघ–संस्था र सरकारी निकाय छन् । फाउण्डेशनले आर्थिक सहयोग जुटाउन कुर्सीमा नाम लेखाउने, ठेलागाडामा फलफूल बेच्ने, रंगशालाभित्र सफारी, फिल्म निर्माण जस्ता अभियान चलाएको थियो । तर आशातित उपलब्धि हात लागेन ।

अब रंगशालाको सबै आर्थिक दायित्व आफूहरूको मात्र नभएको बताउँछन्, फाउण्डेशनका अध्यक्ष कट्टेल । महानगरसँग गरेको सम्झौताको बुँदा नं. ६ मा फाउण्डेशनले नेपाल सरकार तथा देश–विदेशमा रहेका व्यक्ति, संघ–संस्था र निकायसँग आह्वान गरी नगद र जिन्सी सहयोग लिनसक्नेछ भनिएको छ । यसरी जुटाइने सहयोग अपुग भए आपसी सहमतिमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्नु दुवै पक्षको दायित्व हुने पनि सम्झौतामा उल्लेख छ ।

फाउण्डेशनका अध्यक्ष कट्टेल रकम जुटाउन नसकेर स्वामित्व लिइदिन महानगरलाई २ पुस २०७८ मै पत्र लेखेको स्मरण गर्छन् । फाउण्डेशनले भविष्यमा कुनै दाबी रहने छैन भनेर मञ्जुरीनामा समेत गरिदिएको स्रोत बताउँछ ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ।सिंहदरबारका ढोका–ढोका चहार्दै हिंड्दा आफू आजित भएको, तर कतैबाट सहयोग नभएको कट्टेलको गुनासो छ । उनको आग्रह छ, रंगशाला बनाउँदा लागेको उधारो तिरेर सरकारले नै काम अगाडि बढाओस्, सहयोग गर्न सधैं तयार छु ।

तर यो रकम तिर्ने विधि नभेट्टाएको बताउँछिन् भरतपुर महानगरकी मेयर रेणु दाहाल । आफूले नसक्ने भएपछि काम नरोकी ऋण लिएर काम गर्नु गलत भएको उनले बताइन् । अब फाउण्डेशनले रंगशाला निर्माण गर्दा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने रेणुको दाबी छ ।

फाउण्डेशनका अध्यक्ष कट्टेल भने मजदुरको ज्याला भुक्तानी गर्न ऋण लिएको र बाँकी रकम उधारो तिर्न भएको बताउँछन् । ‘मैले काम गरेका मजदुरको पेटमा लात हान्न भएन, मलाई पाप लाग्छ भनेर बाध्य भएर केही ऋण लिएको छु,’ उनले अनलाइनखबरसँग भने, ‘यदि ऋण लिएर ज्याला भुक्तानी नगरेको भए उनीहरूलाई आन्दोलन गराएर मेरो कति बदनामी गर्थे होलान् !’

रंगशालाको खर्च–हिसाब खोइ ?

रंगशाला बनाउन भएको खर्चको हिसाब सार्वजनिक नगरेको भनेर धुर्मुस–सुन्तलीको आलोचना हुन थालेको छ ।

धुर्मुस भने सरकारी कार्यालयहरूले नै आर्थिक प्रतिवेदन बनाउन थालेकाले कुर्दाकुर्दै समय गएको बताउँछन् । भन्छन्, ‘सरकारी कार्यालयहरूकै आर्थिक प्रतिवेदन सार्वजनिक हुन्छ भनेर कुरें । तर उहाँहरूले बनाएको रिपोर्टमा केही छुटेको छ कि भनेर हेर्न समेत पाइएन । तपाईंको धारणा के छ भनेर पनि सोधिएन ।’ अब छिट्टै रंगशाला निर्माणको अवस्था र आफूले पाएको कष्टबारे बोल्ने उनले बताए ।

रंगशाला निर्माणमा भएको कामको भरतपुर महानगर र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले छुट्टाछुट्टै आर्थिक प्रतिवेदन तयार पारेका थिए । यो सार्वजनिक भएको छैन । अनलाइनखबरलाई प्राप्त दुवै आर्थिक प्रतिवेदनमा रंगशाला निर्माणमा भएको भौतिक कामको मूल्यांकन फरक–फरक देखिएको छ । महानगरको आर्थिक प्रतिवेदनमा ५७ करोड र भवन निर्माण आयोजनाको प्रतिवेदनमा ६३ करोडको भौतिक काम भएको उल्लेख छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व लिइदिन आग्रह गर्दै आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको रिपोर्ट, साउनदेखि मंसिरसम्मको खर्च एवं भौतिक प्रगतिसहित मौज्दातको विवरण २ पुस २०७८ मा महानगरलाई बुझाएको थियो ।

चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशालामा हालसम्म भएको खर्च र तिर्न बाँकी हिसाबको विवरण ।

महानगरले फाउण्डेशनले बुझाएको अडिट रिपोर्ट ठिक भए/नभएको जाँच गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) मा पठायो भने भौतिक प्रगतिको जाँचका लागि सघन शहरी विकास कार्यालय भरतपुरलाई पत्र पठायो । आइक्यानले रंगशालाको सम्पूर्ण आर्थिक अवस्थाको रिपोर्ट तयार गर्न जी प्रकाश एण्ड एशोसिएटलाई छान्यो, जसले २८ माघ २०७८ मा अडिट सकेर महानगरलाई रिपोर्ट बुझायो । तर महानगरले अहिलेसम्म रिपोर्ट सार्वजनिक गरेको छैन । अनलाइनखबरलाई प्राप्त उक्त अडिट रिपोर्टमा रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ रुपैयाँ खर्च भएको देखाएको छ ।

निर्माण सामग्रीमा ४९ करोड ६० लाख, अन्य निर्माण सामग्री खरिदमा २ करोड २२ लाख, डिजाइन तथा परामर्श (डीपीआर लगायत) मा २ करोड ५४ लाख, निर्माण व्यवस्थापन (रासन, ज्यालासहित) ३ करोड ४२ लाख खर्च भएको देखिन्छ ।

आम्दानी भने ३७ करोड ६६ लाख छ । भरतपुर महानगरको ८ करोड ५ लाखसहित विभिन्न सरकारी निकायबाट ११ करोड ७४ लाख रकम आएको छ । मेची–महाकाली अभियानबाट १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत सहयोग ६ करोड ६९ लाख, संस्थागत सहयोग ४ करोड ५० लाख आएको छ । रंगशालाको निर्माण सुरु गर्नुअघि खर्च भएको २ करोड १४ लाख धुर्मुस–सुन्तली फाउण्डेशनको खातामा रहेको मौज्दातबाट हो ।

यस्तै करिब १ करोड ८५ लाख विभिन्न संस्था तथा व्यक्तिसँग लिएको ऋण छ भने १६ करोड ५८ लाख सामान ल्याएबापत तिर्न बाँकी रहेको अडिट रिपोर्टमा उल्लेख छ ।

चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणस्थलमा बनाइएका संरचना ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले पनि रंगशालाको भौतिक प्रगतिको मूल्यांकन प्रतिवेदन बनाएको छ । कार्यालयका ८ जना इञ्जिनियरले तत्कालीन समयको जिल्ला दररेटलाई आधार मानेर रंगशालाको भौतिक प्रगतिसहित लागत र खर्च विवरण उल्लेख गरिएको छ ।

१३ माघ २०७८ मा महानगरलाई बुझाइएको प्रतिवेदनमा धुर्मुस–सुन्तली फाउण्डेशनले ६३ करोड २२ लाख ५ हजार रुपैयाँ बराबरको काम गरेको उल्लेख छ । यो रकममा कार्यालय व्यवस्थापन खर्च ४ प्रतिशत, बोलपत्रदाताको ओभरहेड १५ प्रतिशत र १३ प्रतिशत भ्याट समेत समावेश छ । यो सबैलाई कटाउने हो भने रंगशालामा ५० करोड २० लाख ७८ हजार बराबरको काम भएको छ ।

यसमा रंगशालाभित्र मौज्दात निर्माण सामग्री, नमूना र भित्रको खेल मैदानमा रोपिएको दूबो, पिचका लागि ल्याइएको माटो र ढुवानी खर्च तथा स्क्राप सामग्रीहरूको मूल्य समावेश नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै आयोजना व्यवस्थापनका लागि प्रयोग भएको तलब–भत्ता, फर्निचर र प्रचारात्मक कामको खर्च पनि समावेश छैन । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले भने दुवै प्रतिवेदनको कभर समेत आफूले हेर्न नपाएको बताउँछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?