+
+

पोखराका मुख्य क्षेत्रमा २३ माघदेखि पार्किङ बन्द

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ १६ गते २०:२१

१६ माघ, पोखरा । पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा माघ २३ गतेदेखि सडकछेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरको यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य शहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो ।

महानगरले सोमबार नै एक सूचना जारी गरी पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक खण्डका सडकमा २३ गतेदेखि पार्किङ नगर्न आग्रह गरेको छ । सूचनामा तोकिएका सडकखण्डमा अत्याधिक सवारी चाप हुँदा आवागमनमा समस्या भएको र सहरी सौन्दर्यमा समेत असर गरेको उल्लेख छ ।

‘…उल्लिखित स्थानको सडक क्षेत्रमा पूर्ण रुपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरुमा पार्किङ व्यवस्थापन गर्नुहुन सम्पूर्ण सरोकारवाला निकायमा यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।’

महानगरले आफ्नो फेसबुक पेजमा राखेको उक्त सूचनामाथि प्रतिक्रिया आइरहेको छ । जसमा सरोकारवालाले विकल्प नदिई जबर्जस्ती पार्किङ निषेध गर्न लागेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

हुन पनि तोकिएको मुख्य सहरी क्षेत्रका सडकमा महानगरले उचित विकल्प नै नदिईसूचना प्रकाशन गरेको छ । तर, ‘तोकिएको’ भनिएको क्षेत्रबारे महानगर आफैं अन्योल छ ।

महानगरले न्यूरोड र नयाँ बजार क्षेत्रमा ‘केही व्यक्तिका खाली जग्गा’ भएको र त्यसैमा पार्किङ गर्ने बताएको छ । तर, यसबारे सरोकारवालालाई जानकारी भने दिएको छैन ।

‘न्यूरोड र नयाँ बजार क्षेत्रमा केही व्यक्ति खाली जग्गा छन् । तिनै जग्गामा हाललाई पार्किङ व्यवस्थापन गर्ने भन्ने भएको छ,’ महानगरका प्रवक्ता तथा पोखरा महानगर २५ का वडाध्यक्ष मोती तिमिल्सिना भन्छन्, ‘यसबारे केही जग्गाधनीसँग छलफल भइसकेको छ । महानगरले तोकेको मूल्यमा उहाँहरुले पार्किङ गर्न दिने सहमति भएको छ ।’

साथै विकल्पका रुपमा महानगरले खाली गराएका अन्डरग्राउन्ड भवनमा पनि सशुल्क पार्किङ गर्न सक्ने विकल्प अघि सारेको छ । तर, महानगरले भनेझैं मुख्य सहरी क्षेत्रका अन्डरग्राउन्ड पार्किङ हालसम्म पूर्ण रुपमा खाली हुन सकेको छैन ।

पोखरा महानगरले भदौ १४ गते सूचना प्रकाशन गर्दै पार्किङ अनुमति लिएर व्यापारिक प्रयोजनमा प्रयोग भएका भवनको भूमिगत तला ३५ दिनभित्र खाली गर्न सूचना निकालेको थियो । तर, अधिकांशले तोकिएको मितिभित्र अन्डरग्राउन्ड खाली गरेनन् ।

सूचना निकालेको २ महिनापछि कात्तिक १५ गतेबाट अन्डरग्राउन्ड खाली गर्ने भन्दै केही संरचनामा डोजर पनि चलायो । तर, हालसम्म त्यसले पूर्णता पाएको छैन । ‘अहिले फेरि ती के भइराखेको छ भनेर फेरि फलोअप गर्ने त्यसलाई खाली गर्न लगाउने अनि पार्किङ गर्न लाउने भन्ने छ,’ महानगरका प्रवक्ता तिमिल्सिनाले भने ।

महानगरले हाल ‘तोक्ने’ पार्किङ क्षेत्रले भने पार्किङ चापलाई धान्न नसक्ने महानगरकै प्रमुख प्रशासकीय अधिकृत बताउँछन् । ‘अहिलेको यो योजनाले पार्किङको सबै समस्या समाधान गर्छ नै भन्ने त होइन । अहिलेको पार्किङको चाप १० प्रतिशत पनि धान्दैन,’ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती भन्छन्, ‘छिट्टै महानगरले केही नयाँ ठाउँ डिक्लियर गर्छ ।’

निजी जग्गा भएकाले पार्किङवापतको शुल्क महानगरलाई तिर्नुनपर्ने भारतीले जानकारी दिए । ‘किनकी त्यो उहाँहरुकै व्यक्तिगत जग्गा हो । तर, उहाँहरुले महानगरले तोकिदिएको मापदण्डमा चाहिँ शुल्क उठाउनुपर्छ,’ उनले भने । हालसम्म कहाँ पार्किङ गर्ने भन्नेबारे निश्चित ठाउँ नतोकिए पनि तोकिएपछि त्यहाँ साइनबोर्डदेखि पार्किङ दररेट सबैको व्यवस्था हुने उनले जानकारी दिए ।

महानगरले तोकेको मुख्य शहरी क्षेत्र पोखराकै मुख्य व्यापारिक क्षेत्र पनि हुन् । मुख्य व्यापारिक क्षेत्रमा पार्किङ निषेध गर्दा व्यापार प्रभावित भएको भन्दै अहिले काठमाडौं विराटानगरलगायतका व्यापारी आन्दोलित छन् ।

पोखरामा पनि विकल्प नदिई पार्किङ निषेध गर्दा निजी क्षेत्रबाट विरोध हुने सम्भावना अधिक छ । यसबारे महानगरसँग दीर्घकालीन जवाफ भने छैन । ‘त्यसको पार्किङका लागि हामी सचेत नै छौं । कतिपय ठाउँमा सहमति नै भइसकेको छ, कतिपय ठाउँमा खोजी हुँदै जान्छ,’ प्रवक्ता तिमिल्सिनाले भने ।

यसअघि महानगरले सडकनै पार्किङका लागि ठेक्का दिँदै आएको थियो । महानगरले पुस ८ गतेदेखि सडक पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीसँगको ठेक्का तोडेको थियो । महानगरले ०७७ साल उक्त ठेकेदार कम्पनीसँग २ वर्ष (मंसिर २७ गतेसम्म)का लागि सडक पार्किङ ठेक्का सम्झौता गरेको थियो ।

तर, निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै सुटुक्क पुनः ४ महिनाका लागि सम्झौता थप गरेको लामो समयपछि खुलेको थियो । सोही सम्झौता पुसमा महानगरले तोडेको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?