+
+

हाम्रो राजनीतिले प्रेमप्रसादहरूलाई छुँदैन

राजनीति उडिराखेको छ, जमिनको जीवनसँग जोडिएको छैन । प्रेमप्रसादहरु जस्ता नागरिकको जीवनलाई यसले छुँदैन । मानिसका पसिना, रगत, आशा, कल्पना, आँसुलाई कहीं छुदैन । आदर्श एकातिर छ, व्यवहार अर्कोतिर । राजनीतिले मानिसको जीवनलाई सम्बोधन नै गर्न सकेन ।

चैतन्य मिश्र चैतन्य मिश्र
२०७९ माघ १७ गते २०:००

प्रेमप्रसाद आचार्यको सन्देश पढेपछि सुरुमा मलाई माया लाग्यो । एउटा मान्छे जलेर मर्‍यो । मान्छेको जिउमा आगोले पोल्दा कस्तो हुन्छ, त्यो कल्पना आयो ।

भियतनाम लगायत देशमा बौद्ध भिक्षुहरूले आफैंलाई जलाएको यदाकदा फोटो देखेको हो । नेपालमा देखेको थिइनँ, त्यो सम्झना आयो । मायासँगै सम्मान पनि जाग्यो । त्यसपछि तत्कालै ग्लानि भयो ।

उनको लामो सन्देशमा धेरै गम्भीर विषयहरू समेटिएका रहेछन् । मैले ती समस्याहरूबारे समयमै किन गम्भीर सोचाइ राखिनँ र लेखिनँ भन्ने ग्लानि भयो ।

मैले हुलका हुल मानिस कसरी गाउँबाट शहर आइरहेका छन्, कसरी गाउँ र शहरबीचको भेद मेटिँदैछ भनेर पहिला लेखेको थिएँ । त्यसपछि यो तप्का र वर्गको बारेमा गम्भीर विचार गरिएन । म नेपाली समाजबारे सोच्ने र पढाउने मान्छे भए पनि यहाँ त खाल्डोमा परिएछ । त्यसैले मलाई ग्लानि भयो ।

सानो सानो पैमानामा उत्पादन गरेर ठूलो बजारमा ल्याइरहेका साना व्यवसायी, प्रेमप्रसादहरूको बारेमा गम्भीर रूपले सोचिएनछ । तरकारी किन्दा किसानहरूले बजार भाउ पाएनन् भन्ने सधैं लाग्थ्यो । हामीले ३० रूपैयाँमा किन्ने एक मुठा सागको किसानले मुश्किलले ५–७ रूपैयाँ पाउलान् । यसबारे मनमा प्रश्न उठे पनि व्यवस्थित रूपमा सोचिएनछ ।

समाजको एउटा भुईंतहमा के भइरहेको छ भन्ने कुरासँग कम संसर्ग भएछ । म अरु होहल्लातिर बढी लहसिएछु । आफूले गर्नुपर्ने काम नगरेकोमा मलाई ग्लानिबोध भयो ।

प्रेमप्रसादले आफ्नो छोटो जीवनमा ज्ञान र सूचनाका हिसाबले मास्टरी हासिल गरेका रहेछन् । थोरै मानिसले मात्रै यति धेरै बुझेको हुन्छ । बुझाइको दृष्टिले मास्टरी गरे पनि उनी एउटा यस्तो पहराको अगाडि परे, जसलाई छिचोल्न सकेनन् ।

प्रेमप्रसाद मलाई साँच्चिकै लोकतान्त्रिक गणतन्त्रका शहरियामा रूपान्तरण हुँदै गरेको, पारिवारिक र पारम्परिक होइन आफ्नै व्यक्तिगत पेशा सुरुवात गरेको आधुनिक मान्छे जस्तो लाग्यो । नयाँ जमानाको मान्छे– ‘रिपब्लिकन, शहरिया मूल्यमान्यता धारण गरेको, आफैंमा स्वनिर्भर, आधुनिक भाव बोकेको ।’

यो किन पनि लाग्यो भने उनको त्यति लामो विवरणमा ईश्वर छैन । भक्ति, पूजा, धामीझाँक्री, बोक्सी, भाग्य छैन । त्यत्रो परिबन्दमा पर्दा पनि कहिल्यै भाग्यको कुरा गरेका छैनन् । मेरो भाग्य नै यस्तो रहेछ भनेर चित्त बुझाइएको छैन । एकप्रकारको ‘हिरोइक’ कल्पना छ । एउटा हिरो भनेर हामी जो कल्पना गर्छौं, त्यो चरित्र छ ।

ठूलो सामाजिक वाधा व्यवधानसँग दृढतापूर्वक लडिरहेको एकजना पात्र हुन् प्रेम । पहिला नाइकीको विज्ञापनमा देखाइने ‘द पावर अफ वन’– माइकल जोर्डनदेखि महात्मा गान्धीसम्म एक व्यक्ति पनि कति शक्तिशाली हुन्छ भन्ने तस्वीर उत्रियो मेरो मनमा । परिआउँदा एउटै मानिसले के–के गर्न सक्छ !

उनको ‘नोट’मा आफूलाई पेल्ने मानिसहरू विरुद्ध रिस पनि छ । नेता, ठूला व्यवसायी र बैंकरहरूसँगको रिस छ, तर ठिङ्ग अडेर बसेको छ । आफू निरीह छ, तर उभिएको छ । ती सबैलाई बहन गरेर बसेको छ । चलचित्रमा देखिने सिंगो व्यवस्थाविरुद्ध उभिएको एक्लो मान्छे जस्तो ।

मैले यो कुरा कुन सन्दर्भमा भनिरहेको छु भने हामी गणतान्त्रिक व्यवस्थामा छौं, तर हाम्रा कतिपय नेताहरू गणतान्त्रिक जस्तो देखिँदैनन् । भक्तिभाव गर्ने ईश्वरका मान्छे जस्तो देखिन्छन् । भक्तिभाव देखाउनेले औंठी, जनै, टीका लगाउँछन्, पूजा गर्छन् । सरकारको पैसाले मन्दिर बनाउँछन् । भवन बनाउँदा जग पूजा गर्छन् । भाकल गर्छन् ।

आस्था राख्नु फरक कुरा हो, तर पूजा गर्ने कुरामा मलाई अप्ठ्यारो लाग्छ । सांसद छन्, ईश्वर जनाउने औंठी लगाउँछन् । गणतान्त्रिक हुनु भनेको त सार्वजनिक क्षेत्रमा गरिने उपयुक्त कर्मद्वारा देश विकास हुन्छ भन्ने विश्वास राख्नु हो । त्यो पनि ईश्वर जनाउने विम्बहरु र धर्ममा विश्वास नगरीकन । यसकारण कतिपय हिसाबले हाम्रा नेताहरू गणतान्त्रिक छैनन् ।

निजी रूपमा गरिने कर्महरू सार्वजनिक जीवनमा नगर्नुपर्ने हो । नेता, कर्मचारी, प्राध्यापकले सार्वजनिक कर्म गरूञ्जेल निजी आस्थालाई अलग राख्नुपर्ने हो । जस्तो कि, प्रेमप्रसाद आचार्य पुरातनपन्थबाट टाढा र एक्लै भएर बसे ।

गणतान्त्रिक लोकतन्त्र भनेको सरकारको किसिम मात्र होइन । यो यस्तो उद्घोष हो कि जसमा सामाजिक, आर्थिक, राजनीतिक कर्म संविधानअनुसार गर्नुपर्छ भन्ने प्रवल आग्रह छ । संविधानले धर्मकर्म गर्नुपर्छ, ईश्वरलाई मान्नुपर्छ भनेको छैन । संविधानतः धर्मनिरपेक्ष ढंगले चल्नुपर्ने हो, धर्मलाई निजी विषय बनाएर । मानिसले निजी जीवनमा त के–के गर्छन् गर्छन् । रक्सी खान्छन्, नाच्छन् । यी सबै सार्वजनिक जीवनको लागि बर्जित कुरा हुन् । यी सबै कुरा प्रेमप्रसादले बर्जित गरे । यतातिर उनी लाग्दै लागेनन् ।

निजी जीवनमा ईश्वर मान्ने, भाकल गर्ने, रक्सी खाने, रेष्टुरेन्ट जाने, पार्कमा जाने, नाच्ने जे जे गरे पनि भयो । लोकतान्त्रिक गणतन्त्रमा सार्वजनिक जीवन त्योभन्दा अलग वृत्त हो । जसमा प्रेमप्रसादले अनुशासन कायम गरे । मेरो लागि यो तारिफयोग्य गुण हो । हाम्रा कतिपय नेतामा यो गुण छैन ।

प्रेमप्रसाद पटक्कै भाग्यवादी रहेनछन् । संसारमा पहिलेदेखि रहे पनि नेपालमा बितेको ७० वर्षयता भाग्यवादको फजुल सिद्धान्त घुमिफिरि देखा परिरहेको छ । सन् १९५० को दशकमा अमेरिकीहरूले नेपालमा विकास सहायतामार्फत ग्रामीण विकास कार्यक्रम सुरु गरे । यसअन्तर्गतका धेरैजसो कार्यक्रम असफल भए । अनि ५० को दशकको अन्त्य र ६० को दशकको सुरुतिर अमेरिकी सामाजिक वैज्ञानिकहरूले नेपालमा जति गर्दा पनि विकास नहुनुको कारण यहाँ जातभात, भाग्यमा विश्वास छ, त्यसैले हाम्रो काम उपयोगी भएन भन्ने गलत निष्कर्ष निकाले ।

त्यसपछि अर्को चरण सन् १९९१ मा डोरबहादुर विष्टको किताब ‘फ्याटलिजम् एण्ड डेभलपमेन्ट’सँगै आयो । नेपाली भाग्यवादी छन् भन्ने त्यसले स्थापित गरिदियो । त्यसको केही तारिफ पनि भयो । नेपालीहरू कर्ममा विश्वास गर्दैनन्, भाग्यमा विश्वास गर्छन् भन्ने मान्यता स्थापित भयो । पछिल्लो पटक नेपाली भाग्यवादी छन् भन्ने गलत निचोडमा एकजना बहालवाला सांसद पुगेको पढेँ । गलत भयो, दुःख लाग्यो ।

दुःख पर्दा भाग्यलाई दोष दिने त भेटिन्छन्, तर कर्म नगरी कोही बस्दैन । भाग्यवादीको लाञ्छना भने हुनेखाने र शक्तिशालीहरूबाट अन्यलाई गरिने दोषारोपण मात्र हो । प्रेमप्रसादको निजी जीवन लगायत उनले छोडेको नोटले अर्को एउटा धारणालाई असत्य ठहराएको छ । त्यो धारणाले व्यक्ति सर्वोपरि हो, व्यक्तिले चाह्यो भने नहुने केही छैन भन्छ । कुनै पनि व्यक्ति विशिष्ट संरचना र ऐतिहासिक विन्दुमा बाँच्छ । ती संरचना र विन्दुको चरित्रले आरोह–अवरोह, दुःखसुख, कल्पना र भविष्य दर्शन आदि प्रदान गर्छन् भन्ने तथ्य प्रेमप्रसादको जेलिएको सामाजिक सम्बन्धहरूको प्रकृतिले यो तथ्यलाई चरितार्थ गरेको छ ।

नेपालमा गएको २–४ सय वर्षमा कस्ता मान्छे रहे भने पहाड फोरेर घर र खेतबारी बनाए, पूर्वदेखि पश्चिमसम्म । कल्पना गर्नुस्, यति धेरै कान्लाबारी संसारभरि नै छैन । पेरुमा पनि यो भन्दा कम छ । सबैले पहाडमा अलिअलि कान्लो त बनाउँछन् तर नेपालमा जति कान्लो कहिँ छैन । यसरी पहाड फोरेर बस्ती र खेतबारी बनाउने मान्छे कसरी भाग्यवादी हुनसक्छ ? उत्तर भारतबाट आएका र पहाडबाट झरेका मानिसहरूले त्यत्रो चारकोसे झाडी फाँडे । त्यसका अनेकौं नकारात्मक असरलाई अहिले बिर्संदा त्यत्रो फाँडेर ठूलो कर्म गरे, बहादुरी गरे भन्ने नै हुन्छ । त्यस्ता मानिस कसरी भाग्यवादी हुनसक्छन् ? हामी यस्तो इतिहास बोकेका मानिस हौं ।

पृथ्वीनारायण शाहकै कालमा जाने हो भने पनि दक्षिण एशियामा ६–८ सय मुलुक बिलाए, हामी बाँकी छौं । हामी कर्मवादी भएर नै बाँकी छौं । हामीमध्ये कोही कुनै बेलामा भाग्यवादी हुन्छौं, तर त्यो विरल हो, कुनै बेलाको कथा हो । कसै–कसैको कुन–कुनै बेलाको कथा हो । संसारमा त्यस्तो छ । यसका कारणहरू छन् । प्रेमप्रसाद लगायत हामी धेरै नेपालीलाई भने भाग्यवादको रोग संक्रमण भएन ।

नेपालीहरूले विश्व विचरण गरे । बर्मा, थाइल्याण्ड, नर्थ अफ्रिका, अमेरिका गए । अहिले पनि संसार पुगिरहेका छन् कर्म गर्न । भाग्यवादी भए यस्तो हुदैनथ्यो । बरु हाम्रा केही नेता र सरकार भाग्यवादी छन् ।

हाम्रो राजनीति र सरकारले प्रेमप्रसादहरूलाई, उनीहरूको समस्यालाई हेरेन । किन हेरेन ? अंग्रेजीमा ‘स्याडो बक्सिङ’ भन्छन्– हावामा मुक्का हानेजस्तो गर्ने तर साँच्चै मुक्का नहान्ने ।

यहाँ जनताको दैनन्दिनी र जीवनलाई नछुने गरी अमूर्त कल्पना अधिक छ । गणतन्त्र, लोकतन्त्र, गठबन्धन, चुनावी जितहार, संघीयताका तीनवटै तहका नियुक्ति, भागबन्डा र सरुवा बढुवाको चर्चा हुन्छ । राजनीति उडिराखेको छ, जमिनको जीवनसँग जोडिएको छैन । प्रेमप्रसादहरुजस्ता नागरिकको जीवनलाई यसले छुँदैन । मानिसका पसिना, रगत, आशा, कल्पना, आँसुलाई कहीँ छुदैन । आदर्श एकातिर छ, व्यवहार अर्कोतिर । राजनीतिले मानिसको जीवनलाई सम्बोधन नै गर्न सकेन ।

हाम्रो लोकतन्त्रले प्रेमप्रसादहरूको समस्या समाधान कता हो कता, छाम्नै सकेन । नागरिकको जीवनसम्म हाम्रो लोकतन्त्रको हात, खुट्टा र आँखै जाँदैन । प्रेमप्रसाद जस्ता दशौं लाख, करोड नै होलान् । यति धेरै मानिसको जीवनलाई हाम्रो राजनीतिले छुँदैन । हालसम्म छोएको छैन ।

राजनीतिमा पैसावाला र ठेकेदारै ठेकेदार छन् । नेपाललाई दलालले खायो । प्रेमप्रसादहरुलाई पनि त्यसैले खाइरहेको छ । हरेक पक्षमा विचौलिया छन् । प्रेमप्रसादलाई पनि विचौलियाले दुःख दिएको देखिन्छ । हाम्रो संसदमा विचौलियाहरू देखिन्छन् । साना किसान र साना व्यापारीको कहीँ कतै प्रतिनिधित्व छैन । हाम्रो राजनीतिमा उनीहरूको आवाज छैन । स्थानीय तहमा पनि छैन । कुनै संसदमा कतै भए पनि उनीहरू पार्टी नेताहरूले जे भन्छन्, त्यही भट्याउँछन् । साना व्यवासायी नै भए पनि ठुल्ठूला राजनीति भट्याउँछन् ।

कसैले भन्थ्यो– नेपालमा एक घर एक दलाल छन् । दलाली व्याप्त छ । जग्गा दलाली, लाइसेन्स, दलाली, नक्सापास दलाली । यातायातदेखि तरकारी बजारसम्म दलाल, विचौलिया छन् । किसान र उपभोक्ता दुवैलाई ठग्ने धन्दा मौलाएको छ । एक तिहाईभन्दा धेरै जग्गा बाँझो रहन लागिसक्यो । प्राथमिक काम गर्नेभन्दा दलाली गर्ने धेरै भएपछि देश उँभो लाग्दैन, तर हाम्रा सरकारले यो समस्या छामेको पनि छैन ।

नेपाली मिडिया पनि ‘स्याडो बक्सिङ’ खेल्नेहरूको सहयोगी बन्यो । कुन नेताले के भन्योमा मिडिया केन्द्रित छ । नेताले के गर्‍यो भनेर कतै कभर भयो भने त्यो उद्घाटन मात्रै हो । रिबन काटेको खबर लेख्न सीमित छ । त्यो आवश्यक छैन भनेको होइन, तर मुलुकका प्रमुख समस्याभन्दा त्यो किन महत्वपूर्ण बन्यो भन्ने प्रश्न हो ।

३ करोड नेपाली होइन, ३० जना नेताको गणेश बन्न पुग्यो नेपाली मिडिया । काठमाडौं केन्द्रित मिडिया दूरदराज जाँदैन, किनभने त्यहाँ नाफाभन्दा खर्च धेरै हुन्छ । काठमाडौं केन्द्रित भएर पार्टी, गठबन्धन, चुनाव, उपचुनाव, कसले जित्यो, को मन्त्री भयो यस्तै यस्तै लेख्छ । मिडियाले एक तिहाईभन्दा बढी जग्गा बाँझै बसेको खबर उति लेख्दैन । किसानले ५ रूपैयाँ मुठा बेचेको साग उपभोक्तालाई २५ रूपैयाँमा भिडाएको समाचार मिडियाले लेखेको खोई ?

म्याद गुज्रिएको औषधि वा स्याम्पु बेचेको खबर लुकाउनु मिडियाको धर्म बनेको छ । प्रेमप्रसादले उल्लेख गरेका ठूला व्यापारीहरूको कथा त आउँदैन । आएपनि एकदमै कम आउँछ । किन ?

त्यसैले प्रेमप्रसादको मृत्युमा हामी धेरै पक्ष जिम्मेवार रह्यौं । अस्ति विरोध प्रदर्शनमा एउटा प्लेकार्डमा सोधिएको थियो– प्रेमप्रसादको आत्महत्या कि हत्या हो ? हामी समाजशास्त्रीका लागि यो अहं सवाल हो । हामी मानिसलाई सामाजिक प्राणी भन्छौं । मानिसलाई बनाउने–बिगार्ने, आत्महत्या गराउने–जीवन दिने सबै समाज हो भने एक हिसाबले आत्महत्या दुरुत्साहन त यो समाजले नै गरेको हो भन्नुपर्छ । यसो भन्दा प्रेमप्रसादको कर्तापन हरिन्छ कि भन्ने चिन्ता छ । र पनि यो अर्धसत्य त हो नै । त्यसकारण यो दोषको भागी हामी सबै हौं । उनी खप्ने नै मान्छे हुन् तर यस्तो विन्दुमा पुर्‍याइयो कि उनले थप खप्न सकेनन् ।

प्रेमले आफ्नो सन्देशमा डिप्रेसनको प्रसंग पनि उल्लेख गरेका छन् । डिप्रेसन आजकल चलनचल्तीको भाषा बनेको छ । सन् १९९० देखि २०१० सम्म टर्चर (यातना) चलनचल्तीको शब्द थियो । त्यसको दिन सकियो । आजकल हरेक मान्छेको मुखबाट डिप्रेसन निस्कन्छ । मलाई भने डिप्रेसन भन्दा डेस्परेसन (निराशा/हतासा) जस्तो लाग्छ । ब्रह्मपुत्रमा हामफाल्न गरेको प्रयाससहित यसअघि नै दुई–चार पटक आत्महत्या गर्न खोजेको भन्ने छ । तर त्यहींनेर चीनपारि गएर काम गर्ने इच्छा र केही कर्म पनि छ । हिमाल काट्न नसकेर रोकिएको प्रसंग छ ।

प्रेमको परिवारभित्र भएका घटनाक्रम पनि महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ हो जस्तो लाग्छ । अरुले पाए जति जग्गा नपाएको र अहिले पनि आमा, दाजु लगायतले मद्दत नगरेको भन्ने रहेछ । आफ्नो नजिकको मानिसबाट बढी अपेक्षा गरिन्छ, उनीहरूबाट धोका पाउँदा निराशा बढ्ने जोखिम धेरै हुन्छ । त्यसैले आत्महत्यामा नजिकको मानिसहरूको भूमिका उल्लेख्य हुन्छ ।

पहिला एसएलसीमा असफल भएपछि १४–१५ वर्षका केटाकेटी रानीपोखरीमा हामफाल्थे वा अरु उपायले आत्महत्या गर्थे । उनीहरूले आफू फेल भएर भन्दा बाबुआमाले के भन्छन् अब भनेर आत्महत्या गरेका हुन् । बाबुआमाको डर र उनीहरूसँग सम्बन्ध टुट्ला कि भन्ने त्रासले हो । मलाई निकाल्छन् कि माया गर्दैनन् कि भन्ने त्रासले हो । त्यस्तै क्यासिनोमा जुवा हार्नेले पैसा हारेर होइन, श्रीमतीले के भन्छिन् भनेर आत्महत्या गर्छन् । श्रीमतीसँगको सम्बन्धमा उसले जत्तिकै विश्वास गरिनँ, लुकाएर पैसा हारेँ, अब उसलाई मैले कुन मुख देखाउने भनेर आत्महत्या गर्छन् ।

राजनीतिक पार्टीहरूको घोषणापत्र हेर्दा प्रेमप्रसादहरूको जीवनलाई छुने विषयहरू छन् । संविधानमा त लोकतन्त्रमा आधारित समाजवाद भनिएकै छ, तर हामी यस्तो आकाशे राजनीति गरिरहेका छौं कि आफ्नो शासन कायम गर्नकै लागि जे पनि गरिने भयो अब । हाम्रो राजनीतिले नेताको मात्रै जीवन छुने भयो, नागरिकको होइन ।

समाज र व्यक्ति दुवै परिवर्तन हुन्छन् । परिवर्तनको यस्तो प्रयास गर्दा अहिलेकै राजनीतिले पनि काम गर्ला, तर अहिले त गरेजस्तो पटक्कै लाग्दैन । हामी गणतन्त्र, लोकतन्त्र वा लोकतन्त्रसँग जोडिएको समाजवादबाट धेरै टाढा पुगिसक्यौं । अब यो फर्किएर आउँछ, जनतालाई छुन्छ कि छुँदैन, मलाई थाहा छैन ।

मलाई यसमा किन पनि द्विविधा छ भने गृहमन्त्रालयले प्रेमप्रसाद आत्मदाह प्रकरणबारे छानबिन गर्न बनाएको समितिले गरेको निर्णय हेरौं । दोस्रो निर्णयमा प्रेमप्रसादको व्यक्तिगत जीवनबारे पनि अनुसन्धान गर्ने भन्ने छ ।

त्यो किन गर्नुपर्‍यो ? त्यसको अर्थ के हो ?

संसारका सबै शक्तिशालीले जहिले पनि अरुको समस्यालाई व्यक्तिकरण गर्छन् । त्यही मान्छेको दोष हो, व्यवस्था वा राज्य प्रणालीको दोष होइन भन्न उक्त बुँदा राखिएको हो भन्ने लाग्छ मलाई । हाम्रो सिस्टम त त्यस्तो होइन, उसैको कमजोरीले आत्महत्या गर्‍यो भन्ने होला । सरकारी कर्मचारीको छानबिन समिति बनाएको छ । उनीहरूले ट्याकटुक पारेर सिध्याउँछन् । नियम मिल्दैन भन्लान् । जस्तो, भाटभटेनीको आफ्नै यो नियम छ भन्लान् । यो व्यवस्थामा भाटभटेनीकै जस्ता मान्छेहरूको दबदबा छ । त्यो समितिबाट कुनै तात्विक कुरा निस्कन्छ जस्तो लाग्दैन । मैले भाटभटेनीको उदाहरण मात्र दिएको, यस्ता कति छन् कति यहाँ । केही गम्भीर सवाल अघिसार्दा राजनीतिज्ञलाई आफूलाई गाल पार्छन् भन्ने त्रास पक्कै होला ।

तीन तहको सरकार बनेपछि केही पक्षहरूमा नागरिकको पहुँच बढेको छ । स्वास्थ्य चौकीमा अलि सजिलो र केही निशुल्क उपचार भएको होला । वृद्धभत्ता पाइन्छ । तर, अन्य सरकारी सुविधा केहीले सजिलै पाउँछन्, धेरैले पाउँदै पाउँदैनन् । सरकारले दिने अनुदान कसले लिन्छ भन्ने कुरा प्रस्टै छ । त्यसैले पहुँचवालाको लागि सजिलैसँग सरकार छ । सामान्य नागरिकलाई छैन ।

दैनिक रूपमा भइरहने आत्महत्याको घटनाभन्दा प्रेमप्रसादको घटनाले हामीलाई किन छोयो भने यो आगोसँग जोडियो । आगोको बिम्ब भयावह छ । दोस्रो, उनको घटना सार्वजनिक स्थलमा भयो । तेस्रो, उनले छाडेको ‘नोट’ हो । त्यो हामी बारम्बार हेर्न सक्छौं । अरु चाहिँ कथा जस्तो हुन्छन् । नोट पढ्दा उनी जिउँदो जाग्दो मानिस लाग्छन् । त्यो पढिरहँदा प्रेम प्रसादको तस्वीर आउँछ । सम्झन बाध्य गराउने प्रकृतिको छ । यसलाई हामी पटक–पटक सन्दर्भ बनाउन सक्छौं । अरु आत्महत्याको कुरा आलटाल भए पनि यो अलि कालसम्म चल्छ । चौथो, प्रेम आफैंले घटनालाई यो सिंगो प्रणालीसँग जोडे । उनले आफ्नो आत्महत्यालाई वृहत् संरचनासँग जोडे । त्यसकारणले पनि सबैले सम्झिरहने एउटा कथ्य भयो ।

हाम्रो लोकतन्त्रको खाका ठीक छ, तर हामीले काम गर्न सकेनौं । किन सकेनौं ? हामीजस्ता मानिसहरू ‘डिमान्डिङ’ भएनौं । माग भएपछि आपूर्ति हुने हो, तर हामीले हाम्रो नेतृत्वले हावादारी कुरा गर्दा पनि ओहो, आहा भनेर तारिफ गर्यौं । मिडियाले लेखिदिएपछि तारिफ हुने भइगयो । हामीले प्रश्न नगर्दा नेपाल के हो भनेर बुझ्न नेतृत्वलाई कर लागेन । समस्या पहिचान गर्ने इच्छाशक्ति नै भएन । कुहिरोको कागसरि छन् ।

अहिलेको सत्ता साझेदार दलले ल्याएको न्यूनतम् साझा कार्यक्रम फाल्तु छ, पञ्चवर्षीय योजना जस्तो । यो देशको र सरकारको मूल कुरा के हो भन्ने छैन । मूल कुराबाटै हाँगा हाल्ने हो नि ! प्रस्तावनामा रहेको दुई वाक्यमा १८५ शब्द छ । ८२औं शब्दमा बल्ल एक नम्बरमा हुनुपर्ने संविधान शब्द आउँछ । कर्मचारीको भाषा गोलमटोल । त्यहाँ नेपालीको जाँचमा फेल हुने वाक्यसंरचना छन् । न धार छ न कुनै दिशा । यो धार लिनै नखोजेको हो । जालझेल गराइराख्ने कर्मचारीलाई अगाडि सारिएको हो । यो अरुलाई मात्र होइन, आफैंलाई पनि गरिएको झेल हो । प्रकारान्तरले प्रेमप्रसादको नियति पुनर्उत्पादन गरिरहने कुकर्म हो ।

हामी भोट हाल्ने बेला गम्भीरता देखाउँदैनौं । यो हाम्रो गल्ती हो । भोट हालिसकेपछि निरन्तर प्रश्न गरिरहन पनि हामी चुकेका छौं । घोषणापत्रमा लेखेको कुरा भएन भनेर हामी किन घेराउ गर्दैनौं र यस्तो महंगो चुनावमा यसरी नै सरिक भइरह्यौं भने हाम्रो लोकतन्त्र नै बाँच्दैन । प्रेमप्रसादहरूको गाढा दुःख लगायत अवसानको संभावना बढ्छ । प्रेमप्रसाद महत्वाकांंक्षी भए भन्ने सोच पनि ठाउँठाउँमा पलाएको देखिन्छ ।

मानिस जति महत्वाकांक्षी भयो उति बेस । धेरै बढी महत्वाकांक्षीलाई अलि धेरै आडभरोसा भने चाहिन्छ । उनीहरूलाई सहयोग गर्ने व्यवस्था चाहिन्छ । यसमा पारिवार, स्थानीय तह, संघ वा अरु सामाजिक–सांस्कृतिक संघ–संस्थाहरू होलान् । हरेक बच्चा असीमित सम्भावना बोकेर जन्मन्छ । त्यसलाई बिर्को लगाइदिने हामीले हो । असीमित सम्भावना बोकेको मानिसलाई तँ महत्वाकांक्षी भइस्, तँ यति धेरै अग्लो नहो भन्नु बेठीक हो । त्यस्तो मानिसलाई सघाउने संरचना बनाइराख्नुपर्छ । स्कुल, क्याम्पस, आविष्कार केन्द्र आदि मार्फत पनि त्यस्ता मानिसहरूलाई प्रोत्साहन गरिराख्नुपर्छ ।

मेरो लागि महत्वाकांक्षा समस्याजनक होइन । प्रेमप्रसाद आफैं त्यति सारो महत्वाकांक्षी हुन् जस्तो लाग्दैन । उनले नाजायज, गैरकानुनी काम, हिंसा केही गरेका छैनन् । प्रेमप्रसादका २५ माग सम्बोधन गरे उनीजस्ता केही गर्न चाहनेहरूलाई सजिलो हुन्छ ।

नेपालमा व्यावसायिक श्रेष्ठता हासिल गर्न सक्ने वातावरण बनाउनुपर्छ । स्थानीयदेखि संघीय सरकारसम्मलाई सबै तहबाट व्यवसायिक श्रेष्ठताको बलियो र दिगो माग गर्नुपर्‍यो । यस्तो अभ्यास निरन्तर रूपमा चल्नुपर्छ । मेरो आवाज सुनिन्छ भन्ने विश्वासले नागरिकलाई ठूलो त्राण र आत्मसन्तुष्टि दिन्छ । आम नागरिकलाई सम्मान, समानता दिने र उत्पादनमूलक अवसर बढाउने गर्दा जीवनप्रतिको आशा र विश्वास बढ्छ ।

पडकास्टमा सुन्नुहोस् चैतन्य मिश्रसँगको कुराकानी

लेखकको बारेमा
चैतन्य मिश्र

प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?