+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

हाम्रो राजनीतिले प्रेमप्रसादहरूलाई छुँदैन

राजनीति उडिराखेको छ, जमिनको जीवनसँग जोडिएको छैन । प्रेमप्रसादहरु जस्ता नागरिकको जीवनलाई यसले छुँदैन । मानिसका पसिना, रगत, आशा, कल्पना, आँसुलाई कहीं छुदैन । आदर्श एकातिर छ, व्यवहार अर्कोतिर । राजनीतिले मानिसको जीवनलाई सम्बोधन नै गर्न सकेन ।

चैतन्य मिश्र चैतन्य मिश्र
२०७९ माघ १७ गते २०:००

प्रेमप्रसाद आचार्यको सन्देश पढेपछि सुरुमा मलाई माया लाग्यो । एउटा मान्छे जलेर मर्‍यो । मान्छेको जिउमा आगोले पोल्दा कस्तो हुन्छ, त्यो कल्पना आयो ।

भियतनाम लगायत देशमा बौद्ध भिक्षुहरूले आफैंलाई जलाएको यदाकदा फोटो देखेको हो । नेपालमा देखेको थिइनँ, त्यो सम्झना आयो । मायासँगै सम्मान पनि जाग्यो । त्यसपछि तत्कालै ग्लानि भयो ।

उनको लामो सन्देशमा धेरै गम्भीर विषयहरू समेटिएका रहेछन् । मैले ती समस्याहरूबारे समयमै किन गम्भीर सोचाइ राखिनँ र लेखिनँ भन्ने ग्लानि भयो ।

मैले हुलका हुल मानिस कसरी गाउँबाट शहर आइरहेका छन्, कसरी गाउँ र शहरबीचको भेद मेटिँदैछ भनेर पहिला लेखेको थिएँ । त्यसपछि यो तप्का र वर्गको बारेमा गम्भीर विचार गरिएन । म नेपाली समाजबारे सोच्ने र पढाउने मान्छे भए पनि यहाँ त खाल्डोमा परिएछ । त्यसैले मलाई ग्लानि भयो ।

सानो सानो पैमानामा उत्पादन गरेर ठूलो बजारमा ल्याइरहेका साना व्यवसायी, प्रेमप्रसादहरूको बारेमा गम्भीर रूपले सोचिएनछ । तरकारी किन्दा किसानहरूले बजार भाउ पाएनन् भन्ने सधैं लाग्थ्यो । हामीले ३० रूपैयाँमा किन्ने एक मुठा सागको किसानले मुश्किलले ५–७ रूपैयाँ पाउलान् । यसबारे मनमा प्रश्न उठे पनि व्यवस्थित रूपमा सोचिएनछ ।

समाजको एउटा भुईंतहमा के भइरहेको छ भन्ने कुरासँग कम संसर्ग भएछ । म अरु होहल्लातिर बढी लहसिएछु । आफूले गर्नुपर्ने काम नगरेकोमा मलाई ग्लानिबोध भयो ।

प्रेमप्रसादले आफ्नो छोटो जीवनमा ज्ञान र सूचनाका हिसाबले मास्टरी हासिल गरेका रहेछन् । थोरै मानिसले मात्रै यति धेरै बुझेको हुन्छ । बुझाइको दृष्टिले मास्टरी गरे पनि उनी एउटा यस्तो पहराको अगाडि परे, जसलाई छिचोल्न सकेनन् ।

प्रेमप्रसाद मलाई साँच्चिकै लोकतान्त्रिक गणतन्त्रका शहरियामा रूपान्तरण हुँदै गरेको, पारिवारिक र पारम्परिक होइन आफ्नै व्यक्तिगत पेशा सुरुवात गरेको आधुनिक मान्छे जस्तो लाग्यो । नयाँ जमानाको मान्छे– ‘रिपब्लिकन, शहरिया मूल्यमान्यता धारण गरेको, आफैंमा स्वनिर्भर, आधुनिक भाव बोकेको ।’

यो किन पनि लाग्यो भने उनको त्यति लामो विवरणमा ईश्वर छैन । भक्ति, पूजा, धामीझाँक्री, बोक्सी, भाग्य छैन । त्यत्रो परिबन्दमा पर्दा पनि कहिल्यै भाग्यको कुरा गरेका छैनन् । मेरो भाग्य नै यस्तो रहेछ भनेर चित्त बुझाइएको छैन । एकप्रकारको ‘हिरोइक’ कल्पना छ । एउटा हिरो भनेर हामी जो कल्पना गर्छौं, त्यो चरित्र छ ।

ठूलो सामाजिक वाधा व्यवधानसँग दृढतापूर्वक लडिरहेको एकजना पात्र हुन् प्रेम । पहिला नाइकीको विज्ञापनमा देखाइने ‘द पावर अफ वन’– माइकल जोर्डनदेखि महात्मा गान्धीसम्म एक व्यक्ति पनि कति शक्तिशाली हुन्छ भन्ने तस्वीर उत्रियो मेरो मनमा । परिआउँदा एउटै मानिसले के–के गर्न सक्छ !

उनको ‘नोट’मा आफूलाई पेल्ने मानिसहरू विरुद्ध रिस पनि छ । नेता, ठूला व्यवसायी र बैंकरहरूसँगको रिस छ, तर ठिङ्ग अडेर बसेको छ । आफू निरीह छ, तर उभिएको छ । ती सबैलाई बहन गरेर बसेको छ । चलचित्रमा देखिने सिंगो व्यवस्थाविरुद्ध उभिएको एक्लो मान्छे जस्तो ।

मैले यो कुरा कुन सन्दर्भमा भनिरहेको छु भने हामी गणतान्त्रिक व्यवस्थामा छौं, तर हाम्रा कतिपय नेताहरू गणतान्त्रिक जस्तो देखिँदैनन् । भक्तिभाव गर्ने ईश्वरका मान्छे जस्तो देखिन्छन् । भक्तिभाव देखाउनेले औंठी, जनै, टीका लगाउँछन्, पूजा गर्छन् । सरकारको पैसाले मन्दिर बनाउँछन् । भवन बनाउँदा जग पूजा गर्छन् । भाकल गर्छन् ।

आस्था राख्नु फरक कुरा हो, तर पूजा गर्ने कुरामा मलाई अप्ठ्यारो लाग्छ । सांसद छन्, ईश्वर जनाउने औंठी लगाउँछन् । गणतान्त्रिक हुनु भनेको त सार्वजनिक क्षेत्रमा गरिने उपयुक्त कर्मद्वारा देश विकास हुन्छ भन्ने विश्वास राख्नु हो । त्यो पनि ईश्वर जनाउने विम्बहरु र धर्ममा विश्वास नगरीकन । यसकारण कतिपय हिसाबले हाम्रा नेताहरू गणतान्त्रिक छैनन् ।

निजी रूपमा गरिने कर्महरू सार्वजनिक जीवनमा नगर्नुपर्ने हो । नेता, कर्मचारी, प्राध्यापकले सार्वजनिक कर्म गरूञ्जेल निजी आस्थालाई अलग राख्नुपर्ने हो । जस्तो कि, प्रेमप्रसाद आचार्य पुरातनपन्थबाट टाढा र एक्लै भएर बसे ।

गणतान्त्रिक लोकतन्त्र भनेको सरकारको किसिम मात्र होइन । यो यस्तो उद्घोष हो कि जसमा सामाजिक, आर्थिक, राजनीतिक कर्म संविधानअनुसार गर्नुपर्छ भन्ने प्रवल आग्रह छ । संविधानले धर्मकर्म गर्नुपर्छ, ईश्वरलाई मान्नुपर्छ भनेको छैन । संविधानतः धर्मनिरपेक्ष ढंगले चल्नुपर्ने हो, धर्मलाई निजी विषय बनाएर । मानिसले निजी जीवनमा त के–के गर्छन् गर्छन् । रक्सी खान्छन्, नाच्छन् । यी सबै सार्वजनिक जीवनको लागि बर्जित कुरा हुन् । यी सबै कुरा प्रेमप्रसादले बर्जित गरे । यतातिर उनी लाग्दै लागेनन् ।

निजी जीवनमा ईश्वर मान्ने, भाकल गर्ने, रक्सी खाने, रेष्टुरेन्ट जाने, पार्कमा जाने, नाच्ने जे जे गरे पनि भयो । लोकतान्त्रिक गणतन्त्रमा सार्वजनिक जीवन त्योभन्दा अलग वृत्त हो । जसमा प्रेमप्रसादले अनुशासन कायम गरे । मेरो लागि यो तारिफयोग्य गुण हो । हाम्रा कतिपय नेतामा यो गुण छैन ।

प्रेमप्रसाद पटक्कै भाग्यवादी रहेनछन् । संसारमा पहिलेदेखि रहे पनि नेपालमा बितेको ७० वर्षयता भाग्यवादको फजुल सिद्धान्त घुमिफिरि देखा परिरहेको छ । सन् १९५० को दशकमा अमेरिकीहरूले नेपालमा विकास सहायतामार्फत ग्रामीण विकास कार्यक्रम सुरु गरे । यसअन्तर्गतका धेरैजसो कार्यक्रम असफल भए । अनि ५० को दशकको अन्त्य र ६० को दशकको सुरुतिर अमेरिकी सामाजिक वैज्ञानिकहरूले नेपालमा जति गर्दा पनि विकास नहुनुको कारण यहाँ जातभात, भाग्यमा विश्वास छ, त्यसैले हाम्रो काम उपयोगी भएन भन्ने गलत निष्कर्ष निकाले ।

त्यसपछि अर्को चरण सन् १९९१ मा डोरबहादुर विष्टको किताब ‘फ्याटलिजम् एण्ड डेभलपमेन्ट’सँगै आयो । नेपाली भाग्यवादी छन् भन्ने त्यसले स्थापित गरिदियो । त्यसको केही तारिफ पनि भयो । नेपालीहरू कर्ममा विश्वास गर्दैनन्, भाग्यमा विश्वास गर्छन् भन्ने मान्यता स्थापित भयो । पछिल्लो पटक नेपाली भाग्यवादी छन् भन्ने गलत निचोडमा एकजना बहालवाला सांसद पुगेको पढेँ । गलत भयो, दुःख लाग्यो ।

दुःख पर्दा भाग्यलाई दोष दिने त भेटिन्छन्, तर कर्म नगरी कोही बस्दैन । भाग्यवादीको लाञ्छना भने हुनेखाने र शक्तिशालीहरूबाट अन्यलाई गरिने दोषारोपण मात्र हो । प्रेमप्रसादको निजी जीवन लगायत उनले छोडेको नोटले अर्को एउटा धारणालाई असत्य ठहराएको छ । त्यो धारणाले व्यक्ति सर्वोपरि हो, व्यक्तिले चाह्यो भने नहुने केही छैन भन्छ । कुनै पनि व्यक्ति विशिष्ट संरचना र ऐतिहासिक विन्दुमा बाँच्छ । ती संरचना र विन्दुको चरित्रले आरोह–अवरोह, दुःखसुख, कल्पना र भविष्य दर्शन आदि प्रदान गर्छन् भन्ने तथ्य प्रेमप्रसादको जेलिएको सामाजिक सम्बन्धहरूको प्रकृतिले यो तथ्यलाई चरितार्थ गरेको छ ।

नेपालमा गएको २–४ सय वर्षमा कस्ता मान्छे रहे भने पहाड फोरेर घर र खेतबारी बनाए, पूर्वदेखि पश्चिमसम्म । कल्पना गर्नुस्, यति धेरै कान्लाबारी संसारभरि नै छैन । पेरुमा पनि यो भन्दा कम छ । सबैले पहाडमा अलिअलि कान्लो त बनाउँछन् तर नेपालमा जति कान्लो कहिँ छैन । यसरी पहाड फोरेर बस्ती र खेतबारी बनाउने मान्छे कसरी भाग्यवादी हुनसक्छ ? उत्तर भारतबाट आएका र पहाडबाट झरेका मानिसहरूले त्यत्रो चारकोसे झाडी फाँडे । त्यसका अनेकौं नकारात्मक असरलाई अहिले बिर्संदा त्यत्रो फाँडेर ठूलो कर्म गरे, बहादुरी गरे भन्ने नै हुन्छ । त्यस्ता मानिस कसरी भाग्यवादी हुनसक्छन् ? हामी यस्तो इतिहास बोकेका मानिस हौं ।

पृथ्वीनारायण शाहकै कालमा जाने हो भने पनि दक्षिण एशियामा ६–८ सय मुलुक बिलाए, हामी बाँकी छौं । हामी कर्मवादी भएर नै बाँकी छौं । हामीमध्ये कोही कुनै बेलामा भाग्यवादी हुन्छौं, तर त्यो विरल हो, कुनै बेलाको कथा हो । कसै–कसैको कुन–कुनै बेलाको कथा हो । संसारमा त्यस्तो छ । यसका कारणहरू छन् । प्रेमप्रसाद लगायत हामी धेरै नेपालीलाई भने भाग्यवादको रोग संक्रमण भएन ।

नेपालीहरूले विश्व विचरण गरे । बर्मा, थाइल्याण्ड, नर्थ अफ्रिका, अमेरिका गए । अहिले पनि संसार पुगिरहेका छन् कर्म गर्न । भाग्यवादी भए यस्तो हुदैनथ्यो । बरु हाम्रा केही नेता र सरकार भाग्यवादी छन् ।

हाम्रो राजनीति र सरकारले प्रेमप्रसादहरूलाई, उनीहरूको समस्यालाई हेरेन । किन हेरेन ? अंग्रेजीमा ‘स्याडो बक्सिङ’ भन्छन्– हावामा मुक्का हानेजस्तो गर्ने तर साँच्चै मुक्का नहान्ने ।

यहाँ जनताको दैनन्दिनी र जीवनलाई नछुने गरी अमूर्त कल्पना अधिक छ । गणतन्त्र, लोकतन्त्र, गठबन्धन, चुनावी जितहार, संघीयताका तीनवटै तहका नियुक्ति, भागबन्डा र सरुवा बढुवाको चर्चा हुन्छ । राजनीति उडिराखेको छ, जमिनको जीवनसँग जोडिएको छैन । प्रेमप्रसादहरुजस्ता नागरिकको जीवनलाई यसले छुँदैन । मानिसका पसिना, रगत, आशा, कल्पना, आँसुलाई कहीँ छुदैन । आदर्श एकातिर छ, व्यवहार अर्कोतिर । राजनीतिले मानिसको जीवनलाई सम्बोधन नै गर्न सकेन ।

हाम्रो लोकतन्त्रले प्रेमप्रसादहरूको समस्या समाधान कता हो कता, छाम्नै सकेन । नागरिकको जीवनसम्म हाम्रो लोकतन्त्रको हात, खुट्टा र आँखै जाँदैन । प्रेमप्रसाद जस्ता दशौं लाख, करोड नै होलान् । यति धेरै मानिसको जीवनलाई हाम्रो राजनीतिले छुँदैन । हालसम्म छोएको छैन ।

राजनीतिमा पैसावाला र ठेकेदारै ठेकेदार छन् । नेपाललाई दलालले खायो । प्रेमप्रसादहरुलाई पनि त्यसैले खाइरहेको छ । हरेक पक्षमा विचौलिया छन् । प्रेमप्रसादलाई पनि विचौलियाले दुःख दिएको देखिन्छ । हाम्रो संसदमा विचौलियाहरू देखिन्छन् । साना किसान र साना व्यापारीको कहीँ कतै प्रतिनिधित्व छैन । हाम्रो राजनीतिमा उनीहरूको आवाज छैन । स्थानीय तहमा पनि छैन । कुनै संसदमा कतै भए पनि उनीहरू पार्टी नेताहरूले जे भन्छन्, त्यही भट्याउँछन् । साना व्यवासायी नै भए पनि ठुल्ठूला राजनीति भट्याउँछन् ।

कसैले भन्थ्यो– नेपालमा एक घर एक दलाल छन् । दलाली व्याप्त छ । जग्गा दलाली, लाइसेन्स, दलाली, नक्सापास दलाली । यातायातदेखि तरकारी बजारसम्म दलाल, विचौलिया छन् । किसान र उपभोक्ता दुवैलाई ठग्ने धन्दा मौलाएको छ । एक तिहाईभन्दा धेरै जग्गा बाँझो रहन लागिसक्यो । प्राथमिक काम गर्नेभन्दा दलाली गर्ने धेरै भएपछि देश उँभो लाग्दैन, तर हाम्रा सरकारले यो समस्या छामेको पनि छैन ।

नेपाली मिडिया पनि ‘स्याडो बक्सिङ’ खेल्नेहरूको सहयोगी बन्यो । कुन नेताले के भन्योमा मिडिया केन्द्रित छ । नेताले के गर्‍यो भनेर कतै कभर भयो भने त्यो उद्घाटन मात्रै हो । रिबन काटेको खबर लेख्न सीमित छ । त्यो आवश्यक छैन भनेको होइन, तर मुलुकका प्रमुख समस्याभन्दा त्यो किन महत्वपूर्ण बन्यो भन्ने प्रश्न हो ।

३ करोड नेपाली होइन, ३० जना नेताको गणेश बन्न पुग्यो नेपाली मिडिया । काठमाडौं केन्द्रित मिडिया दूरदराज जाँदैन, किनभने त्यहाँ नाफाभन्दा खर्च धेरै हुन्छ । काठमाडौं केन्द्रित भएर पार्टी, गठबन्धन, चुनाव, उपचुनाव, कसले जित्यो, को मन्त्री भयो यस्तै यस्तै लेख्छ । मिडियाले एक तिहाईभन्दा बढी जग्गा बाँझै बसेको खबर उति लेख्दैन । किसानले ५ रूपैयाँ मुठा बेचेको साग उपभोक्तालाई २५ रूपैयाँमा भिडाएको समाचार मिडियाले लेखेको खोई ?

म्याद गुज्रिएको औषधि वा स्याम्पु बेचेको खबर लुकाउनु मिडियाको धर्म बनेको छ । प्रेमप्रसादले उल्लेख गरेका ठूला व्यापारीहरूको कथा त आउँदैन । आएपनि एकदमै कम आउँछ । किन ?

त्यसैले प्रेमप्रसादको मृत्युमा हामी धेरै पक्ष जिम्मेवार रह्यौं । अस्ति विरोध प्रदर्शनमा एउटा प्लेकार्डमा सोधिएको थियो– प्रेमप्रसादको आत्महत्या कि हत्या हो ? हामी समाजशास्त्रीका लागि यो अहं सवाल हो । हामी मानिसलाई सामाजिक प्राणी भन्छौं । मानिसलाई बनाउने–बिगार्ने, आत्महत्या गराउने–जीवन दिने सबै समाज हो भने एक हिसाबले आत्महत्या दुरुत्साहन त यो समाजले नै गरेको हो भन्नुपर्छ । यसो भन्दा प्रेमप्रसादको कर्तापन हरिन्छ कि भन्ने चिन्ता छ । र पनि यो अर्धसत्य त हो नै । त्यसकारण यो दोषको भागी हामी सबै हौं । उनी खप्ने नै मान्छे हुन् तर यस्तो विन्दुमा पुर्‍याइयो कि उनले थप खप्न सकेनन् ।

प्रेमले आफ्नो सन्देशमा डिप्रेसनको प्रसंग पनि उल्लेख गरेका छन् । डिप्रेसन आजकल चलनचल्तीको भाषा बनेको छ । सन् १९९० देखि २०१० सम्म टर्चर (यातना) चलनचल्तीको शब्द थियो । त्यसको दिन सकियो । आजकल हरेक मान्छेको मुखबाट डिप्रेसन निस्कन्छ । मलाई भने डिप्रेसन भन्दा डेस्परेसन (निराशा/हतासा) जस्तो लाग्छ । ब्रह्मपुत्रमा हामफाल्न गरेको प्रयाससहित यसअघि नै दुई–चार पटक आत्महत्या गर्न खोजेको भन्ने छ । तर त्यहींनेर चीनपारि गएर काम गर्ने इच्छा र केही कर्म पनि छ । हिमाल काट्न नसकेर रोकिएको प्रसंग छ ।

प्रेमको परिवारभित्र भएका घटनाक्रम पनि महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ हो जस्तो लाग्छ । अरुले पाए जति जग्गा नपाएको र अहिले पनि आमा, दाजु लगायतले मद्दत नगरेको भन्ने रहेछ । आफ्नो नजिकको मानिसबाट बढी अपेक्षा गरिन्छ, उनीहरूबाट धोका पाउँदा निराशा बढ्ने जोखिम धेरै हुन्छ । त्यसैले आत्महत्यामा नजिकको मानिसहरूको भूमिका उल्लेख्य हुन्छ ।

पहिला एसएलसीमा असफल भएपछि १४–१५ वर्षका केटाकेटी रानीपोखरीमा हामफाल्थे वा अरु उपायले आत्महत्या गर्थे । उनीहरूले आफू फेल भएर भन्दा बाबुआमाले के भन्छन् अब भनेर आत्महत्या गरेका हुन् । बाबुआमाको डर र उनीहरूसँग सम्बन्ध टुट्ला कि भन्ने त्रासले हो । मलाई निकाल्छन् कि माया गर्दैनन् कि भन्ने त्रासले हो । त्यस्तै क्यासिनोमा जुवा हार्नेले पैसा हारेर होइन, श्रीमतीले के भन्छिन् भनेर आत्महत्या गर्छन् । श्रीमतीसँगको सम्बन्धमा उसले जत्तिकै विश्वास गरिनँ, लुकाएर पैसा हारेँ, अब उसलाई मैले कुन मुख देखाउने भनेर आत्महत्या गर्छन् ।

राजनीतिक पार्टीहरूको घोषणापत्र हेर्दा प्रेमप्रसादहरूको जीवनलाई छुने विषयहरू छन् । संविधानमा त लोकतन्त्रमा आधारित समाजवाद भनिएकै छ, तर हामी यस्तो आकाशे राजनीति गरिरहेका छौं कि आफ्नो शासन कायम गर्नकै लागि जे पनि गरिने भयो अब । हाम्रो राजनीतिले नेताको मात्रै जीवन छुने भयो, नागरिकको होइन ।

समाज र व्यक्ति दुवै परिवर्तन हुन्छन् । परिवर्तनको यस्तो प्रयास गर्दा अहिलेकै राजनीतिले पनि काम गर्ला, तर अहिले त गरेजस्तो पटक्कै लाग्दैन । हामी गणतन्त्र, लोकतन्त्र वा लोकतन्त्रसँग जोडिएको समाजवादबाट धेरै टाढा पुगिसक्यौं । अब यो फर्किएर आउँछ, जनतालाई छुन्छ कि छुँदैन, मलाई थाहा छैन ।

मलाई यसमा किन पनि द्विविधा छ भने गृहमन्त्रालयले प्रेमप्रसाद आत्मदाह प्रकरणबारे छानबिन गर्न बनाएको समितिले गरेको निर्णय हेरौं । दोस्रो निर्णयमा प्रेमप्रसादको व्यक्तिगत जीवनबारे पनि अनुसन्धान गर्ने भन्ने छ ।

त्यो किन गर्नुपर्‍यो ? त्यसको अर्थ के हो ?

संसारका सबै शक्तिशालीले जहिले पनि अरुको समस्यालाई व्यक्तिकरण गर्छन् । त्यही मान्छेको दोष हो, व्यवस्था वा राज्य प्रणालीको दोष होइन भन्न उक्त बुँदा राखिएको हो भन्ने लाग्छ मलाई । हाम्रो सिस्टम त त्यस्तो होइन, उसैको कमजोरीले आत्महत्या गर्‍यो भन्ने होला । सरकारी कर्मचारीको छानबिन समिति बनाएको छ । उनीहरूले ट्याकटुक पारेर सिध्याउँछन् । नियम मिल्दैन भन्लान् । जस्तो, भाटभटेनीको आफ्नै यो नियम छ भन्लान् । यो व्यवस्थामा भाटभटेनीकै जस्ता मान्छेहरूको दबदबा छ । त्यो समितिबाट कुनै तात्विक कुरा निस्कन्छ जस्तो लाग्दैन । मैले भाटभटेनीको उदाहरण मात्र दिएको, यस्ता कति छन् कति यहाँ । केही गम्भीर सवाल अघिसार्दा राजनीतिज्ञलाई आफूलाई गाल पार्छन् भन्ने त्रास पक्कै होला ।

तीन तहको सरकार बनेपछि केही पक्षहरूमा नागरिकको पहुँच बढेको छ । स्वास्थ्य चौकीमा अलि सजिलो र केही निशुल्क उपचार भएको होला । वृद्धभत्ता पाइन्छ । तर, अन्य सरकारी सुविधा केहीले सजिलै पाउँछन्, धेरैले पाउँदै पाउँदैनन् । सरकारले दिने अनुदान कसले लिन्छ भन्ने कुरा प्रस्टै छ । त्यसैले पहुँचवालाको लागि सजिलैसँग सरकार छ । सामान्य नागरिकलाई छैन ।

दैनिक रूपमा भइरहने आत्महत्याको घटनाभन्दा प्रेमप्रसादको घटनाले हामीलाई किन छोयो भने यो आगोसँग जोडियो । आगोको बिम्ब भयावह छ । दोस्रो, उनको घटना सार्वजनिक स्थलमा भयो । तेस्रो, उनले छाडेको ‘नोट’ हो । त्यो हामी बारम्बार हेर्न सक्छौं । अरु चाहिँ कथा जस्तो हुन्छन् । नोट पढ्दा उनी जिउँदो जाग्दो मानिस लाग्छन् । त्यो पढिरहँदा प्रेम प्रसादको तस्वीर आउँछ । सम्झन बाध्य गराउने प्रकृतिको छ । यसलाई हामी पटक–पटक सन्दर्भ बनाउन सक्छौं । अरु आत्महत्याको कुरा आलटाल भए पनि यो अलि कालसम्म चल्छ । चौथो, प्रेम आफैंले घटनालाई यो सिंगो प्रणालीसँग जोडे । उनले आफ्नो आत्महत्यालाई वृहत् संरचनासँग जोडे । त्यसकारणले पनि सबैले सम्झिरहने एउटा कथ्य भयो ।

हाम्रो लोकतन्त्रको खाका ठीक छ, तर हामीले काम गर्न सकेनौं । किन सकेनौं ? हामीजस्ता मानिसहरू ‘डिमान्डिङ’ भएनौं । माग भएपछि आपूर्ति हुने हो, तर हामीले हाम्रो नेतृत्वले हावादारी कुरा गर्दा पनि ओहो, आहा भनेर तारिफ गर्यौं । मिडियाले लेखिदिएपछि तारिफ हुने भइगयो । हामीले प्रश्न नगर्दा नेपाल के हो भनेर बुझ्न नेतृत्वलाई कर लागेन । समस्या पहिचान गर्ने इच्छाशक्ति नै भएन । कुहिरोको कागसरि छन् ।

अहिलेको सत्ता साझेदार दलले ल्याएको न्यूनतम् साझा कार्यक्रम फाल्तु छ, पञ्चवर्षीय योजना जस्तो । यो देशको र सरकारको मूल कुरा के हो भन्ने छैन । मूल कुराबाटै हाँगा हाल्ने हो नि ! प्रस्तावनामा रहेको दुई वाक्यमा १८५ शब्द छ । ८२औं शब्दमा बल्ल एक नम्बरमा हुनुपर्ने संविधान शब्द आउँछ । कर्मचारीको भाषा गोलमटोल । त्यहाँ नेपालीको जाँचमा फेल हुने वाक्यसंरचना छन् । न धार छ न कुनै दिशा । यो धार लिनै नखोजेको हो । जालझेल गराइराख्ने कर्मचारीलाई अगाडि सारिएको हो । यो अरुलाई मात्र होइन, आफैंलाई पनि गरिएको झेल हो । प्रकारान्तरले प्रेमप्रसादको नियति पुनर्उत्पादन गरिरहने कुकर्म हो ।

हामी भोट हाल्ने बेला गम्भीरता देखाउँदैनौं । यो हाम्रो गल्ती हो । भोट हालिसकेपछि निरन्तर प्रश्न गरिरहन पनि हामी चुकेका छौं । घोषणापत्रमा लेखेको कुरा भएन भनेर हामी किन घेराउ गर्दैनौं र यस्तो महंगो चुनावमा यसरी नै सरिक भइरह्यौं भने हाम्रो लोकतन्त्र नै बाँच्दैन । प्रेमप्रसादहरूको गाढा दुःख लगायत अवसानको संभावना बढ्छ । प्रेमप्रसाद महत्वाकांंक्षी भए भन्ने सोच पनि ठाउँठाउँमा पलाएको देखिन्छ ।

मानिस जति महत्वाकांक्षी भयो उति बेस । धेरै बढी महत्वाकांक्षीलाई अलि धेरै आडभरोसा भने चाहिन्छ । उनीहरूलाई सहयोग गर्ने व्यवस्था चाहिन्छ । यसमा पारिवार, स्थानीय तह, संघ वा अरु सामाजिक–सांस्कृतिक संघ–संस्थाहरू होलान् । हरेक बच्चा असीमित सम्भावना बोकेर जन्मन्छ । त्यसलाई बिर्को लगाइदिने हामीले हो । असीमित सम्भावना बोकेको मानिसलाई तँ महत्वाकांक्षी भइस्, तँ यति धेरै अग्लो नहो भन्नु बेठीक हो । त्यस्तो मानिसलाई सघाउने संरचना बनाइराख्नुपर्छ । स्कुल, क्याम्पस, आविष्कार केन्द्र आदि मार्फत पनि त्यस्ता मानिसहरूलाई प्रोत्साहन गरिराख्नुपर्छ ।

मेरो लागि महत्वाकांक्षा समस्याजनक होइन । प्रेमप्रसाद आफैं त्यति सारो महत्वाकांक्षी हुन् जस्तो लाग्दैन । उनले नाजायज, गैरकानुनी काम, हिंसा केही गरेका छैनन् । प्रेमप्रसादका २५ माग सम्बोधन गरे उनीजस्ता केही गर्न चाहनेहरूलाई सजिलो हुन्छ ।

नेपालमा व्यावसायिक श्रेष्ठता हासिल गर्न सक्ने वातावरण बनाउनुपर्छ । स्थानीयदेखि संघीय सरकारसम्मलाई सबै तहबाट व्यवसायिक श्रेष्ठताको बलियो र दिगो माग गर्नुपर्‍यो । यस्तो अभ्यास निरन्तर रूपमा चल्नुपर्छ । मेरो आवाज सुनिन्छ भन्ने विश्वासले नागरिकलाई ठूलो त्राण र आत्मसन्तुष्टि दिन्छ । आम नागरिकलाई सम्मान, समानता दिने र उत्पादनमूलक अवसर बढाउने गर्दा जीवनप्रतिको आशा र विश्वास बढ्छ ।

पडकास्टमा सुन्नुहोस् चैतन्य मिश्रसँगको कुराकानी

लेखक
चैतन्य मिश्र

प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?