+
+
पुस्तक अंश :

घरको शिक्षा : मसिना कुरा नै गहन

दामोदर न्यौपाने  दामोदर न्यौपाने 
२०७९ माघ १८ गते १६:१४

हाम्रो चाहना हो, असल नागरिकको । असल नागरिक बनाउन सानैदेखि महत्वपूर्ण कुरा सिकाउनुपर्छ । महत्वपूर्ण कुरा सिकाएर सानैमा राम्रो मनोवृत्ति निर्माण गर्न सघाएनौं भने परिणाम उल्टो हुन्छ । मान्छेलाई असल बनाउने मुख्य साधन भनेकै संस्कार हो ।

समग्रमा असल बन्ने अभ्यास गर्नु नै संस्कार हो । मान्छे, मान्छे जस्तो बन्ने तत्व नै संस्कार हो । मान्छे परिष्कृत गर्ने प्रक्रिया नै संस्कार हो । शील-स्वभावको शुद्धीकरण गर्नु संस्कार हो । दुर्गुण हटाएर सद्गुण भर्नु नै संस्कार हो । व्यक्तित्व चम्काउनु संस्कार हो । व्यक्तित्व टल्काउनु अनि गुणवान् बनाउनु संस्कार हो । व्यवहार गर्ने तरिका जान्नु नै संस्कार हो । बफादार, कर्तव्यनिष्ठ, सत्यनिष्ठ, इमानदार बन्ने अभ्यास नै संस्कार हो । व्यक्तिलाई मूल्यवान् बनाउँछ संस्कारले । संस्कार मनोवैज्ञानिक प्रशिक्षण हो । यसले व्यक्तिको चरित्रलाई अन्तिम पाइलासम्म साथ दिन्छ । मान्छेको चिन्तनलाई दीर्घ जीवन प्रदान गर्छ ।

असल मान्छे बन्न यति महत्वपूर्ण कुरा धेरैलाई संस्कार शब्द नै गह्रुङ्गो लाग्दै गएको छ अचेल । धेरैलाई भ्रम छ, संस्कार भनेको पुरानो कुरा हो; आधुनिक जमानामा कसले संस्कारको कुरा गरोस् !

तर, संस्कार पुरानो कुरा होइन । परापूर्वकालदेखि चल्दै आएको भने सत्य हो । हामीले शिक्षामा संस्कार छुटाइदिएका छौं । त्यही भएर हामीलाई मान्छे जस्तो बन्न ज्यादै मुस्किल भइराखेको छ । अबको शिक्षा संस्कारयुक्त हुनैपर्छ । संस्कारयुक्त शिक्षा भनेको पनि पुरानो शिक्षा होइन । आधुनिक शिक्षामा नै खोज्न सकिन्छ यो । संस्कारयुक्त शिक्षा भनेको मान्छेलाई मान्छे जस्तो बनाउने शिक्षा हो । विवेकवान् नागरिक बनाउने शिक्षा नै त हो, संस्कारयुक्त शिक्षा ।

संस्कारयुक्त शिक्षा दिन शिक्षामा यी तीन तत्व हुनैपर्छ भन्छ पूर्वीय दर्शनमा आधारित अध्यात्मले- सत्यम्, शिवम्, सुन्दरम् ।

यिनै तीन तत्वमा भेटिन्छन् मान्छेलाई मान्छे जस्तो बनाउने तत्वहरु । यी तीन तत्वसहितको व्यक्तित्व भएको नागरिक उत्पादन गर्न शिक्षामा पनि सत्यम, शिवम्, सुन्दरम हुनुपर्छ । सत्यम् भनेको सत्यकुरा, शिवम् भनेको सेवा र सुन्दरम् भनेको नयाँ तरिकाले काम गर्ने । नयाँ तरिकाले खोज्ने । नयाँ दृष्टिकोण निर्माण गर्ने । आविष्कार गर्ने ।

उत्तर बाल्यावस्थामा उच्च संवेगमा नियन्त्रण भए पनि घरायसी वातावरण राम्रो भएन भने कहिलेकाहीं उदण्ड संवेग देखाउँछन् । उचित लालनपालनको आवश्यकता यहींनेर पर्ने हो । कुशल अभिभावकत्व कला यहीं चाहिने हो ।

के शिक्षामा हामीले यो अभ्यास गरेका छौं ?

सत्यम्, शिवम्, सुन्दरम्ले युक्त भएको व्यक्तित्व निर्माण गर्न शिक्षामा यी तत्वसहित स्कुलले शिक्षा दिनुपर्ने हुन्छ । व्यवहारमा यी तत्वसहित अभिभावकले व्यावहारिक ज्ञान दिनुपर्छ घरमा । तर, स्कुलले शिक्षामा यस्तो प्रयास गरेका छन् ? परिवारले व्यवहार गर्दा यी तत्वमा ख्याल गरिएको छ ?

यी प्रश्नको गहन उत्तर खोजी गर्नुपर्ने हुन्छ ।

हामीले कस्तो वातावरणमा हुर्कायौं हाम्रा बालबालिका ? स्कुलले कस्तो शिक्षा दिए ? अहिलेको हाम्रो समाज सरसर्ती हेर्दा यी प्रश्नको सीधा उत्तर हो- न अभिभावकले राम्रो वातावरणमा हुर्काएका छन्, न स्कुलले राम्रो शिक्षा नै दिएका छन् । केही प्रयास भएका छन् । तर, पर्याप्त छैनन् । शिक्षा कस्तो हुनुपर्थ्यो र हामीले कस्तो शिक्षा दियौं ? बालबालिकालाई कस्तो वातावरणमा हुर्काउनुपर्थ्यो र हामीले कस्तो वातावरणमा हुर्काएका छौं ? यी सवालमा लामो समयदेखि बहस केन्द्रित गरिराखेको छु । यही बालकेन्द्रित अभियानका क्रममा अनेकन् अनुभव सँगाल्ने मौका मिलेको छ ।

प्रारम्भिक बाल्यअवस्था र उत्तर बाल्यअवस्थाको तुलना छ यो पुस्तकमा । प्रारम्भिक बाल्यअवस्थाको मनोविज्ञान समेटर स्कुल बेच्ने बालक लेखेको थिए“ । स्कुल बेच्ने बालक र घरको शिक्षामा साइनो गासिन्छ । स्कुल बेच्ने बालक प्रारम्भिक बाल्यकालको मनोवैज्ञानिक व्यवहारको कहानी र घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ चाहिं उत्तरबाल्यावस्थाको । पात्र उनै हार्दिक । तर, त्यो पुस्तक र यो पुस्तकमा फरक छ । स्कुल बेच्ने बालकमा दुःख दिने हार्दिक अहिले दुःख नदिने हार्दिकमा परिवर्तन भइसकेका छन् । स्कुल बेच्ने बालकका संवाद उखान-टुक्का जस्ता लाग्थे, सबै उल्टा-पाल्टा । तर, अहिलेका संवाद बौद्धिक लाग्छन् । दार्शनिक लाग्छन् । साहित्यिक लाग्छन् ।

पुस्तक पढ्दै जाँदा हार्दिक कतै-कतै त आफैं कथाकार जस्तो लाग्छन् । बिम्ब प्रयोग गर्ने साहित्यकार जस्तो कतै । कतै यो बनाउँछु र त्यो बनाउँछु भनेर कल्पना गर्ने योजनाकार जस्तो । कतै प्रविधिको प्रयोग गरेर कहिले के खोज्ने, कहिले के खोज्ने अनुसन्धानकर्ता जस्तो । संवेगमा आएका परिवर्तनकै कारण दुई किताब फरक बन्न पुगेका छन् । दुवै पुस्तक पढ्यो भने प्रारम्भिक बाल्यकाल र उत्तरबाल्यकालमा कति अन्तर हुँदो रहेछ, प्रस्टै बुझिन्छ ।

अप्रिय संवेग नियन्त्रण

उत्तरबाल्यावस्थामा आइपुगेपछि बालबालिका संवेगमा नियन्त्रण गर्न थाल्छन् । संवेगमा नियन्त्रण गरिरहेको हार्दिकका गतिविधिबाट थाहा पाउँछु । प्रारम्भिक बाल्यकालमा थाहा नपाएरै अनेकौ संवेगमा विकृति देखिन्छन् । उत्तरबाल्यावस्था आएपछि संवेगको विकृति नराम्रो हो भनेर थाहा पाइसक्छन् । डर, क्रोध, दुःख, चिन्ता जस्ता अप्रिय संवेगमा निकै नै नियन्त्रण आइसकेको हुन्छ, उत्तरबाल्यकालमा आएपछि । देखाइहाले पनि निकै कम मात्र देखाउँछन् । यो बेलामा व्यक्त हुने अधिकांश संवेग प्रिय लाग्छन् । अप्रिय संवेग नियन्त्रण हुँदै गई प्रिय संवेग बढी देखिन्छन् । स्कुल बेच्ने बालक र घरको शिक्षा पढेर तुलना गर्ने हो भने यी फरक प्रस्टै देखिन्छन् । उत्तर बाल्यावस्थामा उच्च संवेगमा नियन्त्रण भए पनि घरायसी वातावरण राम्रो भएन भने कहिलेकाहीं उदण्ड संवेग देखाउँछन् । उचित लालनपालनको आवश्यकता यहींनेर पर्ने हो । कुशल अभिभावकत्व कला यहीं चाहिने हो ।

त्यही भएर अन्तर्राष्ट्रिय कानुनले बालबालिका भनेर किटान गरेको अठार वर्षको उमेरसम्म सही अभिभावकत्व प्रदान गर्नुपर्छ । बालविकासका हरेक चरणमा अभिभावकत्व प्रदान गर्ने तरिका फरक हुन्छ । यही फरक तरिका अनुभूति गराउने पुस्तक हो- घरको शिक्षाः संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ ।

धेरैलाई धेरै विषय झिना-मसिना लाग्छन् । यसको कारण हामीले विषयलाई गहिराइबाट नभइ सरसर्ती हेर्ने भएकाले हो । मलाई लाग्छ- साना कुरा महत्वपूर्ण छन् । सानै कुराले हाम्रो जीवनलाई हल्लाइराखेको हुन्छ । सानो भनेर वास्ता गर्दैनौं । तर, जब सानो कुराले गम्भीर परिणाम ल्याउँछ, त्यसले समस्यामा पार्छ अनि मात्रै त्यसको महत्व बुझ्छौं । स-साना कुरामै मान्छेलाई हल्लाइदिने ताकत हुन्छ, सानो तीरले गहिरो घाउ बनाए जस्तै ।

सामान्य लाग्ने विषयलाई गहन गरी हेरियो भने गहन लाग्दै जान्छ । गहन लाग्न त्यसलाई कतै लगेर जोड्न सक्ने सोच हुनुपर्छ । हैसियत हुनुपर्छ । बालबालिकाका क्रियाकलाप धेरैलाई सामान्य लाग्छ । तर, त्यही सामान्य कुरालाई मनोविज्ञानसँग लगेर जोड्यो भने, शिक्षासँग लगेर जोड्न सक्यो भने, सिकाईसँग लगेर जोड्न सकियो भने ज्ञानको स्रोत ठानिन्छ । यसरी जोड्यो भने पाइला पाइलामा ज्ञान छ । जुनसुकै विषयबाट पनि ज्ञान खोज्न सकिन्छ । उदाहरणका लागि घरको गमलामा माहुरी आएर बस्यो । त्यसलाई सामान्य गरी हेर्‍यो भने एउटा सानो जीव हो । त्यो आएर फूलमा बस्यो, सकियो । तर, यसलाई महतिर लगेर जोड्योे भने माहुरी सामान्य माहुरी हैन । महको स्रोत हो । महको फाइदाको हिसाब गरौं । कत्रो व्यवसायको स्रोत हो । महबाट गहिरिएर फेरि त्यही फूलमै जोडौं । फूलमा बस्नु भनेको परागसेचन गर्नु हो । परागसेचन गर्नु भनेको अन्न उत्पादन गर्नु हो । परागसेचन भएन भने के हुन्छ ? अन्न उत्पादनै हुँदैन । अन्न उत्पादन भएन भने के हुन्छ ? मान्छेले खान पाउँदैन । एक तथ्याङ्कअनुसार माहुरी संसारबाट लोप भयो भने त्यसको चार दिनपछि मान्छे पनि संसारबाट लोप हुन्छ । अन्न र फलफूलमा हुने परागसेचनमध्ये असी प्रतिशत माहुरीबाटै हुने तथ्याङ्क छ । जोड्न जान्यो भने माहुरीको ज्ञान त्यहाँसम्म विस्तार गर्न सकिन्छ । कति खोज्न आवश्यक छ, कति खोज्ने रहर छ भन्ने विषयले अर्थ राख्छ । ज्ञान लिने क्षमताले अर्थ राख्छ, नत्र ज्ञान चाहिँ जहाँ पनि छ । जोड्ने कला छ भने पाइला पाइलामा छ सिकाइ ।

बालबालिका साना हुन् । यसर्थ सानाको बारेमा बोल्नु पनि सानै ठान्छौं हामी । सानाको बारेमा लेख्नु पनि सानै ठान्छौं । यही सानामा वास्ता नगरेकै परिणाम बालबालिकाको सिकाइ प्रभावकारी भएको छैन । साना कुरालाई महत्वपूर्ण ठान्न सानामा नसिकेकै कारण हामी ठूलाको जीवन पनि साना कुराको उपेक्षा गरेरै बित्ने गरेको छ । साना कुराको गम्भीर परिणाम आएपछि मात्र डराउँछौं । अनि त्यति बेला साना कुरामा ध्यान नदिएकामा पछुतोबाहेक केही बाँकी रहँदैन । सानो सुइरो भनेर हेप्छौं । सानो तीर भनेर वास्ता गर्दैनौं । तर, सानो सियोमा कुल्चियो भने हड्डीसम्मै पुगेर खोप्छ । सियोले झन् भित्रैसम्म छेड्ने रहेछ भन्ने चाहिँ छेडिसकेपछि मात्र थाहा हुन्छ । बेलायतका प्रसिद्ध दार्शनिक बट्रेड रसेलको भनाइ छ, “स-सानो कुरा अत्यन्त महत्वपूर्ण हुन्छ । यसको उपेक्षा नगर, सधैं यसमा ध्यान देऊ ।”

ज्ञान दुई किसिमका हुन्छन्, सैद्धान्तिक र व्यावहारिक । सैद्धान्तिक ज्ञान कोरा हुन्छ । कोरा ज्ञान धेरै प्रभावकारी हुँदैन । सिद्धान्तलाई व्यवहारमा लग्यो भने मात्र अनुभव प्राप्त गर्न सकिन्छ । अनुभव भएपछि मात्र ज्ञानले सार्थकता लिन्छ । व्यावहारिक ज्ञानमा दक्षता हुन्छ ।

व्यवहार हेर्ने स-साना कुरा हेरेरै हो । हामीले यही साना कुरालाई हेला गर्दा बालबालिकाका कुरा सुनिएका छैनन् । समग्रमा बालबालिका नै केही होइनन् भन्ने मनोविज्ञानले ग्रस्त छौं हामी । तर, बालबालिका सर्वस्व हुन् । राष्ट्रको भोलिको अपेक्षा नै बालबालिकामाथि अडिएको हुन्छ । बालमनोविज्ञान बुझेर व्यवहार गर्दा प्रतिभावान््, पिछडिएका, मन्द बुद्धि भएका र समस्यामा रहेका बालबालिकालाई पनि उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुर्‍याउँछ । उपयुक्त पारिवारिक सल्लाह र परामर्श दिएर सहयोग पुर्‍याउँछ । त्यही भएर बालमनोवैज्ञानिक व्यवहार अहिले विश्वभर बहसमा आएको छ । बालमनोवैज्ञानिक व्यवहार गर्ने भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । ठूलो समस्या हो यो ।

यस्ता समस्या कसरी समाधान गर्ने ? यसको उपाय हो सैद्धान्तिक र व्यावहारिक ज्ञान लिने । ज्ञानको भरपर्दाे स्रोत पुस्तक नै हो । बालमनोविज्ञानका धेरै किताब त पाइन्छन् । तर, विदेशी । त्यो पनि सैद्धान्तिक धेरै, व्यावहारिक कम ।

निश्चित समय लिएर गरिएको अध्ययन हो यो । सात दिनको गतिविधि हो घरको शिक्षा लेख्नाको आधार । गतिविधि मात्र सात दिनको हो, ज्ञान लिने प्रक्रिया त वर्षांैदेखिको हो । हार्दिकलाई मात्रै ६ वर्ष ६ महिना नियालेको छु । व्यवहार अध्ययन गरेको छु । मनोविज्ञान बुझेर व्यवहार पनि गरिरहेको छु । लकडाउनले विश्व नै थला परेका बेला घरभित्र थुनिनुपरेको अवस्थामा बालकलाई सातदिनसम्म गराइएको रचनात्मक क्रियाकलापको आधारमा उसका संवेग अध्ययन गरिएको थियो । त्यही संवेग अध्ययनको अभिलेखिकरण हो यो पुस्तक ।

मिसन असल नागरिक

हामी हाम्रा नानीबाबु असल बनुन्, नैतिकवान् बनुन् भन्ने चाहना राख्छौं । विशेषगरी परिवार र समाजले मन पराउने बानी व्यवहार र क्रियाकलाप देखाउने व्यक्ति नै नैतिकवान् हुन् । झुटो नबोल्ने, भनेको मान्ने, पढाइमा ध्यान दिने, दाजु-भाइ दिदी-बहिनीसँग झगडा नगर्ने, अरुलाई सहयोग गर्ने, सामाजिक मूल्य र मान्यताको कदर गर्ने जस्ता गुण विकास हुँदै गएका छन् । उत्तरबाल्यावस्थामा भने यसलाई नैतिक अभिव्यक्तिको विकास भएको मान्नुपर्छ । सामान्यतया उत्तरबाल्यावस्थामा दौंतरी समूह, सामाजिक अन्तरक्रिया, घरपरिवारले अंगीकार गरेका सामाजिक आचरण र नियम, केटाकेटीले निर्माण गरेका विवेक, परिवारका बालतालिम विधि, बालबालिका रहेको समाजिक परिवेश, समाजका अग्रजको निर्देशनलगायतका पक्षले बालबाबालिकाको नैतिक विकासमा प्रभाव पारेको हुन्छ ।

हामीलाई हाम्रा बालबालिका भोलि गएर सफल मानव बनून् भन्ने चाहना हुन्छ । मानव जीवन सफल हुन निरोगी हुनुपर्छ । तन्दुरूस्त हुनुपर्छ । असल अनि विवेकशील हुनुपर्छ । शिक्षित, सहयोगी, सदाचारी, सद्गुणी, मिहिनेती र भावनात्मक सन्तुलन भएको व्यक्तित्व हुनुपर्छ । यी गुण वंशाणुगत रुपमै पनि आएका हुन सक्लान् । तर, हुर्कने वातावरण राम्रो भएन भने यसरी हुनुपर्ने विकासमा बाधा पुग्न जान्छ । यस्तो बाधा नपारीकन बालबालिकालाई सिक्ने र हुर्कने वातावरण सिर्जना गर्नुपर्छ । सही सिकाइ र सही हुर्काइले नै असल नागरिक तयार पार्न सकिने हो । असल नागरिक उत्पादन गर्न घरैबाट शुरु गर्नु पर्छ भन्ने अभियान हो यो ।

मनोवृत्ति

जन्मपछिको वातावरणले मनस्थिति बन्ने भएकाले यसलाई परिवर्तन गर्न सकिन्छ । तर, पछि परिवर्तन गर्न कठिन हुन्छ । मान्छेको अन्तस्करणमा गहिरो छाप पारेको हुन्छ मनोवृत्तिले । त्यही भएर यो छाप मेटाउन मुस्किल पर्छ । भावनामै प्रहार नगरेसम्म यस्तो छाप मेट्न नसकिने मनोविज्ञ बताउँछन् । उसका धारणा, विश्वास, भावना गलत हुन् भनेर बारम्बार प्रहार गरेपछि मात्र मनस्थिति परिवर्तन हुने भएकाले यसलाई जटिल प्रक्रिया मानिन्छ ।

त्यही भएर कस्तो छाप पार्ने ? कस्तो व्यक्तित्व निर्माण गर्ने ? यसका लागि हुर्काइमै ध्यान दिनुपर्छ । सिकाइमै ध्यान दिनुपर्छ । असल व्यक्तित्वका लागि असल शिक्षा, राम्रो संस्कार, भयरहित वातावरणमा हुर्कने अवसर दिनुपर्छ । यही अवसर दिनुपर्छ भन्ने अर्काे एउटा अभियान हो- घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ ।

पुस्तक लेखनको क्षेत्रमा यी नयाँ प्रयोग हुन् मेरा । समाजका लागि भनेर गरिएका नयाँ प्रयोगमा आउने क्रिया-प्रतिक्रियाबाट हरिदासले भने जस्तै किन दुःखी हुनु ? मेरो लेखन नै उद्देश्यमूलक लेखन हो । उद्देश्यमूलक लेखन भएकाले कस्तो लेखें ? यो नहेर्नुस् । कसरी लेखें ? कुन शैलीले लेखें ? यो पनि नहेर्नुस् । किन लेखें ? यो हेर्नुस् !

घरमा कस्तो संस्कार दिएर हुर्काउने भनेर केही सूत्र दिन लेखें । संस्कारयुक्त नागरिक तयार गर्नुपर्छ भनेर अभियान चलाउन लेखें । असल संस्कार दिन पहिलो सर्त हिंसारहित वातावरणमा हुर्काउनु हो । बालमैत्री व्यवहारमा हुर्काउनु हो । असल नागरिक तयार गर्न बालबालिकालाई बालमैत्री व्यवहारमा हुर्काऊँ भनेर झकझकाउन लेखें । बालमैत्री व्यवहार गर्ने असङ्ख्य अभिभावक हुनुहुन्छ, जो चाहेर पनि संस्कारयुक्त वातावरणमा हुर्काउन सक्नुभएको छैन । उहाँहरुलाई सजिलो होस्, प्रेरणा मिलोस्- अनुभव सुनाउनु, ज्ञान बाँड्नुको मुख्य उद्देश्य नै यही हो । यही अर्थमा बुझ्यौं भने खास गरी छोराछोरी हुर्काउँदै गरेका, पढाउँदै गरेकाहरुका लागि ज्ञानको स्रोत हुन्छ यो पुस्तक ।

ज्ञान दुई किसिमका हुन्छन्, सैद्धान्तिक र व्यावहारिक । सैद्धान्तिक ज्ञान कोरा हुन्छ । कोरा ज्ञान धेरै प्रभावकारी हुँदैन । सिद्धान्तलाई व्यवहारमा लग्यो भने मात्र अनुभव प्राप्त गर्न सकिन्छ । अनुभव भएपछि मात्र ज्ञानले सार्थकता लिन्छ । व्यावहारिक ज्ञानमा दक्षता हुन्छ । यस्तो ज्ञान सदा गतिशील हुन्छ । वैज्ञानिक हुन्छ । व्यवहार भनेको विज्ञान हो । ज्ञानलाई विज्ञानसँग जोड्न सकियो भने मात्र त्यो ज्ञान सार्थक हुन्छ । त्यही सैद्धान्तिक ज्ञान, त्यही ज्ञानको आधारमा मैले बनाएको दशर्नलाई व्यवहारको कसीमा परीक्षण गर्ने अर्काे जमर्काे हो घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ ।

(पत्रकार न्यौपानेको यही साता बजारमा आएको पुस्तक ‘घरको शिक्षा : संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’को अंश)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?