+
+

बदलिएको नियति : अहिले ओली धाउँछन् बालुवाटार

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ माघ १८ गते २०:४१

१८ माघ, काठमाडौं । ‘बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुकी बालुवाटार, म त वाक्क भइसकेको थिएँ । जति पेले पनि तेल त आउने होइन’ तत्कालीन प्रधानमन्त्रीसँग भएको निरन्तर भेटवार्ताबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलाबेला गुनासो गर्थे ।

त्यसबेला ओली प्रधानमन्त्री र प्रचण्ड तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष थिए । पार्टीभित्र देखिने मतभेद र सरकारको कामकारबाहीबारे ओलीसँग कुराकानी गर्न प्रचण्डले बालुवाटार धाउनु नित्यकर्म जस्तै बनेको थियो ।

कतिसम्म भने ओलीलाई भेट्न एकै दिन प्रचण्ड तीन पटकसम्म बालुवाटार पुगेका थिए । तर प्रचण्डको त्यो बालुवाटार दौडधुपबाट तत्कालीन नेकपाको एकता जोगिन सकेन । २०७४ को आमचुनावमा तालमेल अनि ३ जेठ २०७५ मा एकता भएको एमाले र माओवादी केन्द्र फेरि अलग–अलग हुन पुगे ।

नेकपाको एकता जोगिन नसक्नुमा ओली भर्सेस प्रचण्ड–माधवकुमार नेपाल बीचको मतभेद बढ्नु थियो । मतभेद मिलाउनै भनेर बिहान, दिउँसो र साँझ प्रचण्ड बालुवाटार पुग्ने गर्थे ।

तर ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनसँगै प्रचण्डको बालुवाटार यात्रा टुंगिएको थियो । यसपछिको दुई वर्ष एकअर्कालाई सिध्याउने भनेर मोर्चाबन्दी गरेका प्रचण्ड र ओलीले गत १० पुसमा फेरि सहकार्यको हात बढाए । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए ।

अहिले त्यही, नेकपाकालीन ओली–प्रचण्डबीच बालुवाटार भेटवार्ताको नियति दोहोरिएको छ, तर फरक शैलीमा । पहिले ओली प्रधानमन्त्री थिए, प्रचण्ड बालुवाटार धाउँथे । अहिले प्रचण्ड प्रधानमन्त्री छन्, बालुवाटार पुग्नु ओलीको दैनिकी जस्तो देखिन्छ ।

बुधबार मात्रै पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका छन् । ११ पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भए यता मात्रै ओली, १५ पटक बालुवाटार पुगिसके । ९ वटा भेट त दुई नेताबीच ‘वान अन वान’ भयो ।

यसबाहेकको भेटवार्ता सत्तारुढ दलका शीर्ष नेताहरुसहित भएको छ । निरन्तर भेटवार्ता चलिरहे पनि राजनीति भने १० पुसमा जुटेको सहमति भन्दा थप कसिलो बन्न सकेको छैन ।

त्यो दिन प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने र सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो । प्रचण्ड त्यही दिन प्रधानमन्त्री भए भने ५ माघमा एमालेका देवराज घिमिरे सभामुख भए । प्रदेशका मुख्यमन्त्री बाँडफाँट भयो, त्यसअनुसार सरकार बन्यो ।

तर टुंगिसकेको राष्ट्रपतिका विषयलाई लिएर एकअर्कामा आशंका बढेको छ । माओवादी केन्द्रले स्थायी कमिटीबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले सशंकित छ । बुधबार भएको भेटवार्ताले पनि राष्ट्रपतिलाई लिएर देखिएको मतभेद अन्त्य गर्न नसकेको नेताहरु बताउँछन् ।

कहिल्यै भएन मन माझामाझ

माओवादी शान्ति प्रक्रियामा आएपछिका करिब १८ वर्षलाई हर्ने हो भने ओली र प्रचण्ड मिल्दा असाध्यै मिल्छन्, विवाद भयो भने उत्कर्षमा पुग्छन् । समग्रतामा, उनीहरुबीच मिलनभन्दा कटुताको सम्बन्ध लामो छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछिको धेरै लामो समयसम्म ओली कटु आलोचक देखिए । माओवादी आलोचक भएरै राष्ट्रिय राजनीतिमा बलियो परिचय बनाएका ओली २०७१ असारपछि एमालेकै नेतृत्वमा आए ।

ओली एमाले नेतृत्वमा रहँदा ३ असोज २०७२ संविधान जारी भयो, यसपछि प्रचण्डसँग सहकार्य गरे । प्रचण्डको समर्थनमा ओली २४ असोज २०७२ मा प्रधानमन्त्री बने ।

तर त्यो सहकार्य लामो समय टिक्न सकेन । सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण नगरेको भन्दै प्रचण्डले समर्थन फिर्ता लिए र कांग्रेससँग गठबन्धन गरेर आफू प्रधानमन्त्री बने । त्यसपछि झण्डै दुई वर्ष ओली–प्रचण्डबीच सार्वजनिक रुपमै एकअर्काविरुद्ध उत्रिए ।

२०७४ असोजमा एकाएक दुई नेताबीच मिलन भयो । वाम गठबन्धन बनाएर चुनावमा जाने र पार्टी एकता गर्ने सहमति गरे । गठबन्धनले बहुमत ल्याएपछि ३ फागुन २०७४ मा ओली प्रधानमन्त्री बने । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा दुवै नेता अध्यक्ष भए ।

सुरुको केही समय एकाअर्कामा विलय भएझैं गरेका ओली र प्रचण्डबीच फेरि विवाद सुरु भयो, आलोपालो प्रधानमन्त्रीलाई लिएर । ओली ५ वर्ष प्रधानमन्त्री हुने र प्रचण्डले पार्टीमा कार्यकारी भूमिका निभाउने सहमति गर्दा पनि नेकपाको एकता जोगिएन ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै ओली र प्रचण्ड अलग भए । २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेपछि एमाले र माओवादी ब्यूँतियो । ७ जेठ २०७८ को मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि प्रचण्डले नेपाली कांग्रेससँग गठबन्धन गरेर एमाले अध्यक्ष ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याए ।

त्यसयताका दुई वर्ष दुई नेताले एकअर्कालाई कमजोर बनाउन सकेको सबथोक गरे । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धनमा रहेर चुनाव लड्यो भने एमालेले जनता समाजवादी पार्टी (जसपा) र राप्रपासँग तालमेल गर्‍यो । दुवै गठबन्धनको बहुमत आएन ।

कांग्रेस नेतृत्वको गठबन्धन बहुमत नजिक थियो, तर सहमति अनुसार आफूलाई पहिलो खेपमा प्रधानमन्त्री बनाउन कांग्रेस सभापति देउवा तयार नभएपछि दुवै फेरि मिले । प्रचण्डलाई प्रधानमन्त्री हुनुथियो, एमालेलाई कांग्रेस नेतृत्वको गठबन्धन भत्काउनुथियो । दुवैको स्वार्थ मिल्यो ।

तर सहकार्य सुरु भएको महिना दिन वित्दा नबित्दै खटपट सुरु भइसकेको छ । ‘केपी ओली र प्रचण्डबीच जति मन माझामाझ हुनुपर्ने हो, त्यो हुन पाएको छैन’ माओवादी केन्द्रका एक नेता भन्छन्, ‘त्यो नभएसम्म एकअर्कामा आशंका र अविश्वास कायम रहनु अस्वाभाविक होइन ।’

नेताहरुका अनुसार, माओवादीमा एमालेलाई लिएर असुरक्षाको भावना छ भने एमालेमा माओवादीप्रति अविश्वाससँगै अलिअलि अस्वीकार्यता पनि छ । यसलाई कम गर्न नेता कार्यकर्ता मात्र होइन, मूल नेतृत्व ओली र प्रचण्डबीच राम्ररी मन माझामाझ हुन जरुरी छ ।

त्यसो भएमा वाम सहकार्य हुँदै फेरि एकतासम्म जाने सम्भावना रहेको एमाले र माओवादी केन्द्रका नेताहरु बताउँछन् । ‘तर अहिले पनि दुवैले वामपन्थीहरु एकठाउँमा ल्याउने दीर्घकालीन राजनीतिभन्दा एकअर्कालाई उपयोग गर्ने बाटो हिंड्न खोजेको देखिन्छ’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्य भन्छन् ।

यद्यपि राष्ट्रपति निर्वाचनसम्म पुग्दा ओली र प्रचण्डबीच विनविन सहमति जुट्ने सम्भावना छैन भन्ने हतार हुने नेताहरु बताउँछन् । एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा आफ्नो विश्वास पात्रको साटो आफूले पनि विश्वास गर्न सक्ने र वामपन्थी आन्दोलनको विरासत पनि बोकेको व्यक्तिलाई अघि सार्ने हो भने प्रचण्डले कांग्रेस उम्मेदवारलाई भोट दिने निर्णय गराउन नसक्ने माओवादीका नेताहरु बताउँछन् ।

किनकि सभामुख एमाले र राष्ट्रपति कांग्रेसको हुँदा प्रधानमन्त्री सबभन्दा बढी असुरक्षित हुनेछन् । माओवादीका एक नेता भन्छन्, ‘रामचन्द्र पौडेल वा कृष्ण सिटौलालाई राष्ट्रपति बनाउँदा माओवादीलाई ठूलो गेन हुँदैन । बरु केन्द्रदेखि प्रदेश सबैतिर राजनीति थप गिजोलिनेछ ।’

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?