+
+

‘पासपोर्टको अड्डाले कसले भनेको सुन्छ ?’ (भिडियो)

प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सेवा प्रवाह सुधार्न निर्देशन दिए पनि एक महिनाको अवधिमा कुनै सुधार भएको छैन, जनताले उस्तै सास्ती भोगिरहेका छन् ।

नविन ढुंगाना नविन ढुंगाना
२०७९ माघ १९ गते २०:०५

१९ माघ, काठमाडौं । सोमबार दिउँसो २ बजे गल्छी-४, धादिङका रामशरण परियार त्रिपुरेश्वरस्थित राहदानी विभागको भुइँतलामा लाइनमा उभिएका थिए ।

अंग्रेजी अल्फबेट ‘आर’ बाट नाम आउनेहरुको लामो लाइन बेसमेन्ट पार्किङको भित्रसम्म पुगेको थियो । त्यो दिन बिहान १० बजे विभाग आइपुगेका रामशरणलाई साउदी अरबको कम्पनीले छिटै रोजगारीका लागि आउनू भनेपछि उनले १२ हजार रुपैयाँ तिरेर पासपोर्ट बनाउन खोजेका थिए । भन्छन्, ‘मलाई आज पासपोर्ट लिन बोलाइएको हो, गेट बाहिर दुई घण्टा जति लाइनमा बसें । फेरी भित्र लाइनमा बसेको एक घण्टा भयो ।’

परियारसँगै लाइनमा थिए पाल्पाका श्रीराम अधिकारी । श्रीराम पासपोर्ट बनाउन पाल्पाबाट काठमाडौं आएको दुई साता भयो । ‘आज छैठौं पटक लाइनमा बसेको छु । पासपोर्टको र्फम भर्न साइबरमा लाइन, र्फम रुजु गर्न, पैसा बुझाउन र बायोमेटि्रक गर्न लाइन । लाइन नै लाइनमा जिन्दगी जाने भो,’ अधिकारीले भने, ‘विदेश जाने कागज बनाउन जनतालाई यत्रो सास्ती किन होला ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले ११ पुसमा बसेको पहलो बैठकले पासपोर्ट, लाइसेन्स मात्र होइन, अस्पताल, मालपोत, कर तथा दस्तुर बुझाउने जस्ता सेवा प्रवाह गर्ने कार्यालयमा लाइन लाग्नु नपर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले १९ पुसमा सचिवहरुको बैठक राखेर एक महिनाभित्र लाइन बस्नु नपर्ने व्यवस्था गर्न निर्देशन दिएका थिए । अन्यथा जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने उनको चेतावनी थियो ।

तर सेवामा सुधारको साटो अवरोध आयो । सर्भरमा समस्या आएको भन्दै विभागले केही दिन राहदानी वितरण नै रोक्यो । २० पुसमा प्रधानमन्त्री कार्यालयको सूचना तथा प्रविधि टोली अनुगमनमा गयो भने भोलिपल्ट राहदानीको सफ्टवेर प्रदायक आइडिमिया कम्पनीले समस्या समाधानका लागि प्राविधिक नेपाल पठाएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको थियो । पाँच दिन २४ पुसमा अवरुद्ध सेवा पुनः सुचारु भएको भनिएको छ । तर सास्ती कम भएको छैन ।

नयाँ पासपोर्ट लिन राहदानी विभाग पुगेका मोरङका रमेश प्रसाईंले बिहान ७ बजेदेखि लाइनमा बसेको सुनाए मध्याह्न ३ बजेसम्म पनि पालो नपाएका उनले आक्रोश पोखे, ‘प्रधानमन्त्रीले निर्देशन दिएका छन् रे ! सुधार्नुपर्नेले आदेश पालना गरेन । पासपोर्टको अड्डाले कसले भनेको सुन्छ ?’

मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले एक महिनाअघि प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयनको अवस्थाबारे ताकेता भइरहेको बताएको छ ।

कार्यालयका प्रवक्ता महादेव पन्थ सेवाग्राहीले समस्या भोगेका कार्यालयमा निरन्तर निगरानी र ताकेता भइरहेको बताउँछन् । ‘तत्काल गर्न सकिने काम शुरु भएका छन् । कतिपय काम गर्न योजना बनाउनुपर्छ त्यसको पहल भइरहेको छ’ उनले भने, ‘सम्बन्धित महाशाखाबाट त्यसको अनुगमन पनि भइरहेको छ ।’

अधिकारीहरुका अनुसार राहदानी विभागमा सेवा सुधारका लागि अध्ययन गरिरहेको टोलीले सेवालाई दुई सिफ्टमा विस्तार गर्नुपर्ने भनी प्रधानमन्त्री दाहाललाई बि्रफिङ गरेको थियो । अहिलेको दैनिक अधिकतम ३ हजार जनालाई पासपोर्ट दिन सकिने प्रणाली रहेकोमा ६ बजे बेलुकीसम्म कार्यालय खोल्नुपर्ने भनी टोलीले सुझाव दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?