News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाको रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले आजदेखि दुई सिफ्टमा सेवा सञ्चालन गरेको छ।
- विभागले १४ साउनदेखि १८ साउनसम्म बिहान ७ देखि बेलुकी ९ बजेसम्म सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ।
- सार्वजनिक बिदाका दिनसमेत विभागले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्ने निर्णय गरेको छ।
१४ साउन, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरूको लामो लाइन लागेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट लिनेको भिड लागेको हो । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरू बढी देखिन्छन् ।
दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले आजदेखि विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिरहेको छ।
विभागले बुधबार सूचना जारी गरी २२ साउनसम्म सेवा दुई सिफ्टमा सेवा सञ्चालन गर्ने जनाएको थियो ।
पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागका अनुसार १४ साउनदेखि २२ साउनसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट भने दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिनेछ।
त्यसैगरी, शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ। सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागको सूचनामा उल्लेख छ।
ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चापसमेत बढेको हो। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक सातादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ।
सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्दै समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालनको व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया 4