+
+

वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिको तथ्यांक राख्न उद्योगी व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:१६

१९ माघ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने बताएका छन् ।

वीरगञ्जमा शान्ति सुव्यवस्था कायम राख्न बाहिरबाट आएका व्यक्तिहरुको विवरण राख्नुपर्ने उनीहरुको भनाइ छ ।

वीरगञ्जमा बारा, पर्सा, रौतहट, सर्लाही लगायतका नेपालका विभिन्न स्थानसँगै भारतका कति मानिस छन ? कुन जिल्लाका बढी बसेका छन् ? किन बसिरहेका छन ? भन्ने तथ्याङ्क सुरक्षा निकायसँग हुनुपर्ने उनीहरुको धारणा छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा उद्योगी व्यवसायीहरुले त्यस्तो बताएका हुन् । पर्सामा हालै आउनुभएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले पहिलोपटक भेटघाट गरेका थिए ।

आर्थिक क्रियाकलाप बढी हुने र भारतसँगको खुल्ला सीमाका कारण आपराधिक गतिविधि बढी हुने गरेकोले त्यसै अनुसार सुरक्षाको प्रबन्ध गर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले वीरगञ्जका कतिपय होटलहरु अपराधको अड्डा बनेको समेत बताए । बाहिरबाट आएर होटलमा बस्ने र अस्थायी बसोबास नै वीरगञ्जमा गर्ने व्यक्तिहरुको बारेमा सुरक्षा निकायले जानकारी राख्नुपर्ने माग आफूहरुको रहेको उनले बताए ।

‘होटलमा आएर बस्ने र डेरामा बस्ने गरेर दुई खालका बाहिरी व्यक्ति बसेका हुन्छन् । होटलमा बस्दा आईडी पेस गर्नुपर्छ तर त्यो नियमित छैन । क्राइमको अड्डा बनिरहेको छ’, उनले भने, ‘अर्को बहालमा आएर बसिरहेको हुन्छ कुनै दुर्घटना भयो भने कहाँको मान्छे ? के गर्न बसेको ? केहि थाहा हुन्न ।’ उनले भने ‘ धेरै अन वान्टेड मानिसहरु आएर बसिराखेका हुन्छन् । प्रहरी प्रशासनसँग डाटाबेस भयो भने सहज हुन्छ । यो हाम्रो धेरै पुरानो माग हो । शान्ति सुरक्षा कायम राख्न सघाउँछ ।’

एउटा घरमा घरको दुई जना मानिस छ भने बाहिरको मान्छे १० जना बस्ने गरेको बताउँदै उनले घर भाडामा दिने व्यक्तिले कस्तो मान्छे बसेको छ ? उसले के गर्छ ? जस्ता रेकर्ड राख्नुपर्ने बताए ।

त्यसैगरि शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा बस्नुपर्ने, सिसिटिभी परियोजनालाई व्यवस्थित गर्नुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले राखेका छन् । अध्यक्ष गुप्ताले संघको ऐतिहासिक पृष्ठभूमि, वीरगञ्जको आर्थिक महत्व तथा यहाँ विद्यमान संभावनाका साथै उद्योग व्यापार क्षेत्रमा देखिएको वर्तमान चुनौती र उद्योगी व्यवसायीले भोगिरहेका समस्याका बारेमा प्रकाश पारेका थिए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले पर्सामा शान्ति सुव्यवस्था तथा अमनचयन कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकारी कार्यालय मार्फत हुने सेवामा सुशासन कायम गर्ने, सिमावर्ती क्षेत्रमा हुने गैरकानूनी आर्थिक गतिविधिको नियन्त्रण गर्ने, विकास निर्माणको क्षेत्रमा भइरहेको ढिलासुस्ती अन्त्य गरेर विकास निर्माणको काम तिव्र गतिमा अघि बढाउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?