+
+

तीन फोन, जसले रास्वपालाई डिलमा रोकिदिए

रास्वपाले सरकार छाड्ने कि नछाड्ने भन्ने निर्णय लिन बोलाएको बैठकका क्रममा सभापति रवि लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोन गरेका थिए । त्यही फोनपछि रास्वपाले प्रधानमन्त्रीलाई २ दिन समय दिने निर्णय गर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते २१:१५

१९ माघ, काठमाडौं । एकातिर पार्टी सभापति रवि लामिछानेको अभिमन्यु नबन्ने, मौनता तोड्ने घोषणा, अर्कातिर सांसदहरुका फरक–फरक विचार । राष्ट्रिय स्वतन्त्र पार्टी दोधारै दोधारमा सरकार छाड्ने डिलमा उभिएको थियो ।

बिहीबार अपरान्ह रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको थियो । पहिले एमाले अध्यक्ष केपी ओलीले फोन गरे । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओलीले रविलाई केही बेर आफ्नै शैलीमा सम्झाए । ‘गृहमन्त्रीको पहिलो हक तपाईंहरुकै हो । मैले प्रचण्डजीलाई क्लियर भन्दिएको छु । उहाँले तपाईंलाई एकछिनमा फोन पनि गर्नुहोला । दुई दिन पर्खनुहोस्,’ ओलीले आफूसँग गरेको टेलिफोन उधृत गर्दै रविले बैठकमा सुनाए ।

ओलीको फोनवार्ता सकिएको केहीबेरमै रविलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि फोन गरे । रविले उनीसँग छोटो कुराकानी मात्रै गरेका थिए । प्रचण्डले सरकार छाड्ने निर्णय गर्दा राष्ट्रिय राजनीतिमै अस्थिरता आउन सक्ने भन्दै त्यसो नगर्न सम्झाएका थिए । रविले उनलाई बैठकबाटै भनेका थिए, ‘सहमतिको पालना भयो भने हामी कहीँ जाँदैनौं । तर गृहमन्त्री छाड्दैनौं ।’

त्यसपछि बैठकमा रास्वपाका सांसद, मन्त्रीहरु र केन्द्रीय सदस्यहरुले धारणा राखे । ठूला शक्तिहरुको चलखेल र तिकडम तोड्न नेतृत्वले नसकेको भन्दै उनीहरुले सचेत हुन आग्रह गरे । एक सांसदले भने, ‘पार्टी नेतृत्वले हामीलाई अपारदर्शितामा राख्दा पनि गल्ती भएको छ । त्यसको समीक्षा किन हुँदैन ?’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रविलाई टेलिफोन गर्दै आवेगमा कुनै गल्ती नगर्न सम्झाएका थिए । उनले राष्ट्रपति चुनावसम्मको सम्भावित परिदृश्य पनि सुनाउँदै रविलाई कुनै पद विशेषलाई लिएर छलफल गर्दा नागरिकमा गलत सन्देश जाने बताए ।

बैठकमा संयमित भाषामा बोलेका सभापति रविले आफूलाई आएका तीन फोनहरुको बारेमा सबिस्तार चर्चा गरेका थिए । उनले सहभागी नेताहरुलाई दुई दिन पर्खनु उचित हुने बताए ।

पार्टीका एक नेताका अनुसार रवि र ओलीबीच छुट्टै भेटको योजना छ । आजै दिउँसो ओलीले विराटनगरमा गएर गृहमन्त्रालय रास्वपाले नै पाउनुपर्ने अडान सार्वजनिक गरेका थिए । प्रचण्ड भने नागरिकता मुद्दाको पूर्णपाठ र राहदानी लगायत प्रकरण बाँकी नै रहेकाले अहिले रास्वपालाई उक्त पद दिँदा गलत सन्देश जाने बुझाइमा छन् ।

सर्वोच्च अदालतले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला गरेपछि रविले सांसद र गृहमन्त्री पद खारेज भएको थियो । त्यसको दुई दिनपछि नागरिकता लिएका उनले गृहमन्त्री पदमा फेरि फर्किन प्रयास गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?