+
+

पत्रकार महासंघले भन्यो : रवि लामिछानेको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय

रविले दिएको अभिव्यक्ति खेदजन्य : प्रेस युनियन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २०:३२

२२ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएएको बताएको छ ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका थिए । रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै महासंघले विरोध जनाएको हो ।

सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको महांसंघको भनाइ छ ।

महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै लामिछानेले नाम लिएर सार्वजनिक धम्की दिँदा सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने बताएका छन् । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासंघ प्रष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले आफ्नो धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ ।

यस्तै नेपाल प्रेस युनियनले पनि रास्वपाका सभापति रवि लामिछानेले दिएको अभिव्‍यक्तिप्रति आपत्ति जनाएको छ ।

युनियनले विज्ञप्तिमा भनिएको छ, ‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् ।’

आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युुनियनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?