+
+

ईयू आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि नेपाल आउँदै

दिपेश शाही दिपेश शाही
२०७९ माघ २२ गते २१:३१

२२ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन् । ईयूको काठमाडौंस्थित दूतावासका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्न आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो ।

आयुक्त उर्पिलेनेनले भ्रमणका क्रममा नेपाली नेताहरुसँग भेटघाट गर्ने र ईयूका विभिन्न कार्यहरूको सुरुआत गर्ने जनाइएको छ । काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

दूतावासले आयुक्त उर्पिलेनेनको भनाइ उल्लेख गर्दै ईयु र नेपालको साझेदारीलाई सृदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा छलफल हुने जनाएको छ ।

‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु,’ ईयको दूतावासले जारी गरेको विज्ञप्तिमा उनले भनेकी छन्, ‘रुसले युक्रेनविरुद्ध गरेको आक्रामक युद्धले नेपाललगायत विश्वको खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ । म त्यसका लागि ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्ने छु । ईयू प्रविधि, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित सम्बन्ध विस्तार गर्न र विश्वभरका स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ बनाउनका लागि साझेदारी गर्न सकारात्मक प्रस्ताव अगाडि सार्न चाहन्छ ।’

नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट स्तारोन्नति हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको भन्दै ईयूले सन् २०२१ देखि २०२७ सम्म नेपाललाई बहुवर्षीय इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको स्मरण गरेको छ ।

साथै, नेपाल सरकारको अनुरोधमा एमआईपीमार्फत ईयूले कोभिड–१९ महामारीको प्रभाव नियन्त्रण गर्न र नेपालको हरित, रिजिलेन्ट र समावेशी विकास (ग्रिड) प्रयासमा योगदान दिने उल्लेख छ ।

ईयूको अनुसार आयुक्त उर्पिलाइनेनको भ्रमणको प्राथमिकतामा हरित अर्थतन्त्र, हरित रोजगारी र दिगो वृद्धि हासिल गर्न स्थानीय स्तरमा भएका प्रयासहरूलाई समर्थन गर्न समावेशी हरित वृद्धि गर्ने रहेको छ ।त्यस्तै क्षेत्रीय असमानता र मानव विकास सूचकांकहरूमा पर्याप्त ध्यान दिँदै, विशेष गरी शिक्षा र पोषणको क्षेत्रमा जलवायु–उत्थानशील विकासका लागि सरकारी प्राथमिकताहरूसँग मेल खाने क्षेत्रहरूमा मानव पूँजी विकास गर्ने विषयलाई समेत उनको भ्रमणको प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।

ईयू र यसका सदस्य राष्ट्रहरू नेपालमा सुशासन, द्वन्द्वबाट शान्तिमा लोकतान्त्रिक संक्रमण, संस्था र नागरिक समाजका दीर्घकालीन समर्थकहरू छन् भन्न सन्देश दिनुलाई भ्रमणको अर्को प्राथमिकता बनाइएको ईयू दूतावास काठमाडौंले जनाएको छ ।

भ्रमणका क्रममा उर्पिलाइनेनले परोपकार प्रसूति तथा महिला अस्पतालमा रहेको ह्युमन मिल्क बैंकको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसँग ईयू, जर्मनी र युनिसेफको सहयोगमा सञ्चालित सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रममा ईयूको प्रतिवद्धता नवीकरण गर्ने जनाइएको छ ।

त्यस्तै शिक्षा मन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५ करोड यूरो सहयोग उपलब्ध गराउने कार्यक्रमसमेत रहेको छ । यसले किशोरकिशोरीकालागि शिक्षामा पहुँच बढाउन र नेपालमा शिक्षाको गुणस्तर बढाउनका लागि सहयोग पुग्ने ईयूले जनाएको छ ।

अर्पिलेनेनले नागरिक समाज, विभिन्न संघसंस्था, व्यापारी समुदायका सदस्य, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनले ईयूको ‘युथ साउन्डिङ बोर्ड’ का सदस्यहरूसँग पनि भेट गर्ने जनाइएको छ ।

साथै, भ्रमणका क्रममा ईयूका सदस्य राष्ट्रका राजदूतहरू (फ्रान्स, फिनल्याण्ड र जर्मनी), सरकारी प्रतिनिधिहरू, विकास साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिहरूसँग टिम यूरोप इनिसिएटिभ अन ग्रीन रिकभरी सुरु गर्ने ईयू दूतावासले जनाएको छ ।

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

प्रचण्ड नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?