+
+
ब्लग :

कानुन व्यवसायी जीवन बीमा कहिले सुरु गर्ने ?

नेपाल बार एशोसिएसनले संस्थागत रूपमा कानुन व्यवसायीहरूको पेशागत हकहितका क्षेत्रमा मात्र नभएर उनीहरूको वृत्ति–विकास, स्वास्थ्य, रोग, उपचारमा पनि चासो राख्नुपर्छ । सामाजिक सञ्जालमा कर्मकाण्डी स्वास्थ्य लाभ र समवेदना व्यक्त गरेर मात्र आफ्ना सदस्यप्रतिको ‘नेबाए’को जिम्मेवारी सकिंदैन ।

सविता विमली सविता विमली
२०७९ माघ २३ गते १२:०२

माघको पहिलो हप्ता उच्च अदालत बार एशोसिएसन पोखराका कोषाध्यक्ष अधिवक्ता दीपेन्द्र अर्यालको ३६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भयो । अधिवक्ता अनिता भण्डारी तिमिल्सिनाको दुवै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपणका लागि भारत लगिएकोमा थप चेकजाँचका क्रममा कलेजोमा समेत समस्या देखिएको छ ।

कलेजोको कारण मिर्गौला ड्यामेज भएको र कलेजोको उपचार नगरी मिर्गौला मात्र प्रत्यारोपण गरेमा फेरि मिर्गौलाले काम नगर्ने उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । एकैसाथ दुवैको प्रत्यारोपण संभव भए पनि मिर्गौलाको मात्र उपचारका लागि जेनतेन जुटाएको रकम कलेजो समेत प्रत्यारोपण गर्नुपर्ने भएपछि उपचारमा थप अन्योल सिर्जना भएको छ । दुई महिनाकी दूधे बालिकाकी आमा अधिवक्ता भण्डारीले थप उपचार रकमका लागि सहयोग मागेकी छन् । आमा अनिताभित्रको मातृत्वको छट्पटीले नदुख्ने को होला ?

२०१३ सालबाट संगठित भएका कानुन व्यवसायीहरूको संख्या हालसम्म १९ हजार ९३३ पुगेको छ । नेपाल कानुन व्यवसायी परिषद्मा नवीकरण भई अद्यावधिक कानुन व्यवसायीहरूको संख्या हाल ११ हजार २८१ रहेको छ । कति कानुन व्यवसायीहरूको मृत्यु भयो भन्ने यकिन तथ्यांक परिषद्सँग नै छैन ।

कानुन व्यवसायी अधिवक्ता तहको ३०औं परीक्षामा करिब २ हजार २०० परीक्षार्थी सहभागी भएकोमा ९०५ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् भने यस परीक्षाको अन्तर्वार्ता भइसके पनि नतिजा प्रकाशन हुन बाँकी छ । र, यो संख्या थपिंदो छ ।

कोभिडका कारण कति कानुन व्यवसायीको मृत्यु भयो ? कति पेशाबाट पलायन भए ? नेपाल बार एशोसिएसनसँग त्यसको तथ्यांक छैन । नेपाल बार एशोसिएसन तथा एकाइ बारहरूले मृत्यु भएका कानुन व्यवसायीहरूलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिने भन्दा अर्को केही गरेको देखिएन ।

हाल अशक्त, कमजोर र असाध्य रोगले ग्रसित के–कति कानुन व्यवसायी छन् भन्ने तथ्यांक नेपाल बार एशोसिएसनसँग छैन । नियमित कानुन व्यवसाय गरेका सरकारी कर्मचारी, निजी क्षेत्रमा काम गर्ने, राजनीति लगायतका कर्ममा रहेका व्यक्तिहरू समेतलाई भोट बैंकका रूपमा जोगाउँदै आएको परिषद् र नेपाल बार एशोसिएसनले तिनै मतदाताहरू रोग र अभावमा छट्पटाउँदै गर्दा के–कति सहयोग गर्न सकेको छ ? यो जिज्ञासामा नेपाल बार एशोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले आफ्नै सक्रियतामा कोभिडको समयमा २०७७ को जेठबाट कानुन व्यवसायी राहत कोषको स्थापना गरिएको बताए । यसमा करिब २०० कानुन व्यवसायीहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका छन् ।

यो कोषमा वरिष्ठ अधिवक्ता सुशील पन्तले १५ लाख, वरिष्ठ अधिवक्ता उद्धव केसीले ५ लाख, वरिष्ठ अधिवक्ता रत्ना कार्की भट्टराईले १ लाख ५० हजार व्यक्तिगत रूपमा प्रदान गरेका छन् ।

हाल यो कोषमा ५९ लाख जम्मा भएको छ । यसले बिरामी कानुन व्यवसायीलाई सम्बन्धित बार एकाइको सिफारिसमा अधिकतम ५० हजारसम्म उपचार रकम उपलब्ध गराउँछ ।

यो कोषबाट कोभिडको मारमा परेका ६८ जना अधिवक्ताहरूले अप्ठ्यारो समयमा २५ हजारका दरले सापटी रकम सहायता प्राप्त गरे । सापटी भनिएकाले यो रकम लगभग फिर्ता पनि भइसकेको छ ।

नेपाल बार एशोसिएसनले संस्थागत रूपमा कानुन व्यवसायीहरूको पेशागत हकहितका क्षेत्रमा मात्र नभएर उनीहरूको वृत्ति–विकास, स्वास्थ्य, रोग, उपचारमा पनि चासो राख्नुपर्छ । सामाजिक सञ्जालमा कर्मकाण्डी स्वास्थ्य लाभ र समवेदना व्यक्त गरेर मात्र आफ्ना सदस्यप्रतिको ‘नेबाए’को जिम्मेवारी सकिंदैन । त्यसैले यस सम्बन्धमा ‘नेबाए’ले गम्भीर भएर सोच्न जरूरी छ ।

नेपाल कानुन व्यवसायी परिषद्ले प्रत्येक पाँच वर्षमा कानुन व्यवसायीहरूको सदस्यता नवीकरण गर्छ । यसरी सदस्यता नवीकरण गरिएको सदस्य मात्र कानुन व्यवसाय गर्न वा नेपाल बार एशोसिएसनको सदस्य बन्न योग्य हुन्छ ।

त्यसैगरी प्रत्येक एकाइ बारहरूले आफ्नो बारमा सदस्य बन्न चाहने नयाँ कानुन व्यवसायीहरूलाई सदस्यता दिने र प्रत्येक वर्ष नवीकरण गर्ने गर्दछन् । र, यो सदस्यता प्रक्रिया निःशुल्क होइन; सशुल्क नै हो । अझ यो रकम कानुन व्यवसायीको प्रमाणपत्र लिएको वर्षको आधारमा बढ्दै जान्छ । यसरी कानुन व्यवसायीहरूले तिर्नैपर्ने वा तिर्दै आएको शुल्कमा केही रकम थप गरी सुलभ दरको कानुन व्यवसायी जीवन बीमा सुरु गर्न ढिलो भइसक्यो । यसका सम्बन्धमा अविलम्ब नेपाल बार एशोसिएसनले आफ्नो कार्ययोजना सार्वजनिक गरी कानुन व्यवसायी जीवन बीमा प्रारम्भ गर्नुपर्दछ ।

रोगले गलेर ओइलाउँदै गएका साथीभाइको अनुहार हेरेर कठै भन्नुभन्दा अगाडि पूर्व तयारी गरौं । असाध्य रोगबाट ग्रसित अधिवक्ता अनिता भण्डारी तिमिल्सिनाको उपचारका लागि थप सहयोग गरौं ।

जे छ जीवनभरि मात्र छ; जीवन छँदै जीवन बचाउन पहल गरौं ।

लेखक अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?