
२ असार, काठमाडौं । नेकपा एमालेको कानुन व्यवसायीहरूको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् ।
२५६ मत पाएर थापा निर्वाचित हुँदा उनका प्रत्यासी ओमप्रसाद थपलियाले २१३ मत मात्र पाए । ‘यसपटक हामीले मतदानको प्रक्रियाबाट नेतृत्व चुन्यौ । कसैले टीका लगाइदिने परम्परा थियो, त्यो तोडियो’ नवनिर्वाचित अध्यक्ष थापा भन्छन् ।
पीपीएलएको यसअघिका राष्ट्रिय सम्मेलनहरूमा सर्वसम्मतिमा नेतृत्व चयन हुने गरेको थियो । आइतबार राजधानीमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पनि सर्वसम्मतिमै नेतृत्व चयनको प्रयास गरिएको थियो ।
‘सकेसम्म सर्वसम्मतिकै प्रयास गरियो । तर सम्भव नभएपछि मतदान भयो, प्रतिनिधिहरूले आफ्नो नेतृत्व चुन्नुभयो,’ थापा भन्छन् । मतदानबाट नेतृत्व चयन भएपनि सबैलाई मिलाएर संगठन चलाउने नवनिर्वाचित अध्यक्ष थापा भन्छन् ।
महासचिवमा पनि थापा पक्षकै भुवनप्रसाद निरौला निर्वाचित भएका छन् । १६३ मत पाएर निरौला महासचिव निर्वाचित भएका हुन् । निर्वाचन भएका पदहरुमा प्यानलगत उम्मेदवारी परेको थियो । जसअनुसार महासचिव पदमा थपलिया पक्षबाट शिव अर्याल उम्मेदवार थिए । तर उनले ११६ मत मात्र पाए ।
स्वतन्त्र रुपमा महासचिवका उम्मेदवार रहेका देवीप्रसाद भट्टराईले ८३, चुडामणि पौडेलले ७४ र शान्तिराम खतिवडाले २७ मत पाए । ‘महासचिवमा ५ जनाको उम्मेदवारी परे पनि प्यानलगत उम्मेद्वार बनेकाहरु मध्ये शिव अर्याललाई हराएर भुवनप्रसाद निरौला निर्वाचित हुनुभयो’, पीपीएलएका एक नेता भन्छन् ।

प्यानल निर्माण भने पार्टी संस्थापन र इतर समूहका नाममा भएको थियो । ओमप्रसाद थपलियाको प्यानललाई पार्टी संस्थापन पक्षको समर्थन थियो । संस्थापनकै लाइनबाट थपलियालाई सर्वसम्मत स्वीकार्न प्रस्ताव गरिएको थियो ।
तर निर्वतमान महासचिव थापाले अडान छोडेनन् । भोजराज आचार्यले नेतृत्व छोड्दा थापाले आफू स्वभाविक उम्मेदवार भएको तर्क गरे ।
‘अमर थापा स्वभाविक रुपमा अध्यक्ष पदका हकदार थिए, तर पार्टी संस्थापनको हवाला दिएर ओमप्रसाद थपलियालाई अगाडि बढाउने प्रयास भयो’, पीपीएलएका एक नेता भन्छन्, ‘थपलिया भूगोलमा काम गरेको भएपनि बाहिरका हुनुहुन्थ्यो । त्यसैले पनि उहाँको नाममा सर्वसम्मति हुन सकेन ।’
पार्टी संस्थापन र इतर समूहले अडान नछोड्दा मतदान भयो । ४७२ जनाले मतदान गरेको सम्मेलनबाट अध्यक्ष पदमा थापासहित उनकै पक्षधरबाट धेरैले जिते ।
‘पार्टी संस्थापनका नाममा जस्ता पहल भए, त्यसले राम्रो सन्देश गएन । प्रधानमन्त्री एवं पार्टी अध्यक्षकै उम्मेदवार रहेको सन्देश गयो’, थापा पक्षधर एक वरिष्ठ अधिवक्ता भन्छन् ।
यस्तै नतिजाको डर संस्थापनका नेताहरुमा सम्मेलनका क्रममै देखिएको थियो । त्यसैले विजयकान्त मैनाली, ईश्वरी भट्टराई, डिल्ली मैनालीहरूलाई अध्यक्ष बनिदिन आग्रह गरिएको थियो । यी मध्ये कसैले मानेको भए अमर थापालाई रोकेर सर्वसम्मत अध्यक्ष घोषणा गरिन सक्थ्यो ।
तर मतदानबाट संस्थापनले नचाहेको नतिजा आयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको नाम जोड्दा पनि चुनाव जित्न नसकेको यो एमालेको दोस्रो जनसंगठन हो ।
यसअघि नेपाल बुद्धिजिबी परिषद्मा ओली पक्षधर उम्मेदवार पराजित भएका थिए । जेठ तेस्रो साता सम्पन्न बुद्धिजिवी परिषदको एघारौं राष्ट्रिय सम्मेलनमा पार्टी संस्थापनका तर्फबाट दिपेन्द्र भण्डारीलाई अगाडि बढाइएको थियो । तर भण्डारीलाई सर्वसम्मत अध्यक्ष नस्वीकार्ने पक्षले सम्मेलनलाई मतदानमा पुर्याए ।
मतदानमा संस्थापनका उम्मेदवार भण्डारीलाई हराउँदै इतर पक्षबाट गजेन्द्रप्रसाद थपलियाले जिते । १५४ मत पाएर थपलियाले अध्यक्ष जित्दा भण्डारीले १०४ मत पाएका थिए । ‘बुद्धिजिबी परिषद् पछि कानुन व्यवसायीहरूले संस्थापनको उम्मेदवारलाई हराए । एमालेको आन्तरिक राजनीतिमा यो निकै अर्थपूर्ण छ’, ती नेता भन्छन् ।
हुनपनि एमालेको जनसंगठनहरूमा पार्टी अध्यक्ष ओलीले नचाहेको व्यक्ति आउनै नसक्ने अवस्था सिर्जना गरिँदै आएको छ । जसको बलियो उदाहरण हो- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं महाधिवेशन ।
यो महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठाएको थियो । महासंघको अध्यक्ष घोषित सन्तोष पौडेल आफैले चाहिँ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर अध्यक्ष पदमा उम्मेदवारी दिएकाहरुको नाम फालेर पौडेललाई अध्यक्ष घोषणा गरिएको थियो ।
महासंघको अध्यक्ष पदमा रामहरी ढकाल, भीमराज सिंह, झलक गौतम, जगत नेपाली र त्रिलोकचन्द्र गुरूङले उम्मेदवारी दर्ता गरेका थिए । यी मध्ये ढकाललाई उपाध्यक्ष र सिंहलाई महासचिव घोषणा गरियो । अनि अध्यक्ष पछिका कार्यकारी पद महासचिवमा उम्मेदवारी दिएकी अमृता बराललाई महिला कोटाको उपाध्यक्ष घोषणा गरियो ।
महाधिवेशन भएका अरु जनसंगठनमा पनि बालुवाटारले नचाहेका व्यक्तिलाई रोक्न जनसंगठन समन्वय संयन्त्रका नेता भानुभक्त ढकाल लाग्ने गरेका छन् । ढकालले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालको निर्देशनमा संस्थापनका तर्फबाट उम्मेदवार घोषणा गर्दै आएका छन् ।
कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा पनि ढकालले संस्थापनका तर्फबाट डा.सुजन कडरियाको नेतृत्वमा पदाधिकारी टीम घोषणा गरेका थिए । तर कडरियाको टीममा उपाध्यक्ष प्रस्तावित प्रकाश पौडेलले पार्टी संस्थापनको घोषणा अस्वीकार गरे । बन्दसत्र हलमा मतदानको माग राखेर नाराबाजी भयो ।
कडरियाको नेतृत्वमा हलमा घोषणा गरिएका पदाधिकारी टीमविरुद्ध पौडेलले पनि छुट्टै प्यानल बनाए । चुनाव भने संस्थापनकै कडेलले जिते । ७ मतले चुनाव हारेका प्रकाशले ७२५ मत ल्याएका थिए ।
अनेरास्ववियुभन्दा अघि राष्ट्रिय युवा संघको महाधिवेशन भएको थियो । पोखरामा सम्पन्न युवा संघमा पनि संस्थापन भर्सेस इतर पक्षबीच प्यानल बनाएरै मतदान भएको थियो । क्षितिज थेबेलाई संस्थापन पक्षले अध्यक्ष दोहोर्याउने निर्णय लिएपछि तत्कालीन महासचिव सुमन पुरीले प्यानल सहित चुनाव लडेका थिए । यद्यपि चुनाव थेबेले नै जिते ।
थेबेले ७९७ मत ल्याएर जित्दा पुरीले ६०८ मत पाएका थिए । अर्थात् मतान्तर १८८ मात्र थियो । जबकि यो चुनावलाई पार्टी अध्यक्ष ओलीकै प्रतिष्ठासँग जोडेर प्रचार गरिएको थियो ।
प्रतिक्रिया 4