+
+
Shares

पार्टीमा युवा देखाउन विद्यार्थी संगठनमा उमेर हद

विद्यार्थी संगठनमा उमेर हद लगाएर युवा पुस्तालाई पार्टीमा क्रियाशील बनाउने उद्देश्यले कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना विद्यार्थी संगठनमा ३२ वर्षे उमेर हद लागु गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ २८ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुराना तीन दलले नयाँ पुस्तालाई पार्टीमा क्रियाशील बनाउने उद्देश्यले विद्यार्थी संगठनमा ३२ वर्षे उमेर हद लागू गरेका छन्।
  • नेविसंघमा उमेर हद लागू भए पनि निर्वाचित समिति आउन सकेको छैन।
  • एमाले र माओवादी केन्द्रले पनि युवा पुस्तालाई अघि बढाउने उद्देश्यले उमेर हद लागू गरेका छन्।

२८ जेठ, काठमाडौं । नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबाट युवा पुस्ता प्रभावित हुने अवस्था बनेपछि पुराना तीन दलले भ्रातृ संस्थामा उमेर हद कार्यान्वयनमा ल्याएका छन् । नयाँ दलमा युवापुस्ताको बलशाली उपस्थिति हुनु पुराना दलका लागि चुनौती समेत बनेको छ ।

भ्रातृ संगठनमा उमेर हद लगाएर युवा पुस्तालाई पार्टीमा क्रियाशील बनाउने उद्देश्य प्रमुख तीन दलले लिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनमा ३२ वर्षे उमेर हद लागु भएको छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागु गरिए पनि निर्वाचित कार्यसमिति आउन सकेको छैन । नेविसंघमा उमेर हद लगाउन पार्टी एवं स्वयं संगठन भित्रबाट विषय उठान भएको थियो ।

एमाले र माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले राष्ट्रिय सम्मेलनबाट ३२ वर्षे सीमा लागु गरे ।

अखिल क्रान्तिकारीमा उमेरको सीमा राख्न विद्यार्थी संगठनबाटै माग उठेको थियो । तर एमाले निकटको अनेरास्ववियुमा उमेर हद लगाउनुमा पार्टी हाबी भयो । अनेरास्ववियु भित्रबाट उमेर हदका बारेमा संगठनका नेताहरू मुखरित नहुँदै पार्टीले अकस्मात उमेर हदको निर्णय गरिदियो । पार्टी सचिवालय बैठकले गरेको निर्णयअनुसार उमेर हद लागु गरेर अनेरास्ववियुले नयाँ कमिटी ल्याउन लागेको छ ।

एमाले सचिव पद्मा अर्यालका अनुसार पार्टीभित्र स्पेस दिन उमेर हदको निर्णय लिइएको हो । सचिव अर्याल भन्छिन्, ‘नयाँ नेतृत्व विकास गर्ने, नयाँ नेतृत्वलाई स्पेस दिने हिसाबले ३२ वर्षे उमेर हद लागु गरिएको हो ।’

विद्यार्थी संगठनहरूमा लागु गरिएको उमेर हदले अन्तरपार्टीमा ठूलो प्रभाव पार्ने विचार राख्छन् अखिल (क्रान्तिकारी)का इञ्चार्ज हिमाल शर्मा । उनी भन्छन्, ‘युवा पुस्ता उपल्लो तहमा पुग्दै गर्दा निर्णय प्रक्रियामा उनीहरूले हस्तक्षेपकारी भूमिका खेल्न सक्छन् । उनीहरूले आफ्नो भूमिका बढाउँदै गर्दा पार्टी पुनर्जागृत हुन्छ ।’

नेविसंघमा उमेर हद लाग्यो, निर्वाचत समिति आएन

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवार हुन २८ वर्षे सीमा कायम गरिएपछि विद्यार्थी संगठनलाई पनि उमेर हद लागु गर्न दबाब पुगेको थियो । तर विद्यार्थी संगठनहरूमा त्रिविले स्ववियुमै राखेको उमेर हद भने कायम गरिएको छैन ।

विद्यार्थी संगठनमा रहने उमेर हद ३२ नै किन ? सबै विद्यार्थी संगठनमा तर्कसहितको जवाफ छैन । उनीहरूको भनाइअनुसार स्ववियु निर्वाचनपछि पनि थप ४ वर्ष विद्यार्थी राजनीति गर्न अवसर प्रदान गर्ने उद्देश्यले यो प्रावधान राखिएको हो ।

नियमित पास भएको विद्यार्थीले २४ वर्षे उमेरमा विश्वविद्यालय तहको अध्ययन सकिसकेको हुन्छ । यद्यपि, त्रिविले थप ४ वर्षको समय दिएको छ । विद्यार्थी संगठनले त्यसमा पनि ४ वर्ष थपेर उमेर हद लागु गरेका छन् ।

विद्यार्थी संगठनमा उमेर हद लगाएर एमालेले नयाँ पुस्तालाई अघि बढाउने छनक देखाएको छ । अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने विषयमा संगठनभित्र छलफलले व्यापकता नपाउँदै एमालेको सचिवालय बैठकले ११ जेठमा अकस्मात् निर्णय गरेको थियो ।

उमेर हद नहुँदा विद्यार्थी नेताहरू क्याम्पसको विद्यार्थी राजनीतिको चौघेराबाट माथि उठ्नै नसक्ने अवस्थामा रहेको नेविसंघका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् ।

‘विद्यार्थी जीवन क्रान्तिकारी हुने र खराबका विरुद्ध लड्ने समयका रूपमा समेत बुझिन्छ । त्यही ऊर्जाशील समय विद्यार्थी राजनीतिमा लगाउनुपर्ने उद्देश्यले ३२ वर्ष उमेर हद लगाएका हौं । होइन भने त विद्यार्थी राजनीति गरेर क्याम्पसको चौघेरामै सीमित हुने भयो नि ।’

नेविसंघको ११औं महाधिवेशनबाट स्वीकृत भएको विधानमा १२औंबाट उमेर हद लगाउने प्रावधान राखिएको थियो । भ्रातृ संस्थाले पारित गरेको विधानलाई पार्टीले अनुमोदन गर्नुपर्ने व्यवस्था कांग्रेसमा गरिएको छ ।

२०७२ सालमा नेविसंघको महाधिवशेनले गरेको निर्णयलाई पार्टीले अनुमोदन गर्न तीन वर्ष लाग्यो । २०७५ असोजमा भएको पार्टी केन्द्रीय समितिले विद्यार्थी संगठनमा रहने उमेरको सीमा ३२ तोकिदियो । तर केन्द्रीय समितिमा उक्त निर्णय सर्वसम्मत भने हुन सकेन । सभापति शेरबहादुर देउवा पक्ष उमेर हदको पक्षमा हुँदा नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले नोट अफ डिसेन्ट लेखे ।

नेविसंघको विधानमा रहेको व्यवस्थालाई लिएर आ-आफ्नो तरिकाले व्याख्या गरियो । १२औं महाधिवेशनबाट आउने समितिबाट मात्रै उमेर हद लाग्ने तर तदर्थ समितिमा विधान आकर्षित नहुने अर्को विवाद उत्पन्न भयो ।

नैनसिंह महरले नेविसंघको अध्यक्षबाट राजीनामा दिएपछि निर्वाचित कार्यसमिति आउन सकेन । उमेर हद कायम नगरी तदर्थ समिति बनाउन लागिएपछि नेविसंघकै विद्यार्थी नेताहरू विरोधमा उत्रे । उमेर हद लागु गरेर २० वटा जिल्लाको अधिवेशन भइसक्दा समेत देउवाले तदर्थ समितिमा उमेर सीमा नराखेर राजीव ढुङ्गानालाई अध्यक्ष बनाए ।

विद्यार्थी संगठनको नेतृत्वमा पुरानै अनुहारको हालीमुहाली हटाउन नेविसंघमा संगठन भित्रैबाट दबाब सिर्जना गरिएको थियो । उमेर हद लागु गराउन नेविसंघमा रिले र आमरण अनसन समेत बस्नु परेको थियो ।

पुराना दलहरूमा युवा पुस्ताको आर्कषण नहुनुमा पार्टी भित्रको गलत परिपाटी कारक रहेको त्यसबेला अनसनको नेतृत्व गरेका नवराज त्रिपाठी बताउँछन् । विद्यार्थी राजनीति गर्ने नियतले क्याम्पसमै रहिरहने प्रवृत्तिलाई अन्त्य गर्न पार्टीलाई दबाब पुर्‍याउन त्यसबेला विरोधमा उत्रेको त्रिपाठी बताउँछन् ।

उनी भन्छन्, ‘उमेर हद थिएन भने अहिले केन्द्रीय सदस्य बनेका र जनप्रतिनिधि भएका केही व्यक्ति विद्यार्थी राजनीतिमै अल्झिरेहका हुने थिए ।’ उमेर हद लागु हुँदा नेतृत्वमा हुने जाम हट्ने र नयाँले अवसर प्राप्त गर्ने त्रिपाठीको टिप्पणी छ ।

नेविसंघमा उमेर हद लागु भए पनि निर्वाचित समिति आउन सकेको छैन । महर निर्वाचित अध्यक्ष भएयता दुईजना तदर्थ समितिको अध्यक्ष बनिसके । तर पनि महाधिवशेनको टुंगो छैन । ३२ वर्षे उमेर नपुगेकै आधारमा २०७८ चैतमा दुजाङ शेर्पालाई तदर्थ समितिको अध्यक्ष बनाइएको थियो ।

निर्वाचित समिति ल्याउन पटकपटक अवधि थपिए पनि महाधिवशेनको टुंगा छैन भने उनकै कार्यवधि थप्ने/नथप्ने पार्टीले निर्णय गरिसकेको छैन ।

विद्यार्थी संगठनलाई महाधिवशेनउन्मुख गराउन नसक्नुमा नेविसंघका अध्यक्ष महर पार्टी पदाधिकारीलाई दोषी देख्छन् । उनी भन्छन्, ‘नियमित महाधिवेशनलाई टाढा पुर्‍याउन खोजिँदैछ । त्यसका बारेमा पार्टीका उपल्लो तहमा रहेका नेताहरू जिम्मेवार हुनुपर्ने हो, त्यसो हुन सकेको छैन ।’

अनेरास्ववियुमा सघन छलफल हुन नपाउँदै पार्टी निर्णय

सत्ताको नेतृत्व गरेको दल एमालेले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । एमालेले युवा केन्द्रित कार्यक्रम ‘युथ सेलेब्रेसन’ आयोजना गरेको थियो । उक्त कार्यक्रममा वक्ताहरू युवा उमेर समूहबाट मात्रै राखिएको थियो । पार्टी स्थापनाको दिनमा युथ समिट गरिएको थियो ।

विद्यार्थी संगठनमा उमेर हद लगाएर एमालेले नयाँ पुस्तालाई अघि बढाउने छनक देखाएको छ । अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने विषयमा संगठनभित्र छलफलले व्यापकता नपाउँदै एमालेको सचिवालय बैठकले ११ जेठमा अकस्मात् निर्णय गरेको थियो । उमेर हद लगाउने वा खुला राख्ने बहसका बीचमा एमाले बैठकले निर्णय लिएको थियो ।

स्ववियु निर्वाचनमा २८ वर्ष माथिको उम्मेदवार हुन नपाउने हुँदा उमेर हदको निर्णय गर्नुपर्ने अवस्था रहेको एमाले सचिव अर्यालको धारणा छ । ‘स्ववियुमा हुने उम्मेदवारको ख्याल गरेर नेविसंघ र अखिल क्रान्तिकारीले निर्णय गरिसकेका थिए । अनेरास्ववियुको हकमा अहिले पार्टीले निर्णय लियो ।’

नेविसंघमा उमेर हद लागु भए पनि निर्वाचित समिति आउन सकेको छैन । नैनसिंह महर निर्वाचित अध्यक्ष भएयता दुईजना तदर्थ समितिको अध्यक्ष बनिसके । तर महाधिवशेनको टुंगो छैन ।

अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनका लागि ३२ वर्षमुनिबाट प्रतिनिधि पठाउन समेत केन्द्रले प्रदेश प्रदेश इन्चार्जहरूलाई निर्देशन दिएको थियो । २४ जेठमा सुरु भएर मंगलबार सकिने भनिएको सम्मेलन लम्बिएको छ ।

२८ जेठमा मतदानबाट निर्वाचित कमिटी ल्याउने गरी समय तालिका घोषणा गरिएको छ । उमेर हद लागु हुँदा अध्यक्षका दाबेदार ५ जनाले प्रतिस्पर्धा गर्न पाएनन् । ४ जना उपाध्यक्ष र महासचिव पनि अध्यक्षको उम्मेदवार हुन पाएनन् ।

विद्यार्थी संगठनभित्र छलफल हुँदा लागु गरौं/नगरौं भन्ने दुई खालका धारणा प्रकट हुँदै गर्दा पार्टीले उमेर हद लगाउनु उपयुक्त हुने ठानेर निर्णय गरिएको अर्याल बताउँछिन् ।

अनेरास्ववियुमा अलि अघि उमेर हदको विषय उठे पनि त्यसलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयनमा ल्याउन चाहेका थिएनन् । लोकसेवा पास गर्नका लागि विद्यार्थी राजनीति नभएको उल्लेख गर्दै ओलीले शैक्षिक योग्यताको बन्देज लगाउन नहुने धारणा राखेपछि यो मुद्दा ओझेल परेको थियो ।

क्रान्तिकारीमा उमेर हद कायम गर्दाको सकस

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा उमेर हद लागु गर्दा रस्साकस्सी नै चल्यो । पार्टी हेडक्वार्टर उमेर हदको पक्षमा हुँदा विद्यार्थी संगठन भित्रकै नेताहरू विपक्षमा रहेपछि विवाद उत्पन्न भएको थियो ।

अध्यक्षमा दाबी गरेका डेढ दर्जन व्यक्ति उम्मेदवार हुन योग्य नहुने भएपछि उमेर पार गरेका कतिपयले चर्को विरोध गरेका थिए । उमेर हद कायम हुँदा अघिल्लो कमिटीका उपमहासचिव र त्योभन्दा तल्लो वरियतामा रहेका विद्यार्थी नेताहरूले अध्यक्षमा दाबी गर्ने अवसर प्राप्त गरेका थिए ।

अखिल क्रान्तिकारीका इञ्चार्ज हिमाल शर्मा उमेर हदको विषयलाई आफूले निरन्तर उठाएर निर्णयमा पुर्‍याएको बताउँछन् । अन्य विद्यार्थी संगठनमा भन्दा भिन्न विधि अपनाएर आन्तरिक लोकतन्त्रलाई अझ मजबुत बनाएको उनले दाबी गरे । उमेर हद लागु गर्ने/नगर्ने विकल्पमा मतदानमार्फत उमेरको सीमा तय गरिएको थियो ।

उमेर हदको पक्षमा अखिल क्रान्तिकारीभित्र आवाज उठाइरहेका सुदिन पौडेल विद्यार्थी संगठनको नेतृत्वमा रहेको बलमा तल्लो तहबाट अरुलाई माथि आउनै नदिने प्रवृत्तिविरुद्ध लडेको बताउँछन् । पौडेल भन्छन्, ‘वास्तविक विद्यार्थीभन्दा पनि विद्यार्थी नेता हुन क्याम्पसमा अड्डा जमाउनेको बोलवाला रहिरह्यो । वास्तविक विद्यार्थीलाई नै विद्यार्थीको नेता बनाउन उमेर हदको माग जोडदार रूपमा उठाएका हौं ।’

उमेर हदको मुद्दा उठाउँदा संगठन भित्रैबाट धम्की आएको उनले सुनाए । युवाहरूले पार्टीको महत्वपूर्ण स्थानमा भूमिका प्राप्त गर्दा नवप्रवेशीका लागि ढोका खुल्ने पौडेल बताउँछन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?