+
+
Shares

सिंहदरबारमा फेरिएको दृश्य : बधाइ दिने अधिक युवा

नयाँ मन्त्रिपरिषद्‌मा पनि युवाकै वर्चस्व छ । मन्त्रिपरिषद्‌मा सबैभन्दा पाका स्वर्णिम वाग्ले हुन् । उनी ५१ वर्षका भए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ चैत १३ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सिंहदरबारमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूले टीका र माला लगाएर स्वागत गरे।
  • गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीदलाई सम्झेर एक मिनेट मौन धारण गर्न सबैलाई आग्रह गर्नुभयो र जेनजी अगुवाहरूसँग आधा घण्टा बिताउनुभयो।
  • नयाँ मन्त्रिपरिषद्मा १५ सदस्यमध्ये १० जना ४० वर्ष मुनिका छन् र युवाको उपस्थिति र प्रभाव बढेको देखिएको छ।

१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम बिहीबार पौने २ बजे सिंहदरबार पुगिन् । पदभारका लागि उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव पाराश्वर ढुंगाना सहितका कर्मचारीहरू स्वागतका लागि तयार थिए । टीका र माला लगाएर कर्मचारीहरूले स्वागत गरे ।

मन्त्री गौतमले पदभार ग्रहण गरेसँगै बधाइ दिन पुगेकाहरूले पनि फूल दिए । त्यस्तैमा एक थिए– २३ वर्षीय युवराज खड्का । कुमाख गाउँपालिका–५ सल्यानका खड्का रत्नराज्य क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।

‘हाम्रै पुस्ताको नेतृत्वमा देश अगाडि बढ्दैछ । यस्तोमा बधाइ दिन जानुपर्छ भन्ने लाग्यो, सिंहदरबार छिरेँ । मन्त्रीलाई बधाइ दिएँ । उहाँले फेरि भेटेर थप सल्लाह गरौंला भन्नुभयो,’ मन्त्रीसँगको भेटपछि खड्काले अनलाइनखबरसँग भने ।

त्यसपछि उनी गृह मन्त्रालय पुगेर गृहमन्त्री सुधन गुरुङलाई बधाइ दिए । ‘विगतमा बधाई दिनेहरूमा पाका उमेरका ज्यादा देखिन्थ्यो । यसपटक मैले त्यस्तो पाइनँ । युवा जमात धेरै देखेँ,’ खड्काले सुनाए ।

‘मन्त्रीहरू युवा भएकाले बधाइ दिन पनि युवा नै गएका होलान् है’ भन्ने प्रश्नमा खड्का भन्छन्, ‘यो मात्रै कारण होइन । विगतमा बुढापाका मन्त्री हुँदा उनीहरूसम्म पुग्न युवाको पहुँच नै हुँदैनथ्यो नि ।’

खड्काले भेटेर बधाइ दिएका दुवै मन्त्री ४० वर्ष मुनिका हुन् ।

शहीदको नाममा मौन धारण

गृहमन्त्री सुधन गुरुङले त कार्यभार सम्हाल्ने बित्तिकै जेनजीको जनादेश कार्यान्वयन गर्ने भन्दै जेनजी आन्दोलनका शहीदलाई सम्झिएर उपस्थित सबैलाई एक मिनेट मौन धारण गर्न लगाए ।

पदभार ग्रहण गरेपछि आधा घण्टा बढी समय जेनजी अगुवाहरूसँगै बिताए । सुधनलाई बधाई दिन जेनजी आन्दोलनकी शहीद रसिक खतिवडाकी आमा तथा रास्वपा सांसद रचना मन्त्रालय पुगेका थिए । जेनजी आन्दोलनका घाइतेहरू पनि वैशाखी टेकेरै सिंहदरबार पुगेका थिए । उनीहरूले सुधनलाई भेटेर बधाइ दिए ।

जेनजी आन्दोलनका क्रममा पानी बाँड्दै सडकमा देखा परेका सुधन आन्दोलनको रापतापसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनमा पनि निर्णायक भूमिकामा देखिएका थिए ।

जेनजी आन्दोलनको अपनत्व लिएर अगाडि बढेका सुधन निर्वाचनपछिको रास्वपाको एकल सरकार (झन्डै दुई तिहाइ बहुमत) मा गृहमन्त्री बनेका हुन् । उनले जेनजीको मर्म र भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो प्रतिवद्धता सुन्न र खबरदारी गर्न युवाहरू नै गृह मन्त्रालय पुगेका थिए ।

सस्मितको फरक शैली

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल पदभार ग्रहणमा पुग्दा पनि युवाको उपस्थिति अधिक थियो । उनलाई बधाइ दिन जेनजी अगुवाहरूसमेत पुगेका थिए । सस्मित आफैं पनि २९ वर्षका भए ।

मन्त्रीको पदभार ग्रहण गरेपछि कुनै न कुनै पहिलो निर्णय गर्ने अभ्यास छ । तर शिक्षा मन्त्री पोखरेलले यस्तो अभ्यास तोडे । अध्ययन गरेर मात्र निर्णय गर्ने योजना सुनाए । अर्थात्, फरक शैली वा अभ्यासको सुरुवात गरे ।

पोखरेलले पहिलो दिन शिक्षा मन्त्रालयमा कर्मचारीसँग परिचयात्मक कार्य गरे । सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

बधाइ दिनेमा युवा किन धेरै ?

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक पत्रकार सन्दीप राई सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनालाई बधाइ दिन सिंहदरबार पुगेका थिए । दिउँसो १ बजेदेखि ३ बजेसम्म मन्त्रालयमा बसेका उनी विगतमा भन्दा यसपटक पृथक दृश्य देखिएको बताउँछन् ।

‘सिंहदरबारमा उमेर ढल्केका, विस्तारै बोल्ने व्यक्ति हुन्छन् भन्ने मनोविज्ञान छ । तर आज त्यस्तो मनोविज्ञान चिर्ने दृश्य देखियो,’ राई भन्छन्, ‘बधाई दिन पुग्नेहरूमा युवा अनुहार अधिक थिए ।’

राईका नजरमा विगतमा सरकार फेरबदल हुँदा वा मन्त्री फेरिँदा बधाइ दिन जानेहरूमा पार्टीका नेता/कार्यकर्ता धेरै हुन्थे । यसपटक पनि मन्त्रीलाई दिन रास्वपाका नेता/कार्यकर्ता सिंहदरबार पुगेका थिए । त्यसमा पनि युवाहरू थिए । पार्टीका नेता/कार्यकर्ता बाहेक अरू पनि यसपटक धेरै देखिन्थे ।

राई थप्छन्, ‘एकातर्फ रास्वपाको लिगेसी छोटो छ । अर्कोतर्फ मन्त्री भएकाहरू कोही अभियन्ता त कोही पेसा/व्यावसायमा संलग्न भएकाहरू छन् । उनीहरूको सर्कल युवासँग छ । यसकारण बधाई दिन सिंहदरबार पुग्नेहरूमा युवा अधिक देखिएका हुन सक्छन् ।’

सञ्चार मन्त्री तिमिल्सिना आफैं भने ४३ वर्षका भए । नयाँ मन्त्रिपरिषद्मा पनि युवाकै वर्चस्व छ । प्रधानमन्त्री बालेन शाह ३६ वर्षका भए ।

१५ सदस्यीय मन्त्रिपरिषद्मा १० जना ४० वर्ष मुनिका मन्त्री छन् । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ३५ वर्षका हुन् । स्वास्थ्य मन्त्री निशा मेहता ३८ वर्षकी भइन् भने श्रममन्त्री दीपक शाह ३४ वर्षका छन् । समान्य प्रशासन मन्त्री प्रतिभा रावल ३२, महिला मन्त्री सीता वादी ३० र कृषिमन्त्री गीता चौधरी ३२ वर्षकी छन् ।

मन्त्रिपरिषद्‌मा सबैभन्दा पाका स्वर्णिम वाग्ले हुन् । उनी ५१ वर्षका भए । परराष्ट्र मन्त्री शिशिर खनाल ४७ वर्ष, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४ वर्ष, पर्यटनमन्त्री खड्कराज पौडेल ४३ वर्षका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामै युवा प्रतिनिधित्व ज्यादा छ । त्यसको प्रभाव मन्त्रिपरिषद्मा परेको हो । यस्तोमा बधाई दिन वा अन्य नाममा सिंहदरबार प्रवेश पाउनेमा पनि युवा नै अगाडि देखिएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?