News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकबाट काठमाडौं आएका ७५ वर्षीय रामप्रसाद गौतमले पुराना दल निराशाजनक भएकाले नयाँ उम्मेदवारलाई मतदान गरेको बताए।
- काठमाडौं–३ मा २२ जनाले उम्मेदवारी दिएका छन् र मुख्य प्रतिस्पर्धा रास्वपा र उज्यालो पार्टीका उम्मेदवारबीच हुने अनुमान छ।
- मतदाताले पुराना दललाई मतदानबाट वाक्क भएर नयाँ राजनीतिक शक्तिलाई मौका दिएको तर पूर्ण विश्वास नगरेको देखिएको छ।
२१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चाेकबाट काठमाडौं बसाइँ सरेका ७५ वर्षीय रामप्रसाद गौतम बिहीबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न गोकर्णेश्वर नगरपालिका–५ वडा कार्यालय आए ।
नयाँले राम्रो गर्छन् भन्ने पक्कापक्की गरेर भन्दा पनि पुरानाले धेरै निराश बनाएकाले यसपालि नयाँ उम्मेदवारलाई मतदान गरेको गौतम बताउँछन् । गौतमका अनुसार बहुदलमा दलहरू मिलेर खाने मात्रै काम गरे ।
सोही मतदान केन्द्रमा भेटिएका ७० वर्षभन्दा माथिका अर्का मतदाता पोषकप्रसाद अधिकारी सिग्देल पनि भोट दिएर निस्कँदै गर्दा यसपालि नयाँलाई दिएँ भन्दै थिए ।
सिग्देलले धेरै बोल्न नचाहे पनि पुराना भनिएका राजनीतिक दलबाट वाक्क भएकाले नयाँ छानेको बताए । ‘नातिनातिनालाई हेरेर केही भई पो हाल्छ कि भन्ने लागेर मत परवर्तन गरेको छु,’ उनले भने ।
त्यसैगरी गोकर्णेश्वर–६ का मतदाता रामप्रसाद सिग्देल विगतका निर्वाचनमा मतदान गर्न अल्छी गर्ने युवाको सक्रिय उपस्थिति देख्दा नयाँ राजनीतिक शक्ति बलियो हुने सम्भावना रहेको अडकल काट्छन् ।
काठमडौंको यस क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो पार्टी दुइटा नयाँ प्रतिस्पर्धामा भएकाले नयाँ रोज्दा पनि विकल्प भएकाले पुराना पार्टीले जित्न सक्ने जोखिम पनि छ ।
यसअघि काठमाडौं–३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । नयाँ शक्ति प्रतिस्पर्धामा भए पनि पुरानाले अवसर पाउने सम्भावना न्यून रहेको सिग्देलको विश्लेषण छ ।

निर्वाचनले स्थिरता प्रदान गर्नुपर्ने उनको भनाइ छ । पुरानाभन्दा नयाँ कम खराब भएको भन्दै उनले आफन्तहरूलाई समेत भोट परिवर्तन गर्न अनुरोध गरेको सुनाए ।
काठमाडौं–३ मै पर्ने काठमाडौं महानगरपालिका–६ को खानेपानी संस्थानको परिसर पानीट्यांकी मतदान केन्द्रमा भेटिएका एक मतदाताले भदौको जेनजी आन्दोलनको मर्म नबिग्रने गरी मतदान गरेको बताए ।
आफ्नो परिचय खुलाउन नचाहेका ती मतदाताले पुराना बिग्रिएको हुनाले नयाँले कस्तो गर्छन् भनेर हेर्न पनि मत परिवर्तन गरेको र परिवारलाई पनि सोही अनुसार सुझाएको बताए ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ का मतदातासँग गरिएको कुराकानीम पुराना राजनीतिक अनुहार रोजाइमा परेको देखिएन । तर, नयाँ वा वैकल्पिक शक्तिलाई पनि पूर्ण विश्वास गरेको पनि देखिएन । भोट हालिसकेका वा हाल्न बाँकी रहेका मतदाताले पूर्ण विश्वाससाथ मत परिवर्तनको निर्णय नगरेको कुराकानी क्रममा बताए ।
उल्लेखित उदाहरणले बिहीबारको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना राजनीतिक दललाई मतदान गर्दै आएका मतदाता परिवर्तित भएको संकेत गर्छ । मतदाताले मत परिवर्तन गरेपछि नयाँ राजनीतिक शक्तिलाई पूर्ण विश्वास गरेको अवस्था देखिँदैन ।
जेनजी आन्दोलनपछि ताजा जनादेशका लागि तय भएको निर्वाचनमा वृद्धवृद्धादेखि युवासम्मको रोजाइमा नयाँ शक्ति देखिएको छ । तर, नयाँ शक्तिका लागि मतदान गर्दै गर्दा पनि मतदातामा राजनीतिक प्रकृतिमा सुधार आउने अपेक्षा देखिँदैन ।

त्यसले गर्दा पनि चुनावि नतिजा मिश्रित आउन सक्ने काठमाडौं–३ का एक मतदाताले बताए । ‘नयाँ भनेकाले पनि केही गर्ने वाला छैनन्,’ उनले भने, ‘अरू सबै परीक्षण भइसकेका हुनाले नयाँले यसपालि मौका पाए ।’
मतदान गर्न गोकर्णेश्वर नगरपालिका–५ वडा कार्यालमा रहेको मतदान केन्द्र आएका रामप्रसाद गौतमले मत परिवर्तन गरेको बताए पनि देशको शासनशैलीमा परिवर्तन आउने र सर्वसाधारणको अवस्था नफेरिने दाबी गरे ।
‘हिजो राजनीतिक दलले पनि राजा फलेर देश बनाउँछु भनेका थिए,’ गौतमले भने, ‘तिनीहरूलाई फेरेर युवाले लखेटेर देश बनाउने भनेका छन्, यिनै राजनीतिक दलको जस्तो अवस्था नदोहोरिए हुन्थ्यो ।’
जोरपाटीको अर्को मतदान केन्द्रमा भेटिएका मतदाताको पनि उनको जस्तै भनाइ छ । मत परिवर्तन गर्ने/नगर्ने दोधारमा रहेको बताउने ती मतदाताले आफ्नो परिचय भने खुलाउन चाहेनन् ।
‘मतदान गरिसकेको छैन,’ उनले भने,‘परिवर्तन गर्ने/नगर्ने अन्योलमा छु, भित्र गएपछि के हुन्छ हेरौं ?’
मतदान स्थलमा आएका सर्वसाधारणको कुरा सुन्दा नयाँ शक्ति बलियो गरी नै आउने आकलन गर्न सकिन्छ ।
गोकर्णेश्वर–६ का मतदाता रामप्रसाद सिग्देलले आफ्नो मतदान केन्द्रमा युवा मतदाताको उपस्थिति बढेको भए पनि विगतको तुलनामा कम मत खस्ने अनुमान गरे ।

उनका अनुसार काठमाडौं–३ मा रास्वपा र उज्यालो पार्टीका उम्मेदवारबीच उच्च प्रतिस्पर्धा हुने तथा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले सम्मानजनक मतमात्र पाउने उनको भनाइ छ । उनले आजको निर्वाचनमा देशको ठूलो पार्टीमा नयाँशक्ति बन्न सक्ने अनुमान समेत गरे ।
बिहीबारको निर्वाचनमा काठमाडौं–३ मा २२ जनाले उम्मेदवारी दिएका छन् । कुल ६१ हजार ४ सय ७९ मतदाता रहेको यस क्षेत्रमा सबैभन्दा धेरै ४० प्रतिशत ४१ देखि ६० वर्ष उमेर समूहका छन् । त्यसपछि ३० प्रतिशत मतदाता २६ देखि ४० वर्ष उमेर समूहका छन् ।
यो क्षेत्रमा कांग्रेसका रमेश अर्याल, एमालेका रामेश्वर फुयाँल, नेपाली कम्युनिस्ट पार्टीका निरज लामा, रास्वपाका राजुनाथ पाण्डे, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । तर, यस क्षेत्रमा मतदाताको प्रतिक्रिया अनुसार मुख्य प्रतिस्पर्धा पाण्डे र घिसिङबीच हुने अनुमान छ ।
यस क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए ।
प्रतिक्रिया 4