+
+

दाइजोका कारण छोरी बितिन्, न्यायको आशा अदालतमै अल्झियो

सुरेश बिडारी सुरेश बिडारी
२०७९ माघ २३ गते २०:३९

२२ माघ, वीरगञ्ज । छोरीको मृत्युले शोकमा परेका पर्साको बहुदरमाई नगरपालिका–२ सिसयाडी बैरियाका कलामोदिन अन्सारी हिजोआज मुद्दा मामिलाका कारण झन् हैरान छन् ।

२६ असोज २०७७ मा विहे गरेकी उनकी छोरी रविन ३ वैशाख २०७८ मा मृत भेटिइन् । भनेजति दाइजो नपाएका कारण घरमा गालीगलौज र यातना भोगिरहेकी छोरी मृत भेटिएपछि उनले ज्वाइँ, छोरीकी जेठानी र सासुविरुद्ध ज्यान मुद्दामा जाहेरी दिएका थिए । अहिले उनलाई एकातिर छोरी गुमाउनुपरेको पीर छ भने अर्कोतिर अदालत धाउँदा धाउँदा हैरान छ ।

छोरीको उमेर बढ्दै गएपछि घरपरिवारमा विवाहको सल्लाह भयो । २६ असोज २०७७ मा उनले जेठी छोरी रविनाको विहे वीरगञ्ज महानगरपालिका–१७ अलौं बस्ने साहाजिम मियाँ अन्सारीसँग गरिदिए । विवाह गरेको १–२ महिना घर व्यवहार राम्रै चलेको थियो । तर दाइजोको निहुँमा साहाजिम र उनको परिवारका सदस्यले शारीरिक र मानसिक यातना दिएको कलामोदिनले थाहा पाए ।

दाइजोवापत उनले ३ लाख रुपैयाँ नगद, १ तोला सुन, १ लाख २७ हजार रुपैयाँको फर्निचर, चाँदीको पायल, नत्थीलगायतका गहनासमेत गरी झण्डै १० लाख रुपैयाँ दिएका थिए । ‘मोटरसाइकल र भाँडाकुँडा पनि मागेका थिए, कोरोना महामारीले गर्दा कमाइ भएन, पछि दिन्छु भनेको थिएँ । सम्धी, सम्धिनी, ज्वाइँसहित १५ जनालाई कपडा मागेका थिए, पाँच जनालाई मात्रै दिन सकें’, उनी भन्छन् । यो विषयले छोरीको घरमा खटपट परेको थियो ।

विवाहको ६ महिनापछि ७८ वैशाख ३ गते ज्वाइँ साहाजिम ससुराली आएका थिए, तर उनको व्यवहार कलामोदिनलाई शंकास्पद लागिरहेको थियो । त्यही बेला उनलाई सम्धीले फोन गरेर रविनाको मृत्यु भएको जानकारी गराए । रविना आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

कलामोदिन छोरीको मृत्यु नभइ हत्या भएको निष्कर्षमा पुगे । उनी भन्छन्, ‘कोरोना महामारीले गर्दा लकडाउन भयो, मैले मागेको जति दाइजो दिन सकिरहेको थिइनँ, त्यसैले उनीहरुले मेरो छोरीको हत्या गरे ।’

घटनाको दुई दिनअघि अर्थात वैशाख १ गते कुटपिट भएको जानकारी पाएपछि कलामोदिन छोरीको घर पुगेका थिए । उनले ज्वाइँलाई सम्झाउन खोजे । तर उनी उल्टै रिसाएर ‘छोरी लिएर जानुस्’ भनेर जवाफ दिए । कलामोदिनले, ‘पञ्च भलादमीहरु लिएर आउँछु । अनि मात्र छोरीलाई लान्छु’ भनेर फर्किएका थिए । तर त्यसको ३ दिनपछि नै छोरीको मृत्यु भएको थियो ।

कलामोदिनले २४ जेठ २०७८ मा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्वाइँ साहाजिम, सम्धिनी नुरजहान खातुन र रविनाको जेठानी सफिनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए । दाइजोको बिषयमा गालीगलौज र यातना दिने गरेको, झुण्डिएको भने पनि प्रत्यक्षदर्शी कोही नभएको, मृत्यु भएपछि प्रहरीलाई जानकारी नदिएको, घाँटीमा सलको डामसमेत नरहेको जस्ता कारण देखाउँदै कलामोदिनले आत्महत्या नभइ हत्या भएको दावी गरेका थिए ।

उक्त मुद्दामा पर्सा जिल्ला अदालतले १३ असार २०७८ मा ज्वाइँ साहजिम र जेठानी सफिनालाई पुर्पक्षका लागि थुनामा राख्ने र आमा नुरजहानलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर पर्सा जिल्ला अदालतको आदेश उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उल्ट्यायो । न्यायधीशद्वय सारङ्गा सुवेदी र गणेशप्रसाद बरालको इजलासले साहजिम र सफिनालाई पनि जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

यो आदेश विरुद्ध कलामोदिनले १३ भदौ २०७८ मा सर्वोच्च अदालतमा पुनरावेदन गरे । त्यसपछि ८ असोज २०७८ देखि १८ कात्तिक २०७९ सम्म १४ पटक यो मुद्दा पेशीमा चढिसकेको छ । तर सुनुवाइ नै भएको छैन । २१ महिनादेखि मुद्दा थुनछेकमै अल्झिएको छ । कर्तव्य ज्यान मुद्दाको फैसला आउने कहिले हो टुंगो छैन ।

घरहरुमा रंगरोगनको काम गर्ने कलामोदिन काम भएको दिनमा ८/९ सय रुपैयाँ ज्याला पाउँछन् । छोरीको मृत्यु भएदेखि उनले राम्रोसँग काम गर्न पाएका छैनन् ।

‘घरमा श्रीमती, आमासँगै १८, १६, १० वर्षका तीन छोरी र ६ वर्षीय छोरा छन् । एक्लैले कमाएर जहान परिवार पाल्नुपर्छ । काठमाडौं र घर गर्दा खर्च मात्रै भइरहेको छ’, उनले भने, ‘पेशी सारेर दुःख दिने मात्रै काम भइरहेको छ ।’ मुद्दा मामिलामा जाँदा जाँदा २ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘एकातिर खर्च भइरहेको छ, अर्कोतिर न्याय पनि पाउन सकिरहेको छैन’ उनले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?