+
+

१९ वर्षको प्रयासपछि पीयूलाई मेडिकल कलेज सञ्चालनको अनुमति

हरि अधिकारी हरि अधिकारी
२०७९ माघ २४ गते १६:४५

२४ माघ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले तयारी सुरु गरेको १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । संघीय सरकारको मन्त्रिपरिषदको बैठकले कोसी अस्पताल विराटनगरलाई अभ्यासका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि विश्वविद्यालयलाई कलेज सञ्चालन गर्ने बाटो खुलेको हो ।

२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको थियो । सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको हो ।

गत मंसिर ४ गतेको चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोरङको सुन्दरहरैचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति दिने आश्वासन दिएका थिए । दाहालले आफ्नै क्याबिनेटबाट मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएका हुन् ।

विश्वविद्यालयले २०६२ सालमा एक सय (५० जना नेपाली ५० जना सार्क राष्ट्रका) विद्यार्थी एमबीबीएस अध्यापनका लागि इन्ट्रान्स आह्वान गरेको थियो । त्यसबेला पाँच सय जना विद्यार्थीले इन्ट्रान्स फारम भरेका थिए । परीक्षा भए पनि २०६२–६३ को जनआन्दोलनका कारण रिजल्ट आएन ।

आन्दोलनपछि भने मेडिकल कलेज सञ्चालनको योजना अवरुद्ध भयो । त्यसपछि चिकित्सा शिक्षा सम्बन्धी बनेका ऐनका कारण मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । सोमबारबाट भने बाटो खुलेको विश्वविद्यालयका रजिस्टार निलमणि पोखरेलले बताए ।

‘पछिल्लो दुई वर्षदेखि हामीले निरन्तर प्रयास गरेका थियौं, मन्त्रीपरिषदले स्वीकृति दिएपछि बल्ल बाटो खुल्यो,’ पोखरेलले भने,‘ सम्भव भए यसै वर्ष नभए अर्को वर्ष विद्यार्थी भर्ना गर्छौ ।’ जारी शैक्षिक सत्रबाट अध्यापनन सुरु गर्न एक महिना मात्रै समय बाकीँ रहेको उनले बताए ।

मन्त्रिपरिषद्ले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति प्रदान गरेको पत्र प्राप्त भएपछि थप प्रकृया अगाडि बढाउने पोखरेललले बताए ।‘मुख्य समस्या शिक्षण अस्पतालको थियो, त्यो सामधान भयो, हामीसँग सबै कोर्स तयार छ, अब फ्याक्टी नियुक्त गर्छौं,’उनले भने,‘ सिट संख्या भने चिकित्सा शिक्षा आयोेगले अध्ययनपछि निर्धारण गर्छ ।’ उनका अनुसार प्रोफेसरको रुपमा कोसी अस्पतालका सिनियर चिकित्सकले पनि अध्यापन गराउनेछन् ।

चिकित्सा शिक्षा ऐनले मेडिकल कलेज सञ्चालनका लागि तीन सय शय्याको अस्पताल चाहिने बाध्यात्मक व्यवस्था गरेको छ । अब पियूमा भर्र्ना भएका विद्यार्थीले अध्यापन पियूको संरचना भएको स्थान गोठगाउँमा गर्नेछन्, अभ्यास भने विराटनगरको कोशी अस्पतालमा हुनेछ ।

रजिस्टार पोखरेलका अनुसार यसअघि पियूले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भौतिक संरचनासँगै उपकरण तयारी अवस्थामा राखेको छ । कोसी अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने अनुमति पाएपछि मेडिकल कलेज सञ्चलनको बाटो खुलेको विश्वविद्यालय मेडिकल संकायका निमित्त डिन नविन लामिछानले बताए । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, विएन, फार्मेसीलगायत कोर्सको अध्यापन भने भइरहेको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको थियो । २०५६–०५७ सालमा मोरङको गोठगाउँमा आठ सय पाँच बिघा जमिन पूर्वाञ्चल विश्वविद्यालयको संरचना निर्माणका लागि सरकारले दिने निर्णय गरेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको तयारी भने तत्कालीन उपकुलपति जगतबहादुर केसीले २०६० सालयता सुरु गरेका थिए । केसीले २०६२ सालमा इन्ट्रान्स परीक्षा पनि गराए । तर राजनीतिक परिवर्तन पछि उनकै विरुद्ध आन्दोलन भयो । आन्दोलनका कारण शैक्षिक कार्यक्रमहरु पनि प्रभावित भएका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति पाएसँगै मोरङमा मेडिकल कलेजको संख्या तीन पुगेको छ । यसअघि नोबेल मेडिकल कलेज विराटनगर र विराट मेडिकल कलेजले बुढीगंगाले एमबिबिएस अध्यापन गराउँदै आएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?