+
+

तरलता सहज हुँदा सरकारको आन्तरिक ऋणको ब्याजदर घट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते २०:१५

२४ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै सरकारी ऋणपत्रको ब्याजदर पनि घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ वर्ष अवधिको ७ अर्बका विकास ऋणपत्र बोलकबोलमा ल्याएको थियो । उक्त ऋणपत्रको ब्याजदर ८.९८ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारको आन्तरिक ऋण परिचालन गर्ने वार्षिक कार्यतालिका अनुसार नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र र ट्रेजरी बिलको बोलकबोल तथा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र मार्फत आन्तरिक ऋण परिचालन हुँदै आएको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचलन गर्ने लक्ष्य लिएको छ । जसमध्ये विभिन्न अवधिको ट्रेजरी बिल मार्फत १ खर्ब ५० अर्ब, विकास ऋणपत्र मार्फत १ खर्ब, नागरिक बचतपत्र मार्फत ५ अर्ब र वैदेशिक रोजगार बचतपत्र मार्फत १ अर्ब ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभावले उच्च ब्याजदरमा ऋण परिचालन गरिरहेको सरकारले ब्याजदर घट्दै जाँदा केही राहत भएको छ । मंगलबार बोलकबोल भएको विकास ऋणपत्र सहित चालु आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ बराबरको ५ वटा विकास ऋणपत्र बोलकबोल भएको छ । १४ मंसिरमा २ वर्ष अवधिको ८ अर्बको विकास ऋणपत्र बोलकबोल भएकोमा १०.६४ प्रतिशत ब्याजदर कायम भएको थियो । त्यस्तै २७ मंसिरमा ३ वर्ष अवधिको २ अर्बको विकास ऋणपत्र बोलकबोल हुँदा १० प्रतिशत ब्याजदर कायम भएको थियो । यस्तै ९ पुसमा बोलकबोल भएको भएको ५ अर्बको विकास ऋणपत्रको ब्याजदर १०.९३ प्रतिशतसम्म पुगेको छ । तर, १८ माघमा बोलकबोल भएको ५ वर्ष अवधिको ८ अर्बको विकास ऋणपत्रको ब्याजदर ९.५ प्रतिशतमा झरेकोमा मंगलबार थप घटेर ८.९८ प्रतिशतमा झरेको हो ।

बैंकहरुको अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल झर्दा पनि सरकारी ऋणपको ब्याजदर भने अझै उच्च छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर ८.५ प्रतिशत पुयाएको छ भने नीतिगत दर ७ प्रतिशत र निक्षेप संकलन दर ५.५ प्रतिशत कायम गरको छ । अन्तर अन्तर बैंक ब्याजदर बढेर बैंकदर भन्दा माथि जाँदा राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउनुपर्ने हुन्छ । त्यस्तै अन्तर बैंक ब्याजदर निक्षेप संकलन दर (५.५) प्रतिशत भन्दा तल झरेमा बजारबाट तरलता खिच्नुपर्ने हुन्छ । तर, २३ माघको अन्तर बैंक ब्याजदर ४.१४ प्रतिशतमा झरेको छ ।

यस्तो अवस्थामा पनि पनि बैकहरुले सरकारी ऋणपत्रमा दोहोरो अंकको ब्याजदर माग गरिरहेका छन् । २३ माघ सोमबार ट्रेजरी बिल बोलकबोल गर्दा २८ दिन अवधिको ट्रेजरी बिल राष्ट्र बैंक आफैले खरिद गरेको थियो । यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट एकल ९.६३ प्रतिशत कायम हुँदा १८२ र ३६४ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट भने दोहोरा अंकमा नै थियो ।

बैंकहरु अहिले केहि समय तरलता सहज भएपनि भोलि राष्ट्र बैंकसँग तरलता सापट लिनुपर्दा साढे ८ प्रतिशतको ब्याजदरमा लिनुपर्ने भएकोले त्यसभन्दा घटेर बैंकहरुले सरकारी ऋणपत्रमा लगानी नगरेको एक बैंकरले बताए र राष्ट्र बैंकले बैंकदर घटाउनसाथ सरकारी ऋणपत्रको ब्याजदर पनि घट्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?