+
+

फिल्म निर्देशकलाई सञ्चारमन्त्रीको प्रश्न : विदेशी महिनौं चल्ने तर नेपाली नचल्ने किन ?

चलचित्र ऐनलाई संसदमा लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १२:४६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्म एक दिन पनि किन नचलेको भन्दै चासो दिएकी छन् । पछिल्लो समय आशा गरिएका फिल्म पनि धमाधम व्यवसायिक रुपमा असफल भइरहेको बेला तालुकदार मन्त्रीको यस्तो टिप्पणी आएको हो ।

उनले विदेशी महिनौं चल्ने तर नेपाली फिल्म एक दिन पनि नचल्ने अवस्थामा किन पुगे भनेर फिल्म निर्देशकलाई प्रश्न गरिन् । चलचित्र निर्देशक समाजले यूएनडीपीसँग मिलेर आयोजना गरेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस्’ शीर्षकको दुई दिने सेमिनारको उद्घाटन गर्दै मन्त्री शर्माले विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको बताइन् ।

‘मैले चलचित्र उति सारो बुझेको छैन तर प्रशस्त हेरेकी छु । अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ । नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्नुपर्ने हो र मन्त्रालयले के गर्नुपर्ने हो ? छलफल गरौं । तर यो अवस्थाको अन्त्य हुन जरुरी छ,’ उनको भनाइ थियो ।

उनले नेपाली फिल्मले ‘क्वान्टिटी’भन्दा पनि ‘क्वालिटी’ बढाउने गरी काम गर्नुपर्ने र जलवायु परिवर्तनजस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधिकरण हुने धारणा राखिन् । ‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा संगीत र फिल्मको ठूलो योगदान छ,’ मन्त्री शर्माले भनिन्, ‘अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पुर्‍याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ । अहिले माघमै गर्मी भएको छ, यसको कारण के हो, हामी पर्दामा हेर्न उत्सुक छौं ।’

सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय फिल्म बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकाले नेपाली सिनेमा पनि प्रतिस्पर्धी बन्नुपर्ने बताएकी थिइन् । यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अगाडि बढाउने बताउँदै चलचित्र ऐन संसदमा लैजाने तयारी गरिरहेको जानकारी दिइन् ।

बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंगलबारदेखि सुरु भएको सेमिनारमा पहिलो दिन सहभागी लेखक तथा निर्देशकले जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा जानकारी हासिल गरेका थिए । पहिलो दिन यूएनडीपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिएका थिए ।

मंगलबार यूएनडीपीकी नेपाली प्रतिनिधि आइसानी लोबे, यूएनडीपीका सञ्चार प्रमुख कमल सिग्देल र वरिष्ठ फिल्मकर्मी नीर शाहले जलवायु परिवर्तनको भयावह अवस्थालाई प्रस्तुत गरेका थिए । सेमिनारमा तीन दर्जन लेखक तथा निर्देशकको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?