
२५ माघ, दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।
दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १४० मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।
निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल ३०५ मध्ये ३०४ मत खसेको थियो । प्रदेशसभातर्फ ८७ र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । रुपन्देही मर्चाबार गाउँपालिकाका उपाध्यक्ष आशा सिंह भने अनुपस्थित भएकी थिइन् ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
प्रतिक्रिया 4