 
																			२९ माघ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।
काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र तिनका आफन्त बिहानै टिकट लिन गएका छन् । तर आज ओपीडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा कर्मचारीहरुले उनीहरुलाई फर्काइदिएका छन् ।
माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै संघले आज एक दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशभरका सरकारी तथा गैरसरकारी र निजी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान लगायत सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन् ।
डा. अधिकारीले चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न प्रयास भइरहेको जानकारी पनि दिएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4