+
+

खप्तडमा केबलकार र होटल खोल्न गुरुयोजना बनाउँदै लगानी बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १७:१०

२९ माघ, काठमाडौं । लगानी बोर्डको नेपालले सुदूरपश्चिमा प्रख्यात पर्यटकीय क्षेत्र खप्तडमा केबलकार र होटल खोल्न गुरुयोजना बनाउने भएको छ । बोर्डले खप्तड एकीकृत पर्यटन आयोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न परामर्शदाता कम्पनीसँग प्रस्ताव माग गरेको छ ।

१५ दिने सूचना जारी गर्दै लगानी बोर्डले योग्यता पुगेका परामर्शदाताले अनलाइनबाटै प्रस्ताव पेश गर्न सक्ने जानकारी दिएको छ । प्रस्ताव छनोट भएपछि सम्भाव्यता अध्ययन र दीर्घकालीन योजनाका लागि एक वर्षको समय दिइनेछ ।

सरकारले सन् २०१९ मार्चमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानी बोर्ड नेपाल (आईबीएन) ले यो परियोजना प्रदर्शन गरेको थियो । लगानी सम्मेलनका लागि तयार पारिएको परियोजना बैंक विवरणअनुसार एकीकृत पर्यटन तथा यातायात पूर्वाधार निर्माणको लागत १८ करोड ७० लाख अमेरिकी डलर अनुमान गरिएको थियो ।

करिब २५ अर्ब रुपैयाँ लागतको आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुनेछ ।

लगानी बोर्डले झिङ्ग्राना पोष्टबाट खप्तडको कार्यालयसम्म करिब ७ किलोमिटर लामो केबलकार बनाउने लक्ष्य लिएको छ । त्यहाँ तारे स्तरका दुईवटा होटल पनि विकास गर्ने योजना छ । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा चल्ने यी होटलहरुले मध्यम र उच्च विलासिताको सेवा दिनुपर्ने छ ।

गल्फ, योग, जस्ता विभिन्न गतिविधिका लागि पूर्वाधार बनाउने, ध्यान, घोडसवारी, आरोहण, हर्बल उपचार, साइकिलिङ, हेली सेवा, स्काइ डाइभिङ लगायतका सेवाको विकास गर्ने सोच छ । यसका साथै आगन्तुकहरूलाई स्थानीय रूपमा उत्पादित अर्गानिक खाद्यान्न उपलब्ध गराउने योजना छ ।

यो परियोजनाले खप्तड क्षेत्रको आध्यात्मिक सम्पदा झल्काउने छ । स्थानीय जनजीवन प्रदर्शन गर्न यो परियोजनालाई संग्रहालय विकास गर्न सकिने अवधारणा छ । खप्तड बाबाको काम, इतिहास र लोककथा पनि प्रबर्द्धन गर्ने योजना छ ।

सरकारले झिङ्ग्रानासम्मको सडकको स्तरोन्नति गर्नेछ । सो क्षेत्रमा फोटोभोल्टिक सोलार प्यानल प्रणाली राखेर थर्मल प्रणाली मार्फत पानी आपूर्ति गर्नुपर्ने मानिएको छ । यसले राष्ट्रिय निकुञ्जको संरक्षणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो ठाउँ विलासी पर्याटकका लागि काठमाडौं भन्दा पनि उत्कृष्ट गन्तब्य हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?