+
+

संसदमा अर्थतन्त्रबारे पूर्वअर्थमन्त्री कार्की र अर्थमन्त्री पौडेलको जुहारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १७:५२

२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच अर्थतन्त्रका सूचक र तथ्यांकबारे संसदमा जुहारी चलेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले बिगारेको अर्थतन्त्रलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सुधारेको दाबी प्रस्तुत गरेका थिए । देउवा नेतृत्वको सरकारले ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर भएको अवस्थामा सरकार छोडेको भएपनि ओली नेतृत्वको सरकारले उक्त वृद्धिदर शून्यमा झारेको आरोप कार्कीले लगाएका थिए । कार्कीले वैदेशिक ऋणको तथ्यांक प्रस्तुत गर्दै पछिल्लो पटक देउवा नेतृत्वको सरकारले अर्थतन्त्रलाई लयमा लैजाने प्रयत्न गरेको समेत बताएका थिए ।

कार्कीको भनाइको प्रतिवाद गर्दै अर्थमन्त्री पौडेलले विगतमा आफू अर्थमन्त्री हुँदा सबै सूचक सकारात्मक अवस्थामा छोडेको दाबी गर्दै अहिले ५५ वर्षपछि राजस्व अघिल्लो वर्षको तुलनामा नकारात्मक रहेको तथ्य प्रस्तुत गरे ।

‘तथ्य निर्मम नै हुन्छ । त्यसले कसैलाई बाँकी राख्दैन । दुई तिहाइ बहुमतको सरकारले सकारबाट बाहिरिंदा अर्थतन्त्रका समस्त परिसूचक सकारात्मक थिए भन्ने तथ्य कुनै पनि तथ्यांकशास्त्रीले अस्वीकार गर्न सक्दैनन्,’ अर्थमन्त्री पौडेलले भने, ‘तथ्यांक सुविधामा प्रयोग गर्ने विषय हैन । तथ्यांकलाई जस्ताका त्यस्तै स्वीकार गर्नुपर्छ । तथ्यांकको विवेचनामा आ–आफ्नो कोड हुन सक्ला । तर, तथ्यांक तथ्यांक नै हुन्छ ।’

उनले तत्कालीन दुई तिहाइ बहुमतको सरकारले सरकार छोड्दा अर्थतन्त्रका समस्त परिसूचकहरु सकारात्मक रहको दाबी गरे ।

‘परिसूचक तुलनात्मक नै हुन्छ । दुई तिहाइको सरकार छोड्दा सबल, सुदृढ र सकारात्मक परिसूचक सहितको अर्थतन्त्र थियो । आज कस्तो अवस्था छ भन्ने कुरा सदन समक्ष राखेको छु,’ उनले भने, ‘हामी राजस्व परिचालनको दृष्टिकोणले २०७९ पुसको लक्ष्यको २४.८ प्रतिशत कम छ । गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशत कम छ । ६ खर्ब ५१ अर्ब लक्ष्य रहेकोमा पुससम्म ४ खर्ब ९० अर्ब ४ करोड संकलन भएको छ ।’

उनले राजस्व संकलनमा यस्तो प्रकारको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक हुन पुगेको भन्दै उक्त तथ्यांकलाई मनन गर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?