+
+

कुशलको शतकसँगै नेपालको कीर्तिमानी जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १२:३९

२ फागुन, काठमाडौं । ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाले मंगलबार घरेलु टोलीलाई २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मदतमा नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर जित निकाल्यो ।

नेपालले ओडीआईमा बनाएको यो २८७ रन अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले यसअघि २०१९ मा युएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको थियो भने जुनमा अमेरिकाविरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो ।

गत वर्ष त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो ।

कुशलको शतक

नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए, तर अर्को ओपनर कुशलले अन्तिमसम्म टिकेर नेपालको जितको आधार तयार पारे ।

नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए । ११५ रन बनाउने क्रममा उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे ।

उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । नेपालको स्कोर ५३ रन हुँदा ज्ञानेन्द्र व्यक्तिगत २५ रनमा आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहितकुमार पौडलले मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे ।

ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । यसअघि दीपेन्द्र सिंह ऐरी र देव खनालले गत वर्ष कीर्तिपुरमै पपुवा न्युगिनीविरुद्ध १२९ रनको साझेदारी गरेका थिए ।

तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए । त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो । रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबियाविरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए ।

त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२–५ थियो । रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो ।

तर चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दीप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण साझेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । तर नेपाल जित नजिक पुगेका बेला भुर्तेल व्यक्तिगत ११५ रनमा आउट भए । सन्दीप लामिछाने डक आउट भए ।

त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३–३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।

करणको ५ विकेट

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले माइकल भान लिगेनको शतकको मदतमा ५० ओभरमा सबै (१०) विकेट गुमाएर २८५ रन बनाएको थियो ।

सुरुवात भने उसको पनि राम्रो थिएन । ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५–२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हाले । दुबैले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे ।

भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडीआईमा तेस्रो र नेपालविरुद्ध  लिग टु मा लगातार दोस्रो शतक हो । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपालविरुद्ध १२१ रन बनाएका थिए ।

तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे ।

कार्ल बिर्केन्स्टोक  र जान फ्रांकलिनले १३/१३, जान निकोल लोफ्टी एटोन ८ र लो हान्ड्रे लाउरेन्स ५ रन बनाउँदा पिक्की या फ्रान्स २ रनमा आउट भए ।

नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

सन्दीप लामिछानेले ३ विकेट लिए । बलात्कारको आरोपमा जेल परेर धरौटीमा छुटेका उनी विवादका बीच यस खेलमार्फत मैदान फर्किएका हुन् ।

१० ओभर बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । बाँकी दुई विकेट भने ४९औं ओभरको पहिलो र अन्तिम बलमा लिएका थिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए ।

हेर्नस् लाइभ अपडेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?