+
+

नेपाल टी–२० लिग : फिक्सिङका लागि यस्तो थियो जतिनको सेटिङ

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ फागुन ३ गते १०:५३
सेभेन थ्री स्पोर्ट्सका सञ्चालक जतिन अहुवालिया

३ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नेपाल टी–२० लिग क्रिकेटमा भएको स्पट फिक्सिङबारे अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

अनुसन्धान सकेर केही दिनमै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने सीआईबीका निर्देशक उत्तमराज सुवेदीले बताए । त्यसपछि नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक स्पट फिक्सिङको मुद्दा अदालतमा पुग्नेछ ।

नेपाल क्रिकेट संघको आधिकारिक पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । जुन प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार महबुब संलग्न समूहले गराएको स्पट फिक्सिङ अंश मात्रै हो, योजनाबद्ध फिक्सिङ त क्रिकेट संघले व्यापारिक र रणनीतिक साझेदारका रुपमा भित्र्याएको सेभेन थ्री स्पोर्टसकै सञ्चालकले गराएका थिए

दिल्ली टुर, जतिनको सुर

क्रिकेट संघसँग २०७७ माघमा प्रारम्भिक सम्झौता गरेपछि नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्ट्सले प्रवेश पाएको थियो । करिब ४२ करोड लिएर १० वर्षका लागि नेपाल टी–२० लिग सेभेन थ्री स्पोर्ट्सलाई जिम्मा लगाउने तयारीलाई लिएर बोर्ड सदस्यहरुको असन्तुष्टि जनाए भने सार्वजनिक रुपमा पनि आलोचना भयो ।

गत वर्ष फागुनमा साधारणसभाबाट पारित गरी संशोधित सम्झौता भयो, जसअनुसार ८ वर्षमा ३३ करोड रुपैयाँ बुझाएर प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदारका रुपमा भेन थ्री स्पोर्ट्सले रहने भयो । यो संशोधनमा सेभेन थ्री स्पोर्ट्सले क्यान र फ्रेन्चाइज टिमहरुले खेलाडीहरुले बुझाउनुपर्ने रकमबारे शर्तहरु थपिए । तर यतिन्जेल सेभेन थ्री स्पोर्ट्सका सञ्चालक जतिन अहुवालियाले क्रिकेट संघका पदाधिकारीलाई ‘आफ्नो’ बनाइसकेका थिए । त्यसैले संशोधित कुनै पनि शर्त पालना नगर्दा पनि उनलाई क्यानले केही गरेन ।

बरु आफ्नो अनुकूल प्रयोग गर्न खोजे । त्यसको प्रमाण हो, नेपाली क्रिकेट टिमको दिल्ली टुर ।


लिग टुको त्रिकोणात्मक सिरिज खेल्न नामिविया जानुअघि नेपाली टोली अभ्यासका लागि ६ मंसिरमा दिल्ली पुगेको थियो । नेपाल टिम दिल्ली पुगेकै दिन डिनरका लागि रेस्टुरेन्ट लगिएको थियो, सेभेन थ्री स्पोर्ट्सका सञ्चालक जतिनसँगै सीईओ अभिशेक सक्लानी लगायत पनि उपस्थित थिए । नेपाल टिमका एक सदस्यका अनुसार दिल्ली टूरका क्रममा सेभेन थ्री स्पोर्ट्सका प्रतिनिधिहरुले अधिकांश नेपाली क्रिकेटरसँग नजिक हुने प्रयास गरेका थिए ।

क्रिकेट संघका पदाधिकारीहरुबाट नेपालीहरुबारे पर्याप्त जानकारी लिइसकेका उनीहरुले ‘कमजोरी’मा खेल्ने प्रयास गरेका थिए । उनीहरुले क्रिकेट किटदेखि आइफोनसम्म किन्ने लोभ देखाउने प्रयास गरेको एक खेलाडीले सुनाए । अभ्यासका लागि गएका नेपाली खेलाडीहरुलाई फोटो र भिडियो शुटका लागि भन्दै दिनभर गुडगाउँस्थित सेभेन थ्री स्पोर्ट्सको कार्यालयमा राखिएको थियो ।

क्यान कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि दिल्ली भ्रमणका क्रममा सेभेन थ्री स्पोट्स प्रतिनिधिहरुले राष्ट्रिय टिमका खेलाडीहरु भेटेको स्वीकार गर्छन् । नेपाली खेलाडीहरुले पनि नेपाल टी–२० लिग खेल्ने भएकाले सेभेन थ्री स्पोट्ससँगै फ्रेन्चाइज टिमका मालिकहरुले नेपाली खेलाडीलाई भेटेको उनको दाबी छ ।

जबकी खेलाडी अनुबन्ध सेभेन थ्री स्पोर्ट्सले होइन, फ्रेन्चाइज टिमहरुले गर्नुपर्ने हुन्छ । र, दिल्ली टुर फ्रेन्चाइज टिमका मालिकहरुका लागि कुनै पनि खेलाडीसँग कुरा गर्ने समय थिएन । यो त नेपालले लिग टुका लागि तयारी गर्ने समय थियो ।

आफ्नै टिम, अनुकूल कप्तान

जतिन र उनको टिमले कुनै पनि खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गर्दा मोटो रकम मात्र होइन, इण्डियन प्रिमियर लिग (आईपीएल) जस्ता ठूला अन्तराष्ट्रिय प्रेन्चाइज प्रतियोगितामा खेलाउने लोभ देखाउने गरेका थिए ।

त्यसो भए जतिन र सेभेन थ्री स्पोर्ट्सका प्रतिनिधिले किन भेटे त नेपाली खेलाडीलाई ? यसको उत्तर जान्न जतिन र फ्रेन्चाइज टिम मालिकको कनेक्सन खोज्नुपर्छ ।

क्रिकेट संघ र सेभेन थ्री स्पोर्ट्सले जेठमै ६ वटा फ्रेन्चाइज टिम घोषणा गरेका थिए कि नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, कान्तिपुर गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स र फारवेष्ट युनाइटेड हुनेछन् ।

लुम्बिनीको मालिक नेपाल अल स्टार्स अमेरिका र पोखराको मालिक लुम्बिनी हेल्थ केयर ग्रुप हो । यस्तै कान्तिपुर गुर्खाजको टिम कान्तिपुर मिडिया ग्रुपले लिने सहमति भएको थियो । कागजी रुपमा विराटनगरको स्वामित्व भारतीय कम्पनी डायमण्ड डिजीक्याप, जनकपुरको स्वामित्व गोल्ड स्पोर्टस र फारवेष्ट युनाइटेडको स्वामित्व बेलायती कम्पनी एसएस इभेन्ट एन्ड भेन्चर्ससँग देखाइएको छ । तर, वास्तविक रुपमा त्यहाँ जतिनले चाहेका व्यक्तिहरु थिए ।

टिमको कप्तान पनि स्पट फिक्सिङका लागि अनुकूल हुने गरी छनोट गरेको पाइएको छ । विराटनगरको कप्तान आन्द्रे म्याकर्थी, जनकपुरको कप्तान ट्रेबोन ग्रिफिथ र फारवेष्टको कप्तान हस्मतुल्लाह साहिदी थिए । जब काठमाडौंबाट कान्तिपुर मिडिया ग्रुप बाहिरिएयो, फ्रेन्चाइज टिमको नाम फेरे काठमाडौं नाइट्स नाम राखियो भने मालिक नवीन कँडेल भनिएको थियो । तर जतिनका विश्वास पात्र विकास ध्यानी चिफ फाइनान्सियल अफिसरका रुपमा खटिए ।

काठमाडौं टिम कान्तिपुर मिडिया ग्रुपको ओनरसिप रहँदैमा निर्माण भएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल तोकिएका थिए भने विदेशी खेलाडीहरु अनुबन्ध भइसकेका थिए । अन्तिम समयमा आएर कान्तिपुर बाहिरिएका कारण जतिनको समूहले खेलाडीहरु हेरफेर गर्न सम्भव भएन ।

तर, चिफ फाइनान्सियल अफिसरका रुपमा खटाएका विकासमार्फत खेलाडीलाई स्पट फिक्सिङका लागि अप्रोच गर्ने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले एप्रोच गरेका एक विदेशी खेलाडीले तत्काल कप्तानलाई खबर गरे । ज्ञानेन्द्रले पनि तत्काल रिपोर्ट गर्न सुझाएपछि एन्टी करप्सन युनिट (एसीयू) का प्रमुख वीर सिंहलाई जानकारी गराएका थिए ।

सीआईबीका अनुसार विराटनगरमा व्यवस्थापक राहुल शर्मा र कप्तान बनाइएका वेष्ट इण्डियन आन्द्रे म्याकर्थी मिलेर फिक्सिङमा संग्लन भएका थिए । जनकपुर र फारवेष्टमा पनि व्यवस्थापकमार्फत नै खेलाडीहरुलाई एप्रोच गरेका थिए, जसमध्ये केहीले तत्काल अस्वीकार गर्दै एसीयू प्रमुखलाई खबर गरेका थिए ।

जतिन र उनको टिमले कुनै पनि खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गर्दा मोटो रकम मात्र होइन, इण्डियन प्रिमियर लिग (आईपीएल) जस्ता ठूला अन्तराष्ट्रिय प्रेन्चाइज प्रतियोगितामा खेलाउने लोभ देखाउने गरेका थिए । सीआईबीका एक अधिकृतका अनुसार उनीहरु बेटिङ र स्पट फिक्सिङकै योजना बनाएर नेपाल आएका थिए । त्यसअनुसार फ्रेन्चाइज टिम र कप्तान बनाएका थिए । ‘त्यसैले यो फिक्सिङ स्क्रिप्टेड जस्तै हो,’ एक अधिकृत भन्छन् ।

करोडौंको खेल खेलिरहेका थिए जतिन

नेपाल टी–२० लिगमा व्यापारिक र रणनीतिक साझेदार बन्न मोटो रकम खर्चिएको सेभेन थ्री स्पोर्ट्ससँग आधिकारिक प्रायोजन थिएन । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन ८ पुसमा एकाएक वान एक्स ब्याटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरिएको थियो । तर खेल सामाग्री उत्पादक कम्पनी भनिएको वान एक्स ब्याटले अहिलेसम्म आफ्नो उत्पादन सुरु गरेको भने छैन ।

त्यसैले सेभेन थ्री स्पोट्सको आय भने लाइभ बेटिङ र स्पट फिक्सिङ मानिएको छ । किनकी सेभेन थ्री स्पोर्ट्स, भारतीय बजारमा लाइभ बेटिङ (सट्टेबाजी घर) सञ्चालन गर्ने कम्पनी हो । र, क्रिकेटको हरेक बलमा बेटिङ लगाउन सकिन्छ । अर्थात टी–२० लिगको एउटै खेलमा दर्जनौं बेटिङ हुन्छ । यस्ता बेटिङहरुमा जति धेरै जोखिमपूर्ण बेट लगाउँछ, त्यति धेरै रकम आउँछ ।

जतिनका लागि सहज के भयो भने फ्रेन्चाइज टिम र कप्तानमै ‘फिक्सिङ’ गरिसकेका थिए र, बेटमा आउने रिजल्ट आफैंले फिक्स गरेका कारण लाखौंको बोली लगाउन सक्थे । त्यसको प्रमाण हो, विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीच खेल ।

१६ पुसमा भएको यो खेलमा १९० रनको लक्ष्य पाएको बिराटनगरले पावर प्लेमा सुरुदेखि नै ठूला सर्टहरु खेल्ने अपेक्षा थियो । प्रशिक्षक फ्रासेरले पनि नियमित ओपनिर प्रदीप ऐरी र गौरंशु शर्मालाई पठाउने निर्णय गरेका थिए । तर व्यवस्थापन राहुल शर्माले हस्तक्षेप गर्दै प्रदीपलाई रोकेर कप्तान आन्द्रे म्याकार्थी आफैं गए । वेष्ट इण्डिजको राष्ट्रिय टिमबाट खेलिसकेका उनको व्याटिङ अस्वभाविक रुपमा सुस्त थियो ।

उनले १६ बल खाएर ७ रन मात्र बनाएपछि बिराटनगरले पावर प्लेमा जम्मा २९ रन जोड्यो । खेलपछि कोच फ्रासेरले पावर प्लेमा आफ्ना खेलाडीले अस्वाभाविक खेलेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

सीआईबीको अनुसन्धानका क्रममा स्पट फिक्सिङका लागि पावर प्लेमा ३० रनभन्दा कम बनाउनुपर्ने भएको र कप्तान म्याकर्थीले त्यही भूमिका खेलेको पुष्टि भएको छ ।

एक अधिकृतका अनुसार उजुरी परेर सीआईबीले अनुसन्धान थाल्दा नथाल्दै सेभेन थ्री स्पोर्ट्सका मालिक जतिनसँगै सीईओ अभिशेक सक्लानी, बिराटनगरका व्यवस्थापक राहुल र काठमाडौंका चिफ फाइनान्सियल अफिसर विकास पनि भागेर भारत पुगिसकेका थिए ।

‘उनीहरुलाई पक्राउ गर्न पाएको भए धेरै कुरा खुल्थ्यो । तर, भागेका कारण सेभेन थ्री स्पोर्ट्सको कारोबार खुल्न सकेन’, ती अधिकृत भन्छन्, ‘त्यसैले यो केसमा कति रकम खोज्ने होइन, स्पट फिक्सिङ भयो कि भएन हेर्नुपर्छ । त्यसरी हेर्दा स्पट फिक्सिङ भएको प्रष्ट देखिन्छ ।’

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?