+
+

सिमरा सेजमा निर्माणका क्रममा दुर्घटना : जिम्मेवारी कसले लिने ?

सुरेश बिडारी सुरेश बिडारी
२०७९ फागुन ३ गते १४:४८

३ फागुन, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित विशेष आर्थिक क्षेत्र ‘सेज’ मा फागुन १ गते प्रदर्शनी हलको आरएमसी प्रविधिबाट छतको ढलान हुँदै थियो ।

प्रदर्शनी हलको ढलानको ७० प्रतिशत काम भइसकेको थियो । कामको निरीक्षण गरिरहेका सेजका सव इन्जिनियर अजय चौधरी साथीहरु भेट्न आएकोले केहिछिन अघि मात्रै कार्यालयमा पुगेका थिए । बाहिर ठूलो आवाज आएपछि उनी निस्किएर हेर्दा ढलान गर्दै गरेको भवन भत्किसकेको थियो ।

‘बिहानैदेखि स्पटमै थिएँ, साथीहरु आएकोले कार्यालयमा गएको थिएँ, अचानक ठूलो आवाज आयो’, उनले भने, ‘ढुंगा खसालेको होला भन्ने ठानेको थिएँ, तर मध्य भागको सेटिङ तल झरेर ढलान नै खसिसकेको रहेछ ।’

ढलान आरएमसी प्रविधिबाट भइरहेकोले कामदारहरु थोरै मात्रै थिए । तैपनि माथि ढलानको काम गर्दै गरेका, तल मसला मिलाउने, फर्माको काम गर्ने, डण्डी उचाल्ने, ठेकेदार कम्पनीका प्रतिनिधि कार्यस्थलमा थिए । चारैतिर मानिसहरु भए पनि ढलानको ठिक तल मानिस नभएकोले ठूलो दुर्घटना टरेको सब इन्जिनियर चौधरी बताउँछन् ।

आइतबार बेलुकी भएको दुर्घटनामा मोरङ्ग सुनबारी नगरपालिका– ६ बस्ने २० वर्षीय अर्जुन मुरमुरे र २५ वर्षीय मोहन मुरमुरे घाईते भए । दुवै जनाको ढाडमा चोट लागे पनि अवस्था सामान्य छ । तराई अस्पताल सिमरामा उपचारपछि उनीहरु डिस्चार्ज भइसकेका छन् ।

सिमरा विशेष आर्थिक क्षेत्र साइड कार्यालयमा कार्यरत इन्जिनियर यज्ञराज जोशी निर्माण व्यवसायीलाई सचेत गराउँदा गराउँदै पनि अटेर गरेका कारण दुर्घटना भएको बताउँछन् । ‘प्रारम्भिक रुपमा हेर्दाखेरी विल्डिङको उचाइ धेरै भएको, स्पान पनि ठूलो थियो । निर्माण व्यवसायीलाई सचेत गराउँदा गराउँदै पनि ढलान गर्ने बेलामा टेकोमा समस्या देखियो’, उनले भने, ‘सन्तुलन बिग्रिएर बीचको एक ठाउँमा भत्कियो, पिलरलाई पनि बीमले तानेर कोल्याप्स भएको हो, स्ल्याप त पुरै क्षति भएको देखिन्छ ।’

भत्किएको निर्माणाधीन प्रदर्शनी हल हो, सेजले क्यान्टिन, युरिन ट्रान्सलेट, पार्किङ लगायत गरी झण्डै ९ करोडको ठेक्का लगाएको छ । ठेक्का प्रतिष्ठा/गौरी पार्वती जेभीले लिएको छ ।

प्रतिष्ठा/गौरी पार्वती जेभीका प्रतिनिधि ध्रुव रिजालले प्राविधिकहरुले अध्ययन गरेपछि मात्र ढलान खस्नुको कारण पत्ता लाग्ने बताए । ‘सेजले दिएको ड्रोइङ डिजाइन भन्दा एक इञ्च पनि बाहिर गएर काम गर्न पाइँदैन, प्रयोग गर्ने माल मेटेरियलको ल्याब टेष्टको रिपोर्ट दिएर अनुमति दिएपछि मात्रै हाल्न पाइन्छ । ढलान गर्नु भन्दा अगाडि छड ठिक छ, सबै कुरा ठिक छ नभनेसम्म ढलान समेत गर्न पाइँदैन,’ उनले भने, ‘ढलान गर्दा कार्यालयका प्रतिनिधिकिो उपस्थिति हुन्छ । गुणस्तरीय सामान प्रयोग गरेन भन्ने कुरामा सत्यता छैन ।’

निर्माण सामग्रीको गुणस्तरका कारण नभई अन्तिम स्पानको काम हुँदै गर्दा ढल्नु नितान्त प्राविधिक कुरा भएको रिजालले बताए ।

‘हामीले पाएको ड्रोइङ डिजाइन गर्दा कुनै कमी कमजोरी भएको हुन सक्छ । त्यसमा कमी कमजोरी छ कि के छ ? सेजले विज्ञ पठाइसकेको छ । हाम्रो पनि विज्ञ गइसकेको छ’, उनले भने, ‘किन ढल्यो त ? भन्ने कुरा हो । टेकोले किन लोड थामेन ? दुई तीन दिन भित्र नै यो कारणले भनेर रिपोर्ट दिन्छ ।’

रिपोर्ट आएपछि यो यो सुधार गरेर काम गर्नुस भनेपछि फेरि काम सुरु हुने उनले बताए ।

प्रहरीले पनि अनुसन्धान गर्दै

प्रहरीले घटनापछि सहठेकेदार सुनसरीको ईटहरी बस्ने ४५ वर्षीय प्रदिप बदगाईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरीले पनि घटना बारे अनुसन्धान गरिरहेको बताए ।

‘ठेकेदारले फिल्डमा खटाएका एक जना मानिसलाई नियन्त्रणमा लियौं, प्राविधिक पक्षहरु के भएको हो भनेर अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘ठेकेदारले लोड थाम्न सक्दैन, दुर्घटना हुन्छ, भत्किन्छ, डिजाइन नक्सा चेञ्ज गर्नुपर्छ भनेर पहिल्यै निवेदन दिएको, सेजले त्यस अनुसार काम नगरेको, सेजकै कारणले दुर्घटना भएको भन्ने कुरा आएको छ ।’

प्रहरीले पीडित, सेज र ठेकेदार तीनै पक्षसँग सोधपुछ गरिरहेको उनको भनाइ छ ।

हेलमेट लगाउने, पञ्जा लगाउने जस्ता प्रारम्भिक सुरक्षाका साधन पनि मजदुरलाई नदिँदा दुर्घटना हुने गरेको उनले बताए ।

काम गर्ने शैली वा गुणस्तरमा फल्ट हुनसक्छ : सेज

सेजले सिभिल इन्जिनियर अर्जुन पाण्डेलाई मंगलबार नै साइडमा पठाएर स्थलगत अध्ययन अवलोकन गर्न लगाएको छ ।

के कारणले छत ढल्यो ? घटना कसरी भयो ? किन भयो ? भन्ने बारेमा पाण्डेले स्थलगत निरीक्षण गरेर फर्कने सेजले जानकारी दिएको छ । उनले तयार पार्ने प्रतिवेदनको आधारमा सेजले आवश्यक कदम चाल्ने तयारी गरेको छ ।

सेजका कार्यकारी निर्देशक चन्डिकाप्रसाद भट्टले टेका राखेको नमिलेकोले लोड धान्न नसकेको प्रारम्भिक जानकारी आएको बताए । ‘गोलो पाइपमाथि अर्को गोलो पाइप नै राखेर टेको बनाइएको रहेछ । फ्ल्याट भएको भए लोड थाम्ने थियो । यसबारेमा निर्माण कम्पनीले महसुस पनि गरेको छ । हाम्रो प्राविधिक पनि फिल्डमा गइसकेका छन्, अध्ययन गरेर भोलि रिपोर्ट दिन्छन्’, उनले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?