+
+

घरभाडामा लगाउँदा र खाली हुँदा महानगरलाई जानकारी गराउनुपर्ने, ७ गतेभित्र बहाल तिर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १४:५३

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरभाडामा दिंदा र घरखाली भएको सूचना महानगरपालिकामा सात दिनभित्र दिनुपर्ने भएको छ । महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरेको हो । बाँकी दुई प्रतिमध्ये एक/एकप्रति भने सम्झौताकर्ताले राख्नुपर्नेछ । यदि घरखाली भएको जानकारी नगराएको खण्डमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर तिर्नुपर्ने हुन्छ ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था महानागरले ल्याएको हो ।

घरबहालमा दिंदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ ।

निर्देशिका अनुसार मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सो समेत उल्लेख गरेर बहाल रकम बुझाउने समय र प्रक्रिया वडा कार्यालयमा बुझाउनु पर्ने छ ।

घरधनी र बहालमा बस्ने बीच हुने सम्झौतामा बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी गर्नेसम्बन्धी व्यवस्था पनि हुने उल्लेख छ ।

७ गतेभित्र बहाल रकम तिर्नुपर्ने

यस्तै निर्देशिका अनुसार बहालमा बस्नेले सम्झौता गरेपछि प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको बहाल रकम बुझाउनुपर्ने हुन्छ । बहाल रकम नगदै वा बैंक खातामा जम्मा गरिदिएपछि सोको भौचरको एकप्रति राख्नुपर्ने निर्देशिकामा उल्लखे छ ।

तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्काे महिनाको मसान्तभित्र बुझाउनु पर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भंग भएर घर खाली गराउन सकिने उल्लेख छ । बहालमा बस्नेलाई घरधनीले सम्झौता विपरीत कार्य गरेमा हटाउन लिखित निर्देशन दिन सक्ने व्यवस्था महानगरले गरेको छ ।

यस्तै बहालमा बस्ने व्यक्तिले घर छोड्नुपर्ने भएमा ३५ दिनको पूर्वलिखित सूचना दिएर हट्नुपर्ने व्यवस्था भएको छ । घरबेटी वा बहालमा बस्ने जुन पक्षबाट सम्झौता भंग गरेपनि कागजातसहित वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने निर्देशिकामा भनिएको छ ।

बहालमा दिने घरको जानकारी लिने

महानगरपालिका भित्र घर बहालमा दिने व्यक्तिले घर खाली रहेमा, बहालमा लिन छोडेमा, बहालमा दिएको घर आफैंलाई आवश्यक परी खाली गराइएमा वा सम्झौता बमोजिम आफैंले हटाएमा घर खाली भएको मितिले सात दिनभित्र अनिवार्य रूपमा सम्बन्धित वडा कार्यालयमा घर खाली भएको जानकारी गराउनुपर्ने महानगरले व्यवस्था गरेको छ ।

महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र स्थान विशेष वा भवनको प्रकृति वा बहाल प्रयोजन वा अन्य कुनै विषयलाई आधार बनाई घर बहाल करको न्यूनतम दर वा अंक तोक्न सक्ने जनाएको छ ।

मेलमिलाप र नियमनमा सहज

गत २ मंसिरमा महानगरपालिकाको राजस्व परामर्श समितिले घर बहाल कर अपेक्षित रुपमा उठ्न नसकेको भन्दै घरबहाल व्यवस्था निर्देशिका ल्याउनुपर्ने निचोड निकालेको थियो । राजस्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएको व्यवस्था कार्यान्वयन भए बहाल लिने दिने विषयमा कुनै पनि प्रकारको विवादको समस्याको हलमा सहजता हुने बताएकी थिइन् ।

महानगरले जारी गरेको व्यवस्थामा डंगोलले भनेकी छिन् ‘कुनै कारणले विवाद देखिएमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकियोस् । यही विषयमा मुद्दा मामिला गरेर समय खर्च गर्नु नपरोस् । कार्यविधि तयार गर्दा यसलाई ध्यान दिइएको छ’ ।

न्यायिक समिति संयोजक समेत रहेकी डंगोलका अनुसार समितिमा आउने सबैभन्दा धेरै उजुरीहरु मध्ये घर बहालको विषय पनि एक हो । विशेषगरी धेरै घरधनीहरुले महानगरमा भाडामा बस्नेहरु भागेको विषयमा महानगरमा उजुरी गरेता पनि लिखित सम्झौता नहुँदा कारबाही गर्न नसकेको अवस्था रहेकोले महानगरले कानुनी प्रावधान सुरु गरेको हो ।

महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार अहिले महानगरले आर्थिक ऐनलाई टेकेर महानगरले बहाल कर उठाउँदै आएको छ । बहाल व्यवस्थासम्बन्धी महानगरको कानुन नहुँदा आर्थिक ऐनले तोकेको आम्दानीको १० प्रतिशत महानगरले लिने बाहेक अन्य समस्या समाधानमा काम गर्न सकेको छैन । उनले यो ऐन आएपछि घरधनी र भाडामा बस्ने दुवै पक्षलाई फाइदा हुने भन्दै महानगरलाई नियमन गर्न पनि सजिलो हुने बताए ।

महानगरले चालु आर्थिक वर्षमा १ अर्ब १८ करोड रुपैयाँ घरबहाल कर उठाइसकेको छ । चालु आवमा महानगरले करिब २ अर्ब ३० लाख रुपैयाँको लक्ष्य राखेको थियो । आव २०७७ वैशा देखि आजको मितिसम्म महानगरमा ३८ हजार २३ जना घरधनीले निरन्तर रुपमा घर बहाल कर तिर्दै आएका छन् ।

चालु आवको आज दिउँसोसम्म मात्रै महानगरका ९ हजार ६५ घरधनीले कर तिरेको राजस्व विभाग प्रमुख ध्रव काफ्लेले जानकारी दिए । काफ्लेले थुप्रै घरधनीहरु कर तिर्न बाँकी रहेको भन्दै महानगरमा दर्ता नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?