+
+

एम्बुलेन्सको साइरन नसुन्ने शहर

अध्यात्म सुवेदी अध्यात्म सुवेदी
२०७९ फागुन ३ गते १७:५३

शहरको बीचमा एउटा एम्बुलेन्स जाम छिचोल्दै अस्पताल पुग्न खोज्दछ। उसलाई लेन मिचेर भए पनि छिटोभन्दा छिटो गन्तव्यमा पुग्नु छ। कहिलेकाहीं दुवैतिर जाम हुँदा एम्बुलेन्स जहाँको त्यहीं अडिन्छ र साइरनको आवाजले मात्र यात्रा गर्दछ।

एम्बुलेन्सको साइरन एक चीत्कार हो, एक विवश आवाज हो जसले हारगुहार मागिरहेको हुन्छ। यो शहरले यो चीत्कार र हारगुहारलाई सुन्छ कि सुन्दैन, बुझ्छ कि बुझ्दैन ? यसको उत्तर यस शहरको सडकले दिनसकेको छैन।

एउटा एम्बुलेन्सको साइरन एकै धुनमा बज्छ तर यो धुन विभिन्न पात्रलाई बेग्लाबेग्लै सुनिन्छ। हाम्रो शहरमा ठूलै जमात छ जसलाई एम्बुलेन्सको साइरनले छुँदै छुँदैन। उनीहरू श्रवणशक्ति गुमाए झैं गरी एम्बुलेन्सको अगाडि हिंडिरहन्छन्।

बिरामी

बिरामी आफैंले बोल्न र चिच्याउन नसके पनि साइरनको आवाज आफ्नै आवाज जस्तो सुनिन्छ। आफैंले कराउँदै चिच्याउँदै आफू बिरामी भएको जनाउ यो शहरलाई दिइरहेको झैं लाग्छ। छिटो अस्पताल पुग्ने आशामा आफ्नो चीत्कारलाई यो साइरन मार्फत यो शहरले बुझिदेओस् भन्ने लाग्छ।

आफन्त

एम्बुलेन्सको भित्र र बाहिर दुवैतिरको अवस्था नियालिरहेका आफन्तलाई उक्त साइरन एक आशाको ध्वनि जस्तो सुनिन्छ। शहरले अहिलेभन्दा अझ राम्रोसँग यो साइरनलाई बुझिदेओस् र आफ्नो आफन्तको जीवन बाँचिदेओस् भन्ने आश हरदम रहन्छ।

एम्बुलेन्सको चालक

चालकको लागि यो साइरन छिटोभन्दा छिटो गन्तव्यमा पुग्न एक उत्प्रेरक धुन जस्तो सुनिन्छ। एम्बुलेन्सको चालकलाई यो एउटा नियमित जागिर जस्तै देखिए पनि उनको भूमिका एक चिकित्सक भन्दा कम हुँदैन। केही मिनेट अथवा केही सेकेन्डले पनि फरक पार्ने कसैको जीवनको चाबी एम्बुलेन्सको चालकसँग हुन्छ।

चालकले आफ्नो बिरामीलाई यो शहरको हरेक मोड र चोकमा आउने अवरोधलाई छिचोल्दै छिटोभन्दा छिटो अस्पताल पुर्‍याउन खोजेकै हुन्छ। तर कहिलेकाहीं चाहेर पनि उसले एक्सिलेटरमा खुट्टा राख्न सक्दैन र नचाहेर पनि ब्रेक लगाएर बस्न बाध्य हुन्छ। दिनहुँ बिरामीलाई एम्बुलेन्समा लैजाँदा एम्बुलेन्समै मृत्यु हुन पनि सक्छ र यो पीडा उक्त परिवारले केही समयमा भुल्छन्। तर चालकले यो पीडा हरेक अन्तरालमा देख्नुपर्ने हुन्छ र कहिलेकाहीं यो पीडाको भागिदारी पनि हुनुपर्दछ।

एम्बुलेन्स बाहिरको पात्र

एम्बुलेन्स बाहिर विभिन्न खालका पात्र भेटिन्छन्। कसैलाई एम्बुलेन्सको साइरनले छुन्छ र कसैले साइरन अगाडि नै गुन्जिए पनि सुन्दैनन्। कुनै सवारी चालकलाई एम्बुलेन्सको साइरन आफ्नै पीडाको आवाज जस्तो सुनिन्छ भने कसैलाई यो दैनिक जीवनमा सुनिने एक नियमित धुन जस्तो लाग्छ।

चियागफ गर्दै बसेको मानिसलाई यो साइरन चियाको चुस्कीको आवाज जस्तै सुनिन्छ जुन चियाको कपलाई ओठले छुँदा निस्किन्छ र केही सेकेन्डमै हराउँछ। अफिस पुग्न हतार हुने पात्रको लागि यो साइरन हाकिमले ढिलो भयो भनेर गरेको फोनको रिंगटोन झैं सुनिन्छ।

एम्बुलेन्समा चढेको बिरामी बनेर सोच्ने कि ? 

मानवीय संवेदनाको हिसाबले हेर्दा एम्बुलेन्सको साइरनको पीडा बुझ्न एकपटक एम्बुलेन्सभित्र बस्नै पर्दैन। एम्बुलेन्सको साइरनको ध्वनिलाई महसुस मात्र गर्न सकिए पनि आफैंलाई एम्बुलेन्सभित्र पाउन सकिन्छ। हामीलाई जति हतार भए पनि, हामी जति व्यस्त भए पनि हाम्रो व्यस्तता अस्पताल पुग्न छटपटाइरहेको एक बिरामी भन्दा ठूलो हुन सक्दैन।

मानवीय जीवनलाई सर्वश्रेष्ठ राखेर हेर्ने हो भने पनि जीवन र मृत्युको मुखमा पुगेको अन्तर एउटा सानो डोरी जत्तिकै हुन्छ जुन जुनसुकै बेला पनि चुँडिन सक्छ। आफ्नो जीवन जतिको महत्व अरुको जीवनलाई पनि दिने हो भने एम्बुलेन्सको साइरनले चीत्कार गर्नै पर्दैन। यदि एकपटक एम्बुलेन्सभित्र बस्नै पर्ने अवस्था सिर्जना भएमा मात्र यसको पीडा बुझ्ने अवस्था आयो भने यो शहरले अनन्तकालसम्म पनि एम्बुलेन्सको साइरनको पीडा बुझ्न सक्दैन।

भीआईपी सवारीको लागि एम्बुलेन्स रोकिने शहर हो यो। मानवीय संवेदनशीलता भन्दा माथि हाम्रो भीआईपी संरचनालाई राख्दा एम्बुलेन्सको चीत्कार झनै बढ्दै गएको छ। केहीक्षणमै शहरको मुख्य चोकमा पुग्ने एम्बुलेन्सहरूको संख्या धेरै भएर होला ट्राफिक व्यवस्थापनमा खटिएकाहरूलाई यो सामान्य नि लाग्न सक्छ तर उनीहरूलाई हरेक एम्बुलेन्सलाई उत्तिकै महत्व दिएर पार गराउन आफ्नो कुन कर्तव्य र मनको कुन सन्देशले रोक्छ, बुझ्न मुस्किल छ।

एम्बुलेन्सको कथा कुनै समाजको बेवास्ता र सिस्टमभन्दा पनि मानवीय संवेदनासँग बढी जोडिएको विषय हो। हरेक मानवको जीवन उत्तिकै महत्वपूर्ण छ र हरेक जीवनलाई बचाउन उत्तिकै प्रयत्न गर्नैपर्छ भन्ने मान्यताले अगाडि बढ्न सके मात्र यो शहर एम्बुलेन्सको लागि सहज होला। यो एम्बुलेन्सको चीत्कार नबुझेको शहर हो। जाममा परेर फ्लाइट छुटेकाहरूलाई त केही समयमा केही खर्च गरेर फेरि गन्तव्यमा पुग्ने मौका हुन्छ तर जाममा परेर श्वास छुट्नेहरूको लागि त्यो मौका कहिल्यै पनि आउँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?