+
+
गण्डकी प्रदेश सभा :

संसद सचिवको जागिर जोगाउन हतारमा ऐन संशोधन

अमृत सुवेदी अमृत सुवेदी
२०७९ फागुन ३ गते २१:०७

३ फागुन, पोखरा । उमेर हदका कारण स्वतः अवकाश पाउन लागेका गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलको कार्यकाल लम्ब्याउन हतारमा ऐन संशोधन गरिएको छ ।

६० वर्षको उमेर हदका कारण पोखरेलले ४ चैतमा अवकाश पाउँदै थिए । प्रदेश सभा सचिवालय ऐन २०७७ संशोधन गरी प्रदेशसभा सचिवको उमेर हद ६५ वर्ष पुर्‍याइएको छ । २७ माघमा प्रदेशसभामा पेश भएको विधेयक सामान्य छलफल मात्र गरेर बुधबार पारित भएको छ ।

प्रदेश सभा सचिवालय ऐन २०७७ को दफा १० मा सचिवको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । त्यसको उपदफा ‘ग’ मा सचिवको उमेर ६० वर्ष पूरा भएमा रिक्त हुने ऐनमा व्यवस्था थियो । सोही व्यवस्था संशोधन गरेर ६५ वर्ष बनाइएको हो । ऐन संशोधन भएसँगै उनले साढे २ वर्ष अझै काम गर्न पाउने भएका छन् ।

यसअघि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका बेला सरकारले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक ल्याएको थियो । उक्त विधेयकमा प्रदेशसभा सचिवालय ऐन पनि संशोधन गरेर प्रदेश सभा सचिवको उमेर हद बढाउने विषय उल्लेख थियो । त्यो बेला प्रतिपक्षी दल एमालेकै सांसदहरुको विरोधका कारण विधायन समितिमा लामो समय अड्किएको थियो ।

अहिले एमालेकै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले प्राथमिकताका साथ यो ऐन संसदमा पेश गरेर फास्ट ट्रयाकबाट पारित गरेको हो । पोखरेल माओवादी कोटाबाट प्रदेश सचिव नियुक्त भएका हुन् ।

एमालेका एक सांसदका अनुसार प्रदेश सभा सचिव पोखरेल मुख्यमन्त्री अधिकारीसँग पनि निकट छन् । ‘अघिल्लो पटक कांग्रेसले संशोधन ऐन लैजाँदा एमाले प्रतिपक्षमा थियो । अहिले एमाले सरकारले सोही ऐन संसदमा लैजाँदा कांग्रेस प्रतिपक्षमा छ र दुबै सरकारमा माओवादी साझेदार छ र सभामुख पनि माओवादीकै छन्’ एक सांसदले भने, ‘अघिल्लो सरकारका मुख्यमन्त्री र विधायन समितिका सभापति विष्णु लामिछाने पनि पोखरेललाई नै नियुक्त गर्न चाहन्थे । कांग्रेसले पनि असहमति राख्न सकेन र पारित हुने अवस्था आयो ।’

पोखरेलको कार्य सम्पादनबाट माओवादीकै सांसदसमेत खुसी छैनन् तर उनलाई नै फेरि जागिर थमौती नगरी नहुने स्थिति सिर्जना भएको एक माओवादी सांसदको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद अशोक श्रेष्ठले ऐन संशोधन गर्नुर्कोे कुनै औचित्य पुष्टी नभएको बताए । सचिवको उमेर ६० वर्ष पूरा भएका स्वतः उक्त पद रिक्त हुने ऐनमा व्यवस्था भएकोमा संशोधन गर्नुपर्ने प्रस्तावमा उनले विमति जनाए । ‘संशोधन गर्नुपर्ने तर्क हुनुप¥यो, लजिक दिनुपर्‍यो, होइन भने पूर्ण विमति रहन्छ,’ श्रेष्ठले भने ।

कांग्रेसकै अर्का सांसद जित शेरचनले भने संसद चोर बाटो हिँड्न थालेको भन्दै आपत्ति जनाए । संसद सुरु भएको धेरै दिन बितिसक्दा ४ वटा समिति बनाउनुपर्ने र त्यसमा पनि विधेयकहरु विधायन समितिमा छलफल भएर संसदमा आउनुपर्नेमा समिति नै गठन नगरी छोटो बाटो हिँड्न खोजेको शेरचनको भनाइ थियो । ‘ढोकाबाट प्रवेश गर्नुपर्नेमा झ्यालबाट प्रवेश गर्दैछौं, अब ढोकाबाट प्रवेश गर्ने प्रक्रिया सुरु गरौं’ शेरचनले भने ।

एमाले सांसद भीम कार्कीले नेपालीको औसत आयु बढिरहेको र अरु प्रदेशको अभ्यास हेर्दा पनि संशोधन गर्नु राम्रो हुने बताएका थिए ।

त्यसको प्रतिवादमा कांग्रेस सांसद शेरचनले भने, ‘५० लाख युवा विदेशमा आज श्रम गरिरहेका छन्, अनि रिटायर्ड हुन लागेको कर्मचारीलाई फेरि काम गरिदिनुस् भनेर अनुनय, विनय गरेर लौ ५ वर्ष थप्नुपर्‍यो भन्नु कति राम्रो कुरा हो ?’

पोखरेल सचिव हुनुअघि पोखरामा वकालत गर्थे भने छोरेपाटन उच्च माविमा कक्षा ११ र १२ लाई पनि पढाउँथे । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कानुनी सल्लाहकारसमेत थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?