+

के पाइन्छ गाईभैंसीको दूधमा ?

२०७९ फागुन  ४ गते १७:११ २०७९ फागुन ४ गते १७:११
के पाइन्छ गाईभैंसीको दूधमा ?

काठमाडौं । स्वाद र पोषणका लागि मान्छेले आँखा चिम्लेर खाने पेय हो दूध । खासगरी गाईवस्तुको दूध मान्छेको सर्वप्रिय पेय हो ।

मान्छेबाहेक अरू कुनै पनि जनावरले अर्को प्राणीको दूध खाँदैन । तर मानिस भने लामो समयदेखि गाईवस्तुको दूध खाँदै आएका छन् । गाईभैंसीको दूध त हाम्रो स्वास्थ्यको लागि असाध्यै राम्रो भनेको हामीले धेरै सुन्दै छौं । सुनेकै भरमा हामी गाईभैंसीको दूध ढुक्क भएर खान्छौं पनि । तर के साँच्चै गाईभैंसीको दूध हाम्रो लागि अमृतसरह छ त ?

यसमा के कस्तो पोषक तत्त्व पाइन्छ ? गाईवस्तुको दूध कुन समयमा कति खानेलगायत विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :

स्वस्थ रहनका लागि गाईवस्तुको दूध खान सुझाइन्छ । खासमा गाईवस्तुको दूधमा कस्तो पोषक तत्त्व पाइन्छ ?

स्तनधारी जनावरले खाने सबैभन्दा पहिलो खानेकुरा दूध हो । बच्चाको विकासको लागि चाहिने हरेक पोषक तत्त्व दूधमा पाइन्छ । भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन, फ्याट, प्रोटिनलगायत पौष्टिक तत्वले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । शारीरिक विकासका लागि दूध निकै महत्वपूर्ण छ ।

दूधमा पनि बिगौती दूध अझै पोषिलो हुन्छ । प्रकृतिले नै बच्चालाई दिनको लागि त्यो बिगौती दूध बनाएको हुन्छ । त्यसैले आमाको बिगौती दूध बच्चालाई र गाईवस्तुको बिगौती दूध उनीहरूको बच्चाको लागि महत्त्वपूर्ण हुन्छ ।

यस्तो पोषक तत्त्व कुन जातको वा कसरी पालेको गाईवस्तुको दूधबाट पाइन्छ ?

दूधमा कस्तो गुणस्तरको पोषक तत्व गाईवस्तु पाल्ने तरिकामा पनि भर पर्छ । हरियो घाँस खाँएका, चरेका र विभिन्न जडीबुटी खाएर हुर्किएका गाईवस्तु स्वस्थ हुन्छन् । यस्ता गाईवस्तुको दूध तुलनात्मक रुपमा बढी स्वस्थकर हुन्छ ।

फार्ममा पालेका गाईवस्तुले खोले र भूसा बढी खाएका हुन्छन् । दूध बढाउन अतिरिक्त ग्रोथ हर्मन, भिटामिन, एन्टिबायोटिक, स्टेरोइड दिने गरेको पनि पाइन्छ । जुन दूधमार्फत आउँछ र हामीले त्यसलाई खाँदा दूधसँगै स्टेरोइड विभिन्न रसायन पनि खाइरहेका हुन्छौं ।

अहिले हरेक खानेकुरामा मिसावट हुन्छ । दूध पनि यसबाट अछुतो छैन । जसले गर्दा दूधको गुणस्तर खस्केको  छ । प्राकृतिक दूधभन्दा अहिले हामीले प्रशोधन गरेको दूध खाइरहेका छौं ।

गाईवस्तुको दूध खाँदा शरीरमा के फाइदा हुन्छ ?

दूधले शरीरलाई शक्ति दिन्छ र शरीरका अंग तथा कोषको वृद्धि विकासका लागि मद्दत गर्छ । शरीरमा पानीको मात्रा बढाउँछ भने क्याल्सियमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोबिन अर्थात् शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फस्फोरसले हड्डीलाई चाहिने वस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरू पाइन्छ ।

गाईवस्तुको दूध शुद्ध हो भनेर कसरी थाहा पाउने ?

दूधमा पानी मिसाएको कुरा त हामी सजिलै थाहा पाउँछौ, त्यसको पातलोपन देखेर । गाईवस्तुको दूध छिटो बिग्रिने भएकाले त्यसलाई बिग्रिन नदिन कतिपयले सोडा पनि मिसाएको हुनसक्छ ।

बजारमा पाइने पाउडर दूधमा पनि कृत्रिम रूपमा दूधमा पाइने सबै पोषक तत्त्व पाइन्छ । त्यसैले गाईवस्तुको दूध कुन शुद्ध हो भनेर आम मानिसलाई थाहा पाउन गाह्रो छ ।

गाईवस्तुको दूध कुन समयमा कति खानु उपयुक्त हुन्छ ?

हामी प्रायः दूध, दहीलाई खानाको साथमा खाइरहेका हुन्छौं । तर दूध, दहीलाई खानाको साथमा भन्दा पनि खाजाको रूपमा खानु उचित हुन्छ । बिहान ब्रेकफास्टको रूपमा दूध र सातु खाने, दिउँसो खाजामा दूध चिउरा खाने गर्नु राम्रो हुन्छ ।

राति सुत्ने बेलामा दूध खाने बानी धेरैको हुन्छ । तर रातिको समयमा हामी आराम गर्ने भएकाले हामीलाई उर्जाको आवश्यकता हुँदैन । त्यसैले रातिभन्दा पनि बिहानको नास्ता र खाजाको रूपमा एक गिलास दूध खानु राम्रो हो ।

कस्तो समस्या भएकाले दूध खान हुँदैन ?

कसैले मोटोपन कम गर्न सोच्दैछन् भने उनीहरूले दूध नखानु नै राम्रो हुन्छ । साथै मधुमेह, कोलेस्टेरोल र एसिडिटीको समस्या भएकाले पनि दूधको कम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

गाईवस्तुको दूध साना बालबालिकालाई खुवाउनु हुन्छ कि हुँदैन ?

गाईवस्तुको दूधमा प्रोटिन धेरै हुन्छ, त्यसैले साना बालबालिकालाई खुवाउनु हुँदैन उनीहरूले यसलाई पचाउन सक्दैनन् । त्यसैले गाईवस्तुको दूधको साटो ल्याक्टोजिन खुवाउनु भनेको पनि हामी सुन्छौं । तर यो एकदमै गलत कुरा हो ल्याक्टोजिनभन्दा त गाईवस्तुको दूध कैयौं गुणा राम्रो हो । ६ महिना पूरा भइसकेपछि बच्चाको पाचन प्रणाली राम्ररी विकास भएको हुन्छ । उसले अण्डा मासु पचाउन सक्छ भने दूध पनि पचाउन सक्छ । ६ महिनापछि सामान्य बच्चालाई गाईवस्तुको दूध खान दिन सकिन्छ ।

गाईवस्तुको दूधमा प्रोटिन उच्च हुन्छ । यसको सेवन गर्ने बच्चामा पछि मिर्गौलाको समस्या हुन्छ भन्ने कुरालाई कुनै पनि अध्ययनले प्रमाणित गरेको छैन । पहिले हरेक घरमा गाईभैंसी पालेको हुन्थ्यो त्यही खाएर बच्चाहरू हुर्किएका हुन्थे । उनीहरूमा मिर्गौलाको समस्या भएको हामी पाउँदैनौं । मिर्गौला खराब हुनेको संख्या त पछिल्लो समय बढेको हो ।

दूध पोषण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी