+
+

‘ज्यानभन्दा ठूलो केही हुँदैन, बचाउन हरसम्भव प्रयास गर्छौं’

डिप्रेसनमा परेकालाई परिवारका सदस्य, समाजका जनप्रतिनिधि र प्रहरीको सहयोग भयो भने मृत्युको मुखबाट जोगाउन सकिन्छ । चिकित्सकबाट काउन्सिलिङ गराउन सकियो भने समस्या फेरि दोहोरिंदैन पनि ।

उत्तम सुवेदी, एआईजी उत्तम सुवेदी, एआईजी
२०७९ फागुन ५ गते १८:४२

आत्महत्या प्रयास देखासिकीमा पनि बढिरहेको छ । सजिलै समाधान हुनसक्ने समस्या हुँदा पनि आत्महत्या गर्छु भन्दै हिंडेकाहरू देखिएका छन् । अहिले दिनमै तीन/चार वटा घटना बाहिर आइरहेको हुन्छ । यो मानसिक समस्यासँग जोडिएको विषय हो । कतिपय घटनामा घुक्र्याउनलाई पनि आत्महत्या गर्छु भनेर हिंडेको देखिएको छ ।

घुक्र्याउन खोज्दा ज्यान गएका उदाहरण पनि छन् । पहिले आत्महत्या गर्छु भन्थे । अहिले त आत्मदाह गर्छु भन्नेहरू पनि भेटिएका छन् । पहिले, आत्महत्या किन हुन्छ भन्नेतिर जाऊँ । आत्महत्याको प्रयास वा आत्महत्या भनेको मान्छेले कुनै न कुनै पीडाले गर्छ । पीडा दुई किसिमको हुन्छ । एउटा, कुनै तत्कालकै केही घटना भयो भने मानिसहरू डिप्रेसनमा जाँदा यो हुन्छ ।

जस्तै, एकदमै गहिरो प्रेममा भएको मान्छेले धोका पायो भने जटिल प्रकृतिको डिप्रेसनमा जान सक्छ । त्यस्तोमा जिन्दगी भनेको यस्तै रहेछ; जे कुरा पाउन खोजेको थिएँ पाइनँ, अब बाँचेर के गर्नु भन्ने सोचाइ आउँदो रहेछ ।

दोस्रो चाहिं अरू विभिन्न कारणले हुने डिप्रेसन हो । उदाहरणका लागि, सामाजिक सञ्जालको दुरुपयोगबाट यस्तो भएको हुन्छ । अनलाइन गेम खेल्ने बहानामा होस् वा कुनै पनि बहानामा, मान्छे डिप्रेसनमा गइरहेको देखिएको छ ।

त्यो कुरा उसलाई पनि थाहा हुँदैन । आफन्तले पनि नोटिस गर्न सकेनन् भने सिभियर डिप्रेसनमा गइहाल्छ । अनि, यसलाई जिन्दगी भनेको केही पनि होइन रहेछ भन्ने भ्रमलाई सत्य मान्न लाग्छ । त्यतिबेला उसलाई मरौं मरौं भन्ने लाग्छ र मर्न थाल्छ ।

अर्को चाहिं आफ्नो पीडालाई कम गर्ने फेसनको रूपमा सुसाइड गरेको देखिन्छ । उदाहरणका लागि एउटाले आत्मदाह गरेपछि अरूले पनि गरेको देखिन्छ । गाउँघरमा साना टिनएजरहरूमा फलानो दाइ वा दिदीलाई तनाव हुँदा झुण्डिएका थिए, म पनि झुण्डिन्छु भन्ने प्रवृत्ति देखिन्छ । त्यसैले एक किसिमले लहरको रूपमा पनि सुसाइड गरेको देखिन्छ ।

यति भन्दै गर्दा पनि सबै सुसाइड पछाडिको कारण व्यक्ति डिप्रेसनमा जानु हो । डिप्रेसनमा गएको मान्छे चिनिन्छ । यदि कोही मान्छेको एक्कासी व्यवहार फेरिएको छ भने त्यस्तो हुनसक्छ । धेरै बोल्ने मान्छे कम बोल्न थालेको छ, कम बोल्ने मान्छे धेरै बोल्न थालेको छ, समूहमा बस्ने मान्छे एक्लै बस्ने वा समूहमा नबस्ने मान्छे समूहमा बस्न थाल्यो भने पनि डिप्रेसनको संकेत हुनसक्छ । उसको रुटिन एक्कासी परिवर्तन भयो भने पनि समस्या हुनसक्छ ।

सामान्यतया बेलुकी ९/१० बजे सुतेर बिहान ५/६ बजे उठ्ने मान्छे एक्कासी राति ३/४ बजेसम्म नसुत्ने अनि बिहान १२ बजेसम्म सुत्न थाल्यो भने पनि केही न केही समस्या छ भन्ने बुझ्नुपर्छ । यस्तो अवस्था देखियो, समयमै थाहा भयो भने समाज, मनोपरामर्शदाता, प्रहरी लगायतले बचाउन सकिन्छ । समयमै उपचार गराएर निको पार्न सकिन्छ ।

एउटा उदाहरण नै हेरौं, एक महिना जति भयो होला । म कार्यरत केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा एक जना व्यक्ति आइपुग्नुभयो । पहिले चिनजान पनि थियो । उहाँले मेरो कोठामा आएर हतास मनस्थितिमा म ठूलो समस्यामा छु भन्नुभयो ।

कोठामा अरू मानिस पनि थिए । त्यसपछि मैले अरूलाई इशारा गरेर बाहिर जान भनें । उनलाई दुई ग्लास पानी पिउन दिएँ । अनि उनले भने, ‘मैले मर्नलाई दुई पटक घाँटीमा डोरी बेरिसकेको थिएँ ।’

पहिले काठमाडौं प्रहरी परिसर, टेकुमा हुँदा आत्महत्या न्यूनीकरण सम्बन्धी अभियान चलाएका थियौं । त्यसबेला मैले बोलेको कुराको केही क्लिप भाइरल पनि भएको थियो । त्यसैले पनि होला, उहाँले मलाई आफ्नो दुःख सुनाउनुभयो । अर्को कुरा प्रहरीबाट केही सहयोग पनि हुन्छ कि भन्ने उहाँलाई लागेको रहेछ ।

कारण के हो भनेर सोध्दा थाहा भयो, उनी ‘हनी ट्याप’मा परेका रहेछन् । ती केटीले गरेको ब्ल्याकमेलमा परेर उनले ५० लाख गुमाइसकेका रहेछन् । बैंकबाट समेत ट्रान्जेक्सन भएको देखियो । बार्गेनिङ गर्दै गरेको अडियो पनि रहेछ । भौचर पनि छ । त्यसपछि अरू के चाहियो ? यो त समाधान हुनसक्ने विषय हो भनेर सम्झाएँ ।

अक्सर यस्तो घटनामा अरूले थाहा पायो भने केही होला भनेर सोच्दा सोच्दै मानिस डिप्रेसनमा पुग्छन् । त्यसैले मैले सोधें, ‘यसमा परेको कुरा कसले थाहा पायो भने बढी पीडा हुन्छ ?’

उनले श्रीमती, भाइ र बुवाआमा भने । अनि, मैले सम्झाएँ– त्यस्तो सुन्दा केही समय रिसाउँछन् । तर, पूरै सुनिसकेपछि समाधान गर्न पनि सघाउँछन् । मनभित्र गुम्स्याएर राख्नुपर्दैन ।

लामो समयसम्म कुरा गरेपछि उनले सीआईबीबाटै परिवारलाई फोन गरे । समस्यामा परेको बताए । अनि, डेढ घन्टापछि एकदमै फ्रेस भएर निस्किए । यता उनी कसरी त्यसमा फसे भनेर अनुसन्धान पनि गर्‍यौं । केटीले फोन गरिरहेकी थिइन् । उनले परिवारलाई सबै बेलिविस्तार गराइसकेपछि जेसुकै गर भनेर थर्काए । प्रहरीले ट्रयाक गर्न थालेपछि उनको मोबाइल स्वीच अफ भएको छ ।

अर्को एउटा दुई पटक आत्महत्या प्रयास गरेको घटना पनि छ । एकपटक श्रीमतीले रोकेको हो । दोस्रो पटक विष खाएको बेलामा त्यसले पूर्णतः असर गर्न नपाई उद्धार भयो । उनको समस्या भनेको चाहिं जुवा खेलेर जग्गा सस्तोमा बिक्री गरेछन् । कतिपय जग्गा धरौटी राखेर पैसा निकालेका रहेछन् । परिवारबाट वडाअध्यक्षसम्म पुगेपछि उनको सहयोगमा आफन्तले उहाँलाई ब्यूरोसम्म ल्याएका थिए ।

बुझ्दै जाँदा उनलाई जबरजस्ती जुवा खेलाउने गरेको पनि देखियो । पहिले सानो सापटी लिएको पछि मिटरब्याजमा परेर डुबेको जस्तो पनि देखिन्छ । अनि, त्यो मिटरब्याजमा लगाउनेलाई पनि यस्तो अवस्थामा आत्महत्या गरे भने दुरुत्साहन लाग्छ भनेर उनीहरूलाई पनि भन्यौं ।

अर्को आपराधिक लाभ, अर्काको सम्पत्ति जबरजस्ती जुवा खेल्ने नाममा कब्जा गरेकोमा पनि मुद्दा लाग्छ भनेपछि उनीहरूले पनि रियलाइज गरेका छन् । दुई करोड लिनुपर्ने भनेकामा निकै कममा अहिले सम्झौता भएको छ । आत्महत्याको समस्या ९० प्रतिशत समाधान भइसकेको छ । अहिले उनी सामान्य जीवनमा बाँचिरहेका छन् ।

यो प्रहरीसम्म आएर उद्धार भएको सुखद घटना भयो । तर, धेरैलाई यस्तो अवस्थामा प्रहरीकहाँ पनि सहयोग मिल्छ भन्ने थाहा हुँदैन । हुन त यो प्रहरीभन्दा पहिले मनोचिकित्सकसँग जानुपर्ने विषय हो । तर, प्रहरीले मानवताको हिसाबमा पनि सहयोग गर्छ । समस्याको जरो बुझ्ने प्रयास गर्छौं र सहयोग गर्छौं । आफन्तलाई भनेर सामाजिक मनोपरामर्शदातासम्म पठाइदिन्छौं ।

यो सबै मानवीय हिसाबले गरेको हो । मान्छेको ज्यानभन्दा ठूलो संसारमा केही हुँदैन भनेर प्रहरी डेडिकेट भएर ज्यान जोगाउन लागिपरेको हो । यस्तो समस्यामा परेकालाई परिवार, समाजका जनप्रतिनिधि, भद्रभलाद्मी र प्रहरीको सहयोग भयो भने मृत्युको मुखबाट जोगाउन सकिन्छ । चिकित्सकबाट काउन्सिलिङ गराउन सकियो भने फेरि समस्या हुँदैन ।

(केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख सुवेदीसँग अनलाइनखबरका गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?